Monday, December 16, 2013

मिलन

                                  

धेरै भैसकेको थियो ! कलम र हातको मिलन नभएको ।केहि लेख्ने सोच नपलाएको वा भनौं जाँगर नचलेको तर आज, किन हो ? एक्कासि हात कलम समाउन लालायित हुँदैछ । धेरै दिन पहिले थाति राखेको काम सिध्याउने होडबाजी नै चले झैं हात कलम समाउँदै आज ब्रहमाण्ड लेख्ने दाउमा जुरमुराउँदै छ । खै किन हो ? आज के हुँदैछ ? म कडा प्रयत्न गर्दै उत्तर खोज्दैछु । कहीं कतै गएर मेरा मन मस्तिष्क अड्कन्छ । मन कुनै उत्तर भेटाउँछ । के मेरो हात कलम तिर तानिनुको कारण त्यहि हो ? मन कता कता सोच माग्न हुन्छ । तस्विर जस्तै एउटा परिचित आकृति मेरो आँखा अगाडी उभिन्छ ,अनि म नियालीरहन्छु त्यो आकृतिलाई जसले मलाई केहि लेख्न उत्प्रेरणा दीइरहन्छ । अनि हात झन् क्रियाशील भएर लेख्न थाल्दछ ।

आज कुनै डर,त्रास,राम्रो-नराम्रोको ख्यालै नगरी हात सिरिफ लेख्न मात्र थाल्दैछ । मन भित्र गुम्सेका कयौं दिनका भावनालाई यथाशिघ्र सतहमा ल्याउन लालायित छ आज हात । छोटो दिनको छोटो यात्रालाई बिट मार्दै भोलि भेट्ने बाचा सहित घाम पश्चिमी नेपथ्यको अदृश्य पाना भित्र हराईसक्यो। संग संगै पूर्ण आकार लिंदै कठ्यांग्रिदो रात्रीमा नि घामको सम्झना ताजा राखिराख्न कालो पर्दालाई चिर्दै जुन आकाशबाट चिहईरहेको छ लाग्छ त्यो पूर्ण चन्द्र मलाई केहि भन्न खोज्दै छ ,मेरा लागि कसैको संदेश सुनाउंदै छ । मन त्यहि पूर्ण आकार भित्र डुब्दा डुब्दै उही प्रेरणादायी आकृतिको समिप पुग्दछ र मलाई झक्झकाई रहन्छ । लाग्छ त्यो आकृति मलाई केहि भन्न खोज्दैछ ,मलाई सम्झनाका ती मायालु संदेशहरु सुनाउन खोज्दैछ, केहि लुकेका मनका भावना मलाई एकान्तमा खुसुक्क कानमा आई भन्न खोज्दैछ । कतै टाढिनुको पिडा लुकेको भान हुन्छ त्यो आकृति भित्र ! कतै एक्लोपनको खल्लोपन लुकेको आभाष हुन्छ ।

म पनि त्यस्तै अन्योलताको सिकार भएको छु । त्यो आकृतिको सम्मुख आईपुग्दा म एकाकार हुन्छु ,सारा दुनियाँसंग टाढिएर सिरिफ उही आकृतिको नजिक आईपुगेको हुन्छ मन । मनमा केहि सुनाउने ,केहि भन्ने कौतुहलता शूरु हुन्छ । शब्दहरु एकाएक मुखबाट फुत्किएर मेरा मनका तरंग उनको कानसम्म पुर्यौलाकी झैं गरि ठुलो आर्तानादका साथ गुहार लगाइरहेको हुन्छन तर न म कुनै शब्दलाई मुखको आयतन भन्दा बाहिर जाने अनुमति दिन्छु न त उनले मलाई केहि भनेको सुन्छु ।

