यो शहरले, कहिलेकाहीं
अनौठो रङ्ग फेर्छ !
काँडा उमार्छ शरीरभरी,
मनमा सिरेटो पसाउँछ,
कता-कता बाट;
कस्तो कस्तो
खबर बोकेर ल्याउँछ
यो शहर बेला-बेला
रङ्ग फेर्छ ।
खोई कताको हो यो रङ्ग ?
कस्तो हो यो प्रसङ्ग ?
नसोच्छु भन्छु, सोच्न बाध्य पार्छ
भिन्न, कुना काप्चाबाट रङ्ग छ्याप्छ
मलाई यो शहर, चुप बस्न दिंदैन ।
म चित्रहरुको पोको पार्दै,
कुनै कोठाको, कुनै कुनामा फाल्दै
बामे सर्दै छु , बिस्तारै
तर चित्रहरु फेरी दौडिन्छन
आउँछन, ढाक्छन !
मैले सोचेका बिम्बहरू ,
कल्पेका केहि कथाहरु,
आकार लिन खोज्दैछन कतै ?
कि
कतै खोज्दैछन अस्तित्व ?
म घुमिरहेछु, तिनै चित्रहरुमा
यो शहरको रङ्ग
पोतिएका चित्रहरुमा !
जो म तिर हेर्दै
मौनतामा मुस्काउँछन
म पनि फिस्स हाँसो हाँस्दै
एक निमेष मौनतामा
हराउँछु ‼
२०७४/०७/०३
No comments:
Post a Comment