दु:खका मार्मिक कथा
संघर्ष र ब्यथाका कथा
सुन्दै हुर्केको म ।
मेरी
आमा बुहारी भई भित्रेको कथा
हामी सन्तानलाई हुर्काऊंदाको पिडा
मेलापात, घाँस दाउरा देखि
शहरको
भिडभाडको वृत्तान्त !
ति कथाहरु सुन्दा
कतै मुटु काँप्थ्यो,
कहिँ रिसका ज्वाला उम्लिन्थे,
कतै गर्वले छाति फुल्थे ।
म मेरी
आमालाई हेर्थें,
सबैभन्दा
सुन्दर देख्थें,
सबैभन्दा बलियो देख्थें,
सबैभन्दा मायालु देख्थें ।
समयको एउटा लामो अन्तराल
सात समुद्रपारी
आमाको तस्विर हेरें;
ति काला
कपाल, सेता भएछन,
अनुहार चाहुरिएछ
"आँखा कम देख्छु"
"जीउ दुखिरहन्छ"
आमाका
बचन कानमा ठोक्किए...
आफ्नो सन्तानको लागि जिउँदा जिउंदै
हाम्रा खुशीमा आफ्ना दु:ख लुकाउँदा लुकाउँदै
न आमाले कहिल्यै भन्नुभयो
न
हामीले कहिल्यै नियालेर हेर्यौं;
हाम्रो
प्रेरणाको स्रोत,
मायाको धरोहर,
एउटा
जिउँदो इतिहास,
हाम्री आमा त बुढी हुनुभएछ ।।
२०७४/०४/१९
No comments:
Post a Comment