Saturday, January 30, 2016

समयसंगै बहकिंदा


समयका छालहरुले मानिसलाई कहिले कहाँ कसरी पछार्छ पत्तो नहुँदो रहेछ, हिजो बुनेका बिभिन्न कथाहरु आज निकै नौलो र आश्चर्यजनक लाग्दो रहेछ र बनाएका धेरै योजनाहरु आज कुन्नि कुन कुनामा थन्किएका छन्, न खोज्ने जाँगर चलेको छ न तिनको आज कुनै सारभूत अस्तित्वको खाँचो नै परेको छ, मलाई संधै समयको यो अभूतपूर्ण ब्यबहारले चकित तुल्याउँछ र सोच्न बाध्य बनाउछ, मेरा यात्राहरु यी गहनताको पर्दा पछाडिको रहस्य खोतल्न तर्फ नलागेर यहि सिमित भू-मण्डलको सिमित खेलहरुको हारजीतमै रुमल्लिएको त छैन .... कहिलेकाहीं कथित व्यस्तताको यो जालो बाट उकुसमुकुस हुँदै म पृथक रुपमा अलग्गिएर सोच्ने गर्छु, कहिँ कतै सत्यताको कुनै फिलिंगो भेट्टाउने आशमा ... र यहि क्रम पुराना दिनहरुको सयर गर्दै पुग्छु र अडिन्छु त्रि-चन्द्रको त्यो गेट अगाडी ..............

त्रिचन्द्र छोडेको नि समय धेरै भैसकेछ , हिजो जस्तो लाग्थ्यो तर आज समयले अर्को नयाँ चुनौती थपिसक्यो । एउटा अन्यौलता जस्तो स्थिति र भविष्यको एउटा प्रश्न, सबै संग जुद्दाजुद्दै समयको यो अन्तराल निकै छोटो लागेछ तर समय बितिसकेछ ।

त्रिचन्द्र मेरोलागि हरेक आयमबाट एउटा अबिष्मरणनिय छ र रहिरहन्छ । शुरुवाती दिनसंगै भएका अनौठो घटनाक्रमहरु जसले मेरो बैयाक्तित जीवनमा जुन अमेट छाप छोडेको छ त्यसको एकमात्र साक्षी मेरो लागि त्रिचन्द्र नै हो । निर्जिव वा सजीव पन ढुङ्गा माटो वा छाला हड्डीले छुट्याउँदो रहेनछ, त्रिचन्द्र अरु धेरैका लागि एउटा निर्जीव पुरानो धरोहर थियो होला तर मेरो लागि ति अनेकन बिद्यार्थीहरुको भिडमा एकमात्र वाचाल, जीवित मित्र थियो जो मैले शब्दमा अभिव्यक्त नगरेका ति भावना पनि बुझ्थ्यो र आफु पनि सुनाउथ्यो ! सुन्दा, मानिसहरु यसलाई मनोबैज्ञानिक बिश्रिंखल्ताको एउटा उदाहरण भन्न रुचाउलान, हुन पनि सक्ला, म नकार्दीन र कुनै मनोबैज्ञानिक ज्ञाता नभएकोले म यसमा तर्क गर्न पनि असमर्थ नै छु तर जुन परिवेश, मित्रको भिडमा पनि म यसबाट टाढा एउटा फरक दुनियामा रमाउन सफल भएँ, म यसका लागि ति परिवेश प्रति धन्यवाद भन्न कहिल्यै छुटाउंदिन । केहि घटनाहरु छन् जसको महत्व आज सम्म पनि छ, केहि सम्झनाहरु जो बिगतमा धेरै दिन सम्म र आजका दिनमा पनि आंशिक रुपमा वा सारभुत रुपमा मेरो मानसपटलमा मात्र जीवित छन, जुन बाहिरि दुनियाँको संसर्गमा आएका छैनन् ...........