एकाएक जीवन सुनसान गोरेटो बीच उभिरहेको अनुभव हुन्छ । एउटा यस्तो सन्नाटा जसको वरिपरी सयौं अरु जीवन दगुरिरहेका छन् , कयौं अरु शब्दहरु आउने जाने क्रम चालिनै रहेको छ, कयौं अरु तस्विरहरु कहिले लुक्दै ,टाँगीदै आउंदै छन् तर म बिल्कुल एक्लो हुन्छु ति सब चलाएमान विश्व भन्दा बाहिर आफ्नै छुट्टै एकान्तमय दुनियामा तर संयोग म त्यहाँ पनि उही आकृतिलाई देख्दछु ,हाँसिरहेको र मलाई पनि हाँस्न आमन्त्रित गरिरहेको । उनि न्यानो शब्दहरु मेरो समिप पठाउँछिन मित्रताको हात बढाउंदै । म त्यो परिचित आकृति संग मित्रताको सुगम अनुभूति गर्न लालायित एउटा तिर्खालु जस्तो मित्रताको हात अघि बढाउँछु । अँध्यारोमा कतैबाट उज्यालो किरण आएको सुनौलो अनुभव गर्दछु तर म अझै पनि अपरिचित हुने प्रयास गर्दैछु । किन हो किन मन भएभित छ आफ्नो परिचय खोल्न ।     

परिचयको खुलापनका साथ कतै त्यो आकृतिको मित्रताका हात पछाडी हट्ने त होईन ? एक्कासि डरको कालो बादल मडराउछ तर मन अबिश्वास गर्दै छैन सिरिफ आफ्नो मान्छे गुमाउने डरको जडसुत्रले उब्जाएको अर्को डर मात्र हो । परिचय समय संगै खुल्दै जानेछ । समय भन्दा अगाडी र पछाडी चाहेर हुने केहि छैन । म सहि समयको प्रतीक्षा गर्दैछु । त्यो समयको आगमन संगै मेरो परिचय आफै खुल्ने छ भन्नेमा म बिश्वस्त छु ।
तर के था मेरो परिचय उनि बाट अछुतो छैन कि ? सम्भावाना जे पनि हुन्छन ,सब सोचाईमा निरभर छ त्यसैले सोचाईमै रुमलिन छोड्दै म बर्तमान संग रमाउने प्रयास गर्दैछु सायद उनि पनि त्यहि गर्दै छिन । परिचय बाधक होईन ,भेट संगै परिचयका आयाम फरक हुँदै जान्छन र आवश्यकता पनि। परिचय साध्य होईन साधन मात्र होला । मुख्य कुरा मन हो यो संधै सफा रहनुपर्छ एकअर्का प्रति समर्पित हुनुपर्छ ! सम्बाद र सम्बन्ध मनले निर्धारण गर्छ,मिठो वा तितो बोल्ने मुखहरुले होईन !!   
                                                                      २०७०/०९/०१

                              Copyright©२०१३ बिमोचन घिमिरे 

Sunday, December 8, 2013

Unknown

Many questions were there, left unasked many feelings were there, left unspoken . Still I'm waiting for every single appearance with a hope sun will rise from plain to concretes following every seconds of the clock murmur of the river enlightening the history and the lonely heart . Life is full of turmoil ups and downs future is vague but I am ascertain life will not leave me Unknown ....... 12\7\2013 Bimochan Ghimire
Copyright © 2013 बिमोचन घिमिरे 

Monday, October 14, 2013

शुभकामना पत्र




आज फेरी
नयाँ बर्ष जस्तै
बर्ष फेरिएको होला ।

केहि नविनतम आभाष बोकेर ,
बसन्त सुर्यका किरण संगै
शुभकामना भन्दै आयो होला
झ्यालका पर्दा छल्दै
मिठो निद्रा ब्युँझाउन ।

बितेका पुराना कयौं बसन्त
टेक्दै गरेको नयाँ बसन्त
अन्तर खोज्दो हो मन .......
कतै निराशा
कतै आशा
फोटो - गुगल
कतै उमंग ,कतै उदासिपन
केहि छोड्दै गरेका बिगत
केहि अङ्गाल्दै गरेका बर्तमान
र भविष्यको अन्तहीन आकृति !
मन बिक्षिब्त हुँदो हो
केहि गुमाए जस्तो
केहि पाए जस्तो .......

धेरै कठोर पाइला चाल्दै गरेका जीवनका,
धेरै भोगाईबाट भाग्दै गरेका जीवनका,
चोटिला प्रहारबाट बच्दै
आज केहि मुस्काउने प्रयास गरोस जीवन
नयाँ उमंग ,नयाँ जोशका उर्जाहरु
भर्दै जाओस मन भित्र .......

