Sunday, February 2, 2014

हरेक साँझ !!



हरेक दिन जब साँझ ढल्दै जान्छ
फोटो ~गुगल 
तब सांगीतिक तरङ्गहरु ब्युँझन थाल्छन ।

कतै आँगनमा
गाइरहेको कोइली सरी
कतै नेपथ्यमा
रोइरहेको न्याउली सरी
हरेक साँझ
सङ्गीत रुन्छ
र गीत गाउँछ
मनका अनेक तरङ्गलाई
तरङ्गीत पार्दै
शान्त तलाउमा ढुङ्गा
फ्याकिन्छ
मनका शान्त परेवाहरुलाई
एकसात उडाइन्छ
अनि अनेकन सम्झनाका
ज्वारभाटाहरु प्रष्फुटित हुन्छन मन भरी ।

हरेक साँझ
जब सडक निदाउँछ
शरीर सुस्ताउँछ
कुकुर एउटा आवेग बोकेर
शहर थर्काउँछ
तब उही बेगमा
नदि सुसाएको आवाज सुन्दछु
तारा चम्किए झैं उज्यालो देख्दछु
र चुचुरो गर्जिएको आर्तनाद सुन्दछु ।

हरेक साँझ
बुद्धहरु ब्युँझन्छन
शहिदहरु कराउँछन्
र हरेक गोधुली साँझले
उही साँझ सम्झाउँछ
उही दिन सम्झाउँछ ।

एउटा सङ्गीतमय जमघटमा
हरेक साँझ
उही साँझ मन्चन हुन्छ
उही भावाना प्रस्तुत हुन्छ
कसिलो मायाको साइनो
कसिलो आत्मियताको साइनो
मन्चन हुन्छ त्यस जमघटमा
जसको एक्लो दर्शक भएर
हरेक साँझ, म
बगिरहन्छु स्मृतिका तालहरुमा........ ।।
 २०७०\१०\१७


ShareThis