त्रिचन्द्रका ति कोरिडोरहरुमा उभिएर रानीपोखरीलाई नियालेर त्यसको गहनतामा डुब्नु र रानीपोखरीलाई छुँदै बहेका हावाहरुलाई स्पर्श गर्दै काल्पनिकताको एउटा फरक दुनिया भित्र हराउनु  र स्वयम् अनुभूतिको नौलो सोपान चड्दै जीवनलाई छुट्टै उचाईबाट नियालेर यसका गहनताको गहिराई भित्र हराउनुको त्यो आनन्ददायी क्षण कुनै पनि हालतमा आजको दिनमा रातको सन्नाटामा जुनको मधुरो प्रकाश मुनि बाहेक हिजोको जस्तो मध्यदिनमा खोजेर पनि भेट्टाईदैन, अझ ! पारी रत्नपार्कमा शहरको सुन्दरतालाई माथिल्लो उचाइमा पुर्याउंदै फुलेका शिरीषका फूलहरुलाई नियाल्दाको क्षण स्खलित कयौं भावनाहरुको त कुनै लेखाजोखा नै गर्न सकिन्न । आज पनि रत्नपार्कको शिरिष फूल नियाल्दा म हिजोका ति क्षण सम्झन्छु अनि लाग्छ यहि शिरिषको फूल र रानीपोखरीको त्यो आवरणले काठमाडौंलाई मानिसका भिड, कुरूप भावना र स्वार्थि ब्यबहार बीच बाँच्ने एउटा छुट्टै उर्जा दिन्छ र हरेक बर्ष यिनकै प्रतीक्षा र आगमनमा ऊ आफ्नो कष्टपूर्ण समय व्यथित गर्छ । अनि छेउमै भूपीले भनेअनुसार पेन्सनवाला लाउरे झैं रानीपोखरीको किनारमा आफ्नो रिटायर्ड जीवन बिताइरहेको घण्टाघर, ऊ ति हरेक समयको साक्षी छ जुन मैले बिताएँ यी तिन अभयवहरुको सामिप्यतामा र उ ति सबै क्षण, हिडाई, बुझाई, रुवाइहरुको पनि साक्षी छ जुन सायद म भित्र मात्र सिमित र मेरै समझानाका ज्वारभाटाहरुमा मात्र जीवित छ ।

ति सडकहरुको पनि एउटा छुट्टै भूमिका छ यी सम्झनाका पानाहरुमा, एउटा छुटै परिवर्तित परिवेशको, एउटा भिन्न अनुभवको, एउटा फरक हेराईको, एउटा फरक सोचाईको र मनले निकै जतन गरेर, होइन भन्ने थाहा हुँदाहुँदै पनि पालेको एउटा मिठो भ्रम...धेरै धेरैको प्रतिनिधित्व गर्छ ति सडकहरुले, धेरै धेरै घटनाहरुको प्रतिनिधि पात्रको रुपमा उभिन्छन यी सडकहरु जो हरेक दिन र हरेक रात बाँच्छन तिनै मोडहरुमा । जब जब म आज पनि यी सडकहरुको माझमा उभिन्छु एउटा न्यानो पनको फरक आलिंगनमा बांधिन्छु  र म सोच्न बाध्य हुन्छु सडक जो हरेक भार, लात, ठक्कर सहेर पनि मौन छन्, मौन देखीन्छन वास्तवमा कति वाचाल छन्, कति आत्मीय छन्, कति ऐतिहासिक छन्, यिनले आफ्नो गर्भ भित्र कति कुरा अटाएका छन् जो सजिल्यै देखिदैन, जो हरेकको लागि फरक हुन्छ तर ति सबैको लागि उसले केहि न केहि बोकेकै छ । सबैले बोकेका छन् केहि न केहि तब त जब म पुग्छु यी इतिहासहरुको समिपमा धेरै बिगत, वर्तमानका स्पर्शहरुले छुन्छन मलाई र म म रहन्न ति क्षणमा, एउटा छुट्टै म जन्मिन्छ एउटा छुट्टै परिवेश जन्मिन्छ, समय चलिरहेकै हुन्छ तर रोक्किन्छ त्यहाँ मेरा लागि ...........

समय फर्किदैन, न ति दिन पुन हुबहु कुनै नाटक घरमा मन्चन नै गर्न सकिन्छ, बलवान छ समय र त्यतिकै बलवान सम्झनाहरु पनि छन....., मध्यरातको चकमन्न रात हुँदो हो तर हात निरन्तर लेखिरहेछ, अझै कति धेरै थप्न मन छ, लेख्न मन छ तर चाहेका सबै खुलस्त लेख्न नसक्ने एउटा कसिलो बिडम्बना पनि त छ हामी संग, एउटा सिमा भित्र रहनुपर्ने बाध्यता पनि छन् र अरुको बैयाक्तित स्वतन्त्रताको परिधिलाई नटेकी आफनै परिधिभित्र मात्र जिउनुको एउटा सारतत्व पनि त छ हामी भित्र !! खैर जे भए पनि नभए पनि आज यी सबै लेख्दाको क्षण मन केहि हिसाबमा मुर्क्षित पनि छ, केहि कोणबाट हर्षित पनि छ, साथमा उही पुराना धुन छन् जो बजिरहेछन ............

बिर्सेको भए बितेका कुरा पाकेको मनले
सम्झायो होला पुरानो माया त्यो चिसो हावाले .............


२०७२/१०/१५ बिमोचन घिमिरे !!

ShareThis