क्रमभंगताको जीवन
बिछोड र मिलनको जीवन
जीवनचक्र चल्दो रहेछ
यसरीनै चलिरहेछ .......
हरेस नखाओस मन
अगाडी बढीरहोस ।


संयोग ! जीवनको एक सत्य
दिनहरु मिलेका छन्
खुशीका क्षण मिस्सिएको छ
तर मनमा केहि गुमाएको आभाष
भएको छ कि छैन .......?

कुनै कुनामा बसी
म यी सब सोच्दै छु.......
मौनताका अनगिन्ति फूलहरु फुलाउँदै ,
हरेक पत्रमा शुभकामनाका शब्द थुपार्दै
खुशियाली,सफलता,दिर्घायु,उमंग,
समृद्धि र सु-स्वास्थको कामनासंगै
अनेकन माया संगालेर
भावनात्मक शब्दहरुले भर्दै
मनैमन बुट्टेदार खाममा हाल्दै
पठाउँदै छु म
शुभकामना पत्र ......

बिमोचन घिमिरे
०७०\०६\२८ 
2013 Oct 14


Thursday, September 12, 2013

प्रतीक्षा गर्नेछु.............

कसरी सहुँ ? बिछोडको पिडा
म सोच्न सक्दिन
चिठी लेखी,नजाउ!
म भन्न सक्दिन ।
न सक्छु भन्न , मनका कुरा
लुकाई राखेको
न सक्छु दिन , मायाको फूल
Photo : Google
फुलाईराखेको ।

भबिष्य उज्जवल ,पार्नको लागि ,
पाईला, चाल्नुनैपर्दछ
त्यो पाईला संधै
नदेखे कठै
मुटु यो जल्दछ ।

खबर आज,
जे सुनें मैले
के त्यो, साँचो हो?
'होईन '
आवाज आउंछकि कतै,
कान थापी सुन्दछु
पाउँदिन उत्तर , केहि पनि कठै,
मन मनै रुँदछु ।

सुनाउँछु भनि, राखेको मनमा,
अनगिन्ति कुरा छन्
संधै भरि , सताईराख्ने
स्मृति छुरा छन् ।

गएपछि तिमी, अन्तै टाढा !
भेट्न, पाउँला कि नपाउँला ?
भावीले के ? लेखेको छ कुन्नि
आफ्नो भन्न, पाउँला कि नपाउँला ?

भेट हाम्रो यहीं, सिमित नहोस
म प्राथना गर्दछु
भविष्यमा चांडो,
होस् फेरी भेट
म प्राथना गर्दछु ।
मनको कुरा सम्हाली राखी
म कुरी बस्ने छु
अवश्य भेट हुनेछ एकदिन
प्रतीक्षा गर्नेछु ।।

२०७०-०५-२६
  
CopyRight © विमोचन घिमिरे

Wednesday, August 14, 2013

I Waited...

(Photo-Google)
I waited
waited from dawn till dusk
for every single appearance,
Every day
with a hope
that one day
clouds will run away
sun will register its presence
providing the same warmness
to the cold lonely heart
bringing some delightness in life 
But,
I was left empty handed !!

Days are about to come
when, the Sun must rise again,
Will I be able to ask
Why I was left alone ?

Aug 13 , 2013
Copyright ©2013 बिमोचन घिमिरे 

युवा पलायन र देश बिकास ~एक बिश्लेशण : सन्दर्भ अन्तराष्ट्रीय युवा दिवस

अन्तराष्ट्रीय युवा दिवसको अवसरमा सम्पुर्ण युवा साथीहरुमा नेपाल प्रगतिशील युवा मंचको तर्फबाट शुभकामना । आजको दिनले थन्केर बसेको युवा सशक्तिकरणको नारालाई पुर्णता दिलाउन कोसेढुङ्गाको भूमिका खेलोस । युवामा नयाँ जोश र सिर्जनात्मक सोचको बिकास गरोस र युवा परिचालनले देशको सर्वाङ्गिण बिकासमा टेवा पुर्याओस ।
यो दशक युवा मैत्री हुनै पर्छ जसका लागि राज्य संयन्त्र युवा जागरण र सशक्तिकरणको खातिर दिन दुई गुणा रात चौगुणा किर्याशलिल भएर लाग्नुपर्ने चुनौती छ र सम्पुर्ण युवा शक्ती होस्टेमा हैँसे गर्दै अगाडी बढ्नुको कुनै बिकल्प छैन ।

