Sunday, August 7, 2016

निर्णय

via~Google


आफ्ना कलमहरुले आफ्नै आवाजहरुलाई शब्दमा लिपिबद्ध गर्दा उत्सुकता जागेको कामै थाहा छ तर कतिपय सन्दर्भहरुमा मौनता तोड्नै पर्ने बाध्यताको तितो यथार्थता सामु एक व्यक्ति कत्तिसम्म विवश हुनुपर्दछ भन्ने आँकलन व्यक्ति स्वयंले पनि लाउन सक्दैन ।

पुष्ट्याई गर्नुको कुनै रहर होइन न कुनै आवश्यकता नै हो । तर कुनै क्षणहरुको चिरकाल सम्झना माथिको एउटा सानो चिरफार हो, एउटा सानो सम्झना हो । बिगत, वर्तमान, भविष्यको रफ्तार वीच मानिस पिल्सिएको पनि धेरै भयो । धेरै भयो यहाँ अनगिन्ति आशाहरु, बिश्वासहरु, सपनाहरु त्यहि रफ्तार बीच पिल्सिएको, दौडिएको वा हराएको । कहिलेकाहीं बिगत, बर्तमान, भविष्यको रफ्तारमा पिल्सिएका यिनै अभयवहरुले सोच्न बाध्य गराउँछ मान्छेलाई, आफु वरपरको सन्दर्भको बिश्लेष्ण गर्न, अगाडिको बाटो पहिलाउन ।

निर्णयहरु यिनै सोचहरुको रस्साकस्सी बाट उब्जिन्छन र यिनैका बीच बाँच्छन वा मर्दछन । यी यस्ता निर्णयहरुको सान्दर्भिकता बारे अनेक टिकाटिप्पणी अरुले गर्न सक्ला, व्यक्ति स्वयम्ले सक्दैन । जीत भन्ने कि हार ? खुशी हुने कि दुखि ? सहि भन्ने कि गलत ? व्यक्ति अन्योलग्रस्त हुन्छ तर अन्य बिकल्प भेट्टाउन भने सक्दैन । कहिलेकाहीं निर्णयहरु दिमागको प्रयोगशालामा ठीक बेठीकको अन्तहीन परिक्षण गरेर कुनै ठुलै अन्वेषण पश्चात निश्चित भएर गरिंदैन, कहिलेकाहीं कतिपय निर्णयहरु तिनै प्रयोगशालामा हुने त्यो आकस्मिक दुर्घटना हो जसले एउटा नौलो अवस्थाको निर्माण गर्दछ, जो ठीक भयो कि भएन? भन्ने कुनै निश्चित आंकलन तत्काल लगाइहाल्न सकिन्न सिवाय केहि मनोगत अनुमान बाहेक, त्यहाँ अरु सम्भावना रहन्न । यसको बिश्लेष्ण, बहस वा पैरवी बर्तमानले भन्दा पनि भबिष्यले गर्नेछ (यदि चाहेमा वा आवश्यक ठानेमा) नत्र त्यो त्यसै रहन्छ प्रतिक्रिया बिहिन ...

गह्रुँङ्गा निर्णय लिनुपर्ने अवस्थाको सिर्जना हुँदै गर्दा एउटा सुखद बहिर्गमनको अपेक्षा हुनु आफैमा कुनै गलत सोचाई होइन तर तिक्तता पूर्ण वास्तविकतासंग साक्षत्कार गर्दै गर्दा, गह्रौं मन सहित यथार्थतालाई स्वीकार्दै बाटो पहिलाउनु पर्दाका क्षणहरु आफैमा बिर्सनलायक हुन्छ । कुनै दिन बाटाहरु कतै ठोक्किएलान्/भेट्लान भन्ने आशा गरिहाल्न त सकिन्न तर भन्छन जीवन सम्भावनाहरुको एक चोटिलो खेल हो, यहाँ सम्भावनाहरुलाई नकार्न खोजीहाल्नु हुन्न तर सबै सम्भावनाहरु सोचाईमा जति उत्कृष्ट ठहरियता पनि यथार्थ फरक हुन्छ भन्ने हेक्का हुनु चाहिं अत्यावश्यक नै छ । यसले मानिसलाई कुनै थप चरम आशामा डुबाउदैन जसले गर्दा उ कुनै निराशाको दलदलमा फसोस । यहाँ सम्भावनाहरुलाई नकार्न खोज्नु पनि आफैमा ठुलो भुल हुन जाला साथै पटक पटक अपेक्षा गरिरहनु पनि मिठा-मिठा भ्रमहरुको खेति माथिको अर्को ठुलो अतिक्रमण अर्थात अझ ठूलो भ्रमको खेती हुन जाला तसर्थ त्यहि सम्भावनाहरुको सम्भावना मै अल्झिनु आफैमा ठीक छैन, जसले पुन: उही मौनताहरु उब्जाओस ।

