Monday, January 29, 2018

कोपिलाहरुको हत्या



जब उमेर बढ्दै गयो
   यथार्थहरु खुल्दै गए ...
कोमल छातीहरुमा
    सत्यताको वाण, रोपीए !

हिजो हुर्किएको सुन्दर परिवेश
एकाएक आफ्नाहरुको समसान लाग्दै गयो
बाल्यकालको परीका कथाहरु,
हाँसो, खुशीका रंगहरु
 फिक्का लाग्दै गयो ।

स्कुल गएर घर फर्किदा होस्,
कुनै चोटले दुख्दा होस्
रमाएको क्षण नै किन नहोस
म लुटपुटिने
ती न्यानो अंगालो
  बिरानो लाग्दै गयो ।

ऐन अगाडी आफैलाई सुन्दर थान्ने म
आफुलाई एक बस्तु झैं देख्छु !
मेरो चिनारी हराएको छ
 आफ्नाहरुको भिडमा ।

रातको सन्नाटा, चिच्याहाटमा बदलिंदा,
प्रत्येक स्वासमा, आलो लास गनाउँदा,
आँखा अगाडी ति अतृप्त आत्माहरु नाँच्दा,
मेरो हरेक पल
डरलाग्दो सपना भएर, बिपनामा पछारिन्छ ।
अनि !
चिच्याउँदै सोध्न मन लाग्छ,
 तिम्रा हातहरुलाई ?
 तिम्रा सोचहरुलाई ?
 आखिर
 कुन इक्षा पुरा गर्न सकिन मैले ?
  के कमजोरी देख्यौ ?
  कुन भविष्यको डरले सतायो तिमीलाई ?
कथित आधुनिक समाजको
कुन पुरातन सोचले, गिजोल्यो तिमीलाई ?
कि
एउटा पराग भेट्टाउने होडबाजीमा
कयौं अवोध कोपिलाहरू
 मार्दै गयौ ??

२०७३/१२/०९/ बुधबार


ShareThis