संयुक्त राष्ट्रसंघले यस्पाली युवाको  बसाइँ सराइँ र बिकास बिचको अन्तर सम्बन्धलाई  मुख्य कार्यबस्तु बनाएको छ ।  हाम्रो देश युवा पलायनको डरलाग्दो परस्थितीबाट गुज्रीरहेको छ । चरम राजनितिक अस्थिरता र युवा परिचालन,उत्थानका बिषयमा राज्यको उदाशिनता र प्रभावकारी युवा नितिको अभाव आज सम्मको अवस्थामा युवा पलायनको मुख्य कारणको रुपमा हेरिँदै आएको छ ।  तर युवामा देखिएको बिदेश मोह र स्वदेशमा केहि पनि गर्न सकिँदैन भन्ने सङ्किर्ण मानसिकताले पनि यस्मा मलजल गरेको देखिन्छ जसलेगर्दा  राज्यको लगानी बालुवा पानी खानाए  जसरी खेर गैरहेको छ ।

युवा बिकास र समृधिको मेरुदण्ड हो ! युवालाई सधैँ यसरिनै परिभाषित गरियो तर आज सम्म युवालाई कसरी देश भित्रै राखेर युवाशक्ती र उनीहरुको नयाँ बिचारलाई देश बिकासमा लगाउने भन्ने ठोस योजना न राज्यले चासोका साथ बनायो न त अरु सरोकार पक्ष नै यस्मा कृयाशिल देखिए , जस्को फलस्वरुप कयौँ युवा कहिल्यै नफर्किने गरी बिदेशीए कयौँ नफर्किने सोचमा बिदेशमै हराइरहेका छन र देश बिकासमा लाग्नुपर्ने हातहरु हरेक दिन त्रीभुवन अन्तराष्ट्रीय बिमानस्थलको बाटो हुँदै देश छोडिरहेका छन र त्यतिकै संख्यामा कयौँ युवा भारत हुँदै पनि देश छोड्दै छन !!

देशका राजनितिक दलहरु पनि युवाको सवालामा जिम्मेवार भएको देखिन्न । सत्ता प्राप्ति, खुट्टा तानातान र भ्रष्ट्रचार नै उनिहरुको मुख्य एजेण्डा भैरहेको सर्वबिधितै छ ।  चुनाबी माहोलमा भोट तान्नको खातिर युवा लक्षित कुराहरुले घोषणापत्रका पाना भरिए पनि ब्यबहारत युवा कहिल्यै उनिहरुको प्राथमिकतामा परेन्न ! उनिहरुको लागी युवा ध्वंश मच्चाउने साधन मात्र भएको देखियो ।  बिभिन्न आन्दोलन , अपराधमा दलहरुबाट युवा परिचालित भयो जस्ले युवामा रिसराग , चाकडी प्रथा बढाएको छ र युवालाई अपराधिकरण तर्फ ढकेलेको छ ।