जीवन स्थायित्वको आधार होइन । यहाँ हरेक अस्थिरता र अन्यौलताको भुमरीमा जीवन चक्र घुमिरहेकै हुन्छ तर आवश्यकताको क्षणिक लाभलाई स्थायित्वको दरिलो किल्ला स्वरूप देखाएर, अपरिचित शुरुवात मार्फत परिचित हुँदै वा भएको कोसिस गर्दै भावानात्मक रुपमा कमजोर मन मस्तिष्कमा छाप छोडी, आवश्यकताहरुको अन्त्य संगै स्वार्थपूर्ण रुपमा गम्भीर अपरिचित अस्थिरता तर्फ एक जीवनलाई धकेल्ने जान/अन्जान कदमलाई भने कसरी लिने ? भन्ने टड्कारो प्रश्न उब्जिंदा, बिगत र बर्तमान संग यी प्रश्नका उत्तरहरु हुँदैनन् तसर्थ आफैले आफैलाई बुझाउन बाध्य हुनुपर्ने हुन्छ मान्छे, "सायद समयको निर्णय नै यहि हो" । अनि आफ्नै निर्णय एउटा लिन्छ मान्छे, पूर्वाग्रही हुन नखोज्दा नखोज्दै... तर लाग्नेलाई पूर्वाग्रही नै लाग्न सक्छ । एउटा जीवित अन्तर्विरोध हो निर्णय, यहाँ यसको कारण र आधार बारे मनोगत बिश्लेष्ण गरिन्छ तर वास्तविक कर्ताले प्रस्फुटन गर्न खोजेको कारण प्रति सुक्ष्म बिश्लेष्ण गरिंदैन.... हो लाग्न सक्ला लाग्नेलाई तर कतै कतै उस्तै उस्तै देखिन खोजेता पनि कारण फरक हुन्छ तर सार अर्को रुपमा बस्न जान्छ

धेरै निर्णयहरु आवश्यकताले निम्त्याउदैन, न रहर, माग नै हुन्छ तर स्वयमको सोच, इक्षाले मात्र जीवन चल्दैन चलाउन नि मुश्किल हुनजान्छ । जीवन सामुहिकताको दोहोरो होस्टेहैंसेबाट चल्छ जीवनरुपी रुपमा, दोहोरो तालिहरुको आवाजमा गुन्जिन्छ र माग पनि त्यहि हुन्छ तर हरेक दोहोरोपनको मागलाई उही पुरानो चश्माले हेर्दा उब्जिने भय, आशंकाले व्यक्ति भित्रको फरक परिदृश्यको अवलोकन गर्न नसक्दा, जन्मिने निषेधको खेलले सायद अकल्पनिय अवस्थाको सिर्जना गर्छ र त्यसले, सम्हाल्न लिनुपर्ने अकल्पनिय निर्णय जन्माउँछ... मानिस यसबारेमा आजको अवस्थामा अनबिज्ञ नै छ ।