देश लामो जनयुद्धबाट गुज्रीयो !! यो अवधिमा बाह्र हजार भन्दा बढिले ज्यान गुमाए जस्मा अधिकांश युवानै थिए ।  बिभिन्न क्षेत्रमा कार्यरत युवा साथिहरुले यो अवधिमा ज्यान गुमाए ।  चाहे राज्य पक्षबाट होस वा चाहे विद्रोही पक्षबाट होस बिभिन्न बाहानामा ठुलो मात्रमा युवा शक्ती देशले गुमायो ।  यसैको असर स्वरुप ठुलो संख्यामा बिदेशिने युवाको अनुपात बढ्यो ।  देश युवा बिहिन जस्तै अवस्थामा पुग्यो । गाउँ गाउँमा महिला ,बालबालिका र बृद्ध ,बृद्धा बाहेक अरु देखिन  छाड्यो ।
जनयुद्धको समाप्ती पछी स्थितिमा केहि सुधार आए पनि अवस्था अझै पनि नाजुक छ । युवा कै बलले देश गणतन्त्रमा प्रवेश गरे पनि अझै पनि राज्य संयन्त्र युवा मुखी हुन सकेको छैन र निती कार्यक्रम पुर्णरुपमा युवा मैत्री बन्न सकेको छैन जुन दुर्भाग्यपूर्ण छ । यसरी बिभिन्न कोणलाई केलाएर हेर्दा युवा पलायनको मुख्य कारण राज्य संयन्त्रको उदासिनता र अन्य सरोकार पक्षको गैर जिम्मेवारी नै हो भन्ने बुझिन्छ तर यती हुँदा हुँदै पनि अनुपातमा केहि तलामाथि भए पनि युवाले महत्व नपाउनुमा युवा आफै पनि दोषी छन !
युवा जमातमा देखिएको चरम बिदेश मोहले उनिहरुलाई स्वदेशमा अडाउन सकेको छैन ! लहलहै, देखासिकी र रवाफको लागी नि युवा बिदेशिने क्रम बढ्दो छ जसले गर्दा देशमा सम्भावना भए पनि उनिहरु त्यसको पहिचान गर्न चुकिरहेका छन वा  भनौ चाहिरहेका छैन्न र देशमा केहि गर्न सकिँदैन भन्ने सङ्किर्ण सोचले डेरा जमाउँदै गएको छ, जसलेगर्दा  बध्यता नहुँदा पनि युवा बिदेशिने गरेका छन ।
युवा जमातमा बिलिन हुँदै गएको सिर्जनात्मक सोच, केहि गर्न सक्ने आत्मबिश्वास र हराउँदै गएको सकरात्मक दिशा निर्देशले नि युवालाई देशबाट लखेटिरहेको छ । हो देश सङ्करमणकालको चरम अवस्थामा छ तर यती हुँदा हुँदै  पनि यहाँ चुनौती सहितको ठुलो सम्भावना छ जुन आज सम्म नियाल्ने प्रायस समेत भएको छैन । राज्य संयन्त्रलाई युवा मैत्री बनाउन युवा आफै जगरुक भएर सरोकार पक्षलाई झकझकाउनु पर्छ तर यसका लागी युवा आफै तयार भएको देखिन्न,  न यो कुरा उनिहरुको प्राथमिकतामा नै परेको देखिन्छ जसले गर्दा राज्य आज पनि पुरानै ढाँचामा चलिरहेको छ ।
यती हुँदा हुँदै पनि बिदेशको बाटो नरोजी देशमै केहि गर्न सकिन्छ भनेर मिहेनेत गरिरहेका युवाको पनि कमी छैन ।अचेल हरेक दिन पत्रपत्रीका यस्ता उद्यमशिल युवाहरुको पौरखले भरिएको छ जस्ले कालो बादल पछाडिको चाँदिको धर्कोलाई अझै जिवित नै राखेको छ र सन्देश दिएको छ ति तमाम पलायन भएका युवाहरुलाई गर्न खोजे स्वदेशमै अवसरको   खानी छ, बिदेशिको अगाडी हात फैलाई रहनु पर्दैन । 
बिदेशमा गएर जस्तो काम गर्न पनि तयार हुने हाम्रा युवा साथिहरु स्वदेशमै काम गर्न भने नाक खुम्च्याउँछन । यसले युवाको बिदेश मोह बाध्यता नभइ सौखिनताको प्रकास्टा हो भन्ने प्रमाणित गरेको छ । सुबिधा सम्पन्न जीवन र मनग्य आम्दानिको दिवा सपना बोकेर गएका युवा बिचल्लिमा परेको,दुर्व्यासनिमा परेको,अकालमा ज्यान गुमाएको जस्ता खबरले सधैँ प्राथमिकता पाएको छ । यसले बिदेश पनि सुरक्षित छैन र त्यहाँ  पनि जीवन संघर्षपूर्ण नै छ र स्वदेशमा भन्दा नि ठुलो चुनौती समाना गर्नु पर्छ भन्ने तथ्यलाई प्रमाणित गरेको छ तर त्यही मेहिनेत आफ्नो माटोमा गरे यस्ले आफ्नो र समग्र देशकै काँचुली फेर्नेथ्यो । तर बुज्दा बुज्दै पनि हाम्रा अधिकांश युवा साथी केहि नसोची एकोहोरो हामफाल्छन र पछुताउँछन ।
हामी भन्दा बिदेश बिकासीत छ र धेरै प्रगती गरेको छ यसले गर्दा त्यहाँ धेरै नयाँ प्रबिधी र सोच भित्रीएको छ जुन हामीले बिकास गर्न धेरै समय लाग्छ तसर्थ त्यस्ता सिप , प्रबिधी सिक्न र त्यस्लाई आफ्नै माटोमा प्रयोग गर्न  बिदेश जानै पर्छ तर बिदेश पुगेका युवा स्वदेश पुन: फर्केर स्वदेशमै त्यो सिप प्रयोग गर्ने युवाको अनुपात निकै नै कम छ । ति युवालाई स्वदेश फर्काउन राज्य नि  तदारुक्ताको साथ लागेको छैन । तसर्थ गएका युवा पुन: फिर्ता ल्याउन राज्य नि लाग्नुपर्ने समय आइसकेको छ । उचित सिप , पढाइ पार गरेका युवालाई स्वदेशमै केहि गर्ने वातवरण  मिलाउन तर्फ राज्य लाग्नुपर्छ । आर्थिक  सहयोग , सुरक्षाको  प्रत्याभूति दिलाउन राज्य चुक्नु हुँदैन । राम्रो गर्नेलाई पुरस्कित गर्न र गलत गर्नेलाई दण्ड जरिवाना गर्न राज्य हिच्किचाउनु हुँदैन । हाम्रो देश आर्थिक हिसाबले बलियो छैन न त् स्वाभालाम्बी  तसर्थ सोचे जतिको लागानी र सुबुधा पुर्याउन सक्दैन त्यसैले राज्यबाट मात्र बढि अपेक्षा गरेर बिदेशमा नै हराउनु भन्दा सिमित साधन स्रोतको अवस्थामा पनि चुनौती सामाना गर्ने आत्मविश्वासका साथ स्वदेशकै भलो हुनेमा लाग्नुपर्दछ । हामीले नगरे अरु कसले गर्छ ? हाम्रो देश हामी आफैले बनाउने हो अरु कोहि आएर  यो देश हाम्रो लागि बनाइदीने छैन तसर्थ देशले के दियो  भन्दा पनि हामीले देशलाई के दियौँ भन्ने उच्चतम बिचार बिकसित गरि युवा देश बिकासमा  होम्मिनुनै पर्छ । हाम्रो एउटा पुस्ताले दुख कष्ट भोगेर लागे आउने पुस्ताले आफ्नै देशमा बस्न र शिर ठाडो पारेर जीउन सक्ने छन ।
यो समय आरोप पत्यारोपमा लाग्ने भन्दा पनि आफ्नो स्तरबाट सकेसम्मको मिहेनेत गरेर देशलाई स्वाभलम्भी बनाउन अग्रसर हुने हो । जुन काम युवाको काँधमै छ । देशका हरेक नागरिक यस्का लागी तयार हुनुपर्छ । अधिकार र कर्तब्यको उचित समायोजन गरेर सम्पुर्ण राष्ट्रवादी शक्ती युद्ध स्तरमा लाग्नुको अब बिकल्प छैन र यसको नेतृत्व युवा जमातले लिनु पर्छ । राज्यका हरेक सरोकार पक्ष युवालाई मदत गर्न लाग्नुपर्छ र युवा पनि बिदेश बिदेश मात्र नभनेर स्वदेशको मुहार फेर्न कम्मर कसेर लाग्नैपर्छ । यो अन्ताराष्ट्रीय युवा दिवसले नयाँ सोच ल्याउन मदत गरोस । सम्पुर्ण युवा समुदायलाई एकीकृत भइ  देश बिकासमा लाग्ने सदबुद्धी प्रदान गरोस । देश युवा मैत्री बनोस र युवा देश मैत्री बनुन । शुभकामना । ।