निषेधले जन्माउने सम्बादहिनताको गहिराइलाई कसरी बुझ्ने?, भन्ने अन्योलताको गहिराइलाई नाप्न सकिन्न तर यसले निम्त्याउन सक्ने एउटा गलत भावावेशलाई भने धेरै बढ्न नदिनु नै बुद्धिमता पूर्ण हुन्छ । स्विकारिदै आएको यथास्थितिवादको अवस्था लम्बिए सम्बन्धहरु माथि भएको सम्मान, बिश्वास बीच कतै गलत सोच र आशंकाले ठाउँ लिन सक्ने अवस्था निम्तिन सक्छ, जुन आफैमा खतरनाक छ । यसको अर्थ व्यक्तिले आफु वा अन्य माथि अविश्वास निम्ताएको होइन, सम्भावनाहरुलाई न नकारेको मात्र हो । तसर्थ पूर्ववत अवस्था आउन सक्ने अवस्था नरहे, शुरुवाती अवस्थामा पुगेर भए पनि गरिमा बचाउनु पर्ने दायित्व हुनआउँछ । निर्णयहरु यसैको निष्कर्ष हो ।

निर्णय आक्रोशको उत्पादन होइन न कुनै कटाक्ष वा दोषारोपण नै हो । निर्णय एक स्वेतपत्र हो बुझाईको । आवश्यकता, माध्यम हो सम्वादहिनताको अन्त्यको । एउटा सुरक्षित अवतरणको अवधारणा हो निर्णय । एउटा चक्रब्युबाट अभिमन्युको सुरक्षित निकास हो निर्णय । एउटा आशा हो निर्णय । एउटा उपहार दिईएको स्वतन्त्रता हो निर्णय । निर्णयहरु संधै जीत हुँदैनन्, कहिलेकाहीं हार सहेर नै खोजिएको एउटा स्पष्ट दिशा हो निर्णय । कहिलेकाहीं निर्णय आफैमा गलत होस् भन्ने सोच सहित लीईएको एउटा गंम्भिर अग्निपरीक्षा हो, जसलाई अतिरन्जित बनाए निकास निस्किन्न, सम्भावना देखिन्न । निर्णय एउटा कठोर यात्राको शुरुवात हो । निर्णय आफु लडेर अन्य सम्भावनाहरुलाई उचाइमा पुराउने एउटा त्याग हो, जो लिंदा, अनेक थाति रहेका वा आउन बाँकी स्पष्ट प्रतिक्रियाको स्पष्ट आगमनको बाटो तय होस् भन्ने कल्पना बिकसित गरिएको हुन्छ । कहिलेकाहीं कुनै निर्णय आफैमा विरोधाभाषपूर्ण यथार्थताको उत्पादन हो जसले तिनै अवस्थाको कारणको खोजको लागि वा अन्त्यको लागि एउटा मार्ग प्रशस्त गरोस, कतै अन्धाकार बाटाहरुमा केहि सम्भावनाको ज्योति बालोस, भन्ने चाहनाको प्रतिनिधित्व गर्दछ । जस माथी एउटा सुक्ष्म र गहन बिश्लेष्ण, वादविवाद आवश्यक छ ।  निर्णय आफैमा अन्त्य होइन यो एउटा निरन्तरता हो । एउटा संदेश हो । एउटा क्रमभंगता हो ।

तसर्थ समय चक्रको एउटा गतिशील घडीमा गतिशिलतालाई कायम राख्न मानिसले बेलामा बेलामा एउटा कठोर समयको अग्निपरीक्षाबाट अगाडी बढ्न कुनै न कुनै रुपमा एउटा बाटो पहिल्याउनै पर्छ । अनि त्यो बाटो पहिल्याउने एउटा आधारशिला भनेको त्यहि एउटा निर्णय हो जो संधै लीइदैन र जब लिईन्छ त्यसले समग्र प्रणाली मै एउटा गम्भीर र दिर्घकालिन परिवर्तन ल्याउँछ । त्यसैले न हिच्किचाई अगाडी बढ्नुनै पर्दछ एउटा निर्णय मार्फत, यसको बिकल्प छैन ....
के थाहा नदीको अर्को किनारामा, केहि नौला सम्भावनाहरुले कुरेर पो बसेका छन् कि ... ??


२०७३/०४/२३ / आईतबार


ShareThis