Tuesday, July 23, 2013

जन्मको बिभेद

उ जन्मिदै राजा हुन्छ
उ संगै 
कयौँ अरु जन्मिन्छन
फगत उनिहरु जन्मिन्छन मात्र
उ ढुक्क छ उस्का सबै ढोका खुल्ला छन
अरुले खोतल्नुपर्छ कयौँ गहिराई
लड्नुपर्छ भोक ,अशिक्षा र गरीबी सँग

उसको पछाडी संसार कुद्छ
हरेक उस्लाई हेर्न करौडौँ खर्चिन्छन्
तर उसँगै जन्मेका अरु
सँसारले बनाएको कुनै कालकोठरीमा थुनिन्छन्
उसका अगाडी पछाडी लावालस्कर हुन्छ
हतियार सहित उस्को सुरक्षाको लागि
बसेका जवानहरुको
उ सँगैका अरु
हरेक दिन बम ,बारुद्धको आकाश मुनी
बस्न बाध्य हुन्छन
उ ऐस आरममा जिउनेछ
मिठा मिठा ब्यञ्जनमा रम्नेछ
सयाद अरुले यो सुख भोग्न नपाउलान्
नाङ्गो शरिर र भोको पेट मै
खुला आकाश मुनी रम्ने छन उनिहरु

उ आज सानै छ
तर के भोली 
राजदरबारका पर्खाल नाग्दै
उ बाहिरी संसारसँग मिल्न आउला ?
एक आम मानिस जस्तै बनेर
बास्तबिक जीवन हेर्न आउला ?
के उस्ले बुझ्ला कुनै दिन
यो जन्मको बिभेद !!

२०७०-०४-०८
Copyright ©2013 बिमोचन घिमिरे 

Friday, July 5, 2013

मेरा दिनहरु ...


पाना पल्टाउँछु
अनि टोलाउँछु
यादहरु तछाडमछाड गर्दै आउँछन्
मानसपटलमा एकसाथ छरिन्छन्
म आँखा चिम्लिन्छु
दुविधामा पर्छु
पाना ? कि याद ?
याद ? कि पाना ?
मनमा बिजुली चम्किन्छ
किताब बन्द गर्छु
अनी यादमा हराउँछु !!
हो यसरी बित्दैछन
मेरा दिनहरु...
२०७०-०३-२०
Copyright © 2013 बिमोचन घिमिरेCopyright © 2013 बिमोचन घिमिरे
©
©
©
Copyright © 2013 बिमोचन घिमिरे
Copyright ©2013 बिमोचन घिमिरे
©
©








Copyright © 2013 बिमोचन घिमिरे
Copyright © 2013 बिमोचन घिमिरे
Copyright © 2013 बिमोचन घिमिरे
Copyright © 2013 बिमोचन घिमिरे

Sunday, June 16, 2013

अल्पबिराम ,,

चराहरु उड्दछन ,कराउँछन्
ताराहरु चलायमान हुन्छन
सुर्य उदाउँछ ,अस्ताउँछ
बादल डुलिरहन्छ
तर यो आकाश निस्प्राण छ
रङ्गहिन छ
सुनसान छ
त्यसैले
यो व्यस्त ,चलायमान तर निस्प्राण
आकाशको क्षेत्रफलबाट
बाहिरिने निर्णय गरेको छु
कुनै दिन
जब हुलाकीले
सन्देश बोकी ल्याउनेछ
बसन्तको आगमन भएको
खबर सुनाउने छ
तब हर्षका फूलहरु
फूलाउँदै
म पुन:
आकाश नियाल्ने छु
तस्विरहरु नियाल्ने छु
सुन्दर,शान्त ,निश्चल मनहरु नियाल्ने छु
आँखामा आँखा  जुधाउँदै
मिलनका गीतहरु गाउने छु
तब सम्म
म पनि टाढै बस्छु
यो हल्लै हल्लाको संसार बाट
यात्रालाई अल्पबिराम दिँदै !!

जुन दिन
यो संसारमा
पुन: प्राण भरिने छ
म बाचा गर्छु
म फर्किनेछु
अवश्य फर्किने छु । । 
२०७०-०३-०१
Copyright © 2013 बिमोचन घिमिरे

Sunday, May 19, 2013

....... !!





परिवर्तित बाटाहरु
नियाले पछिका
सुनसान प्राय: दिनहरु,
एक्लै बिरक्तिएर
भिडबाट अलग्गिएका भावनाहरु

को बुझ्दछ ? को सुन्दछ ? को भन्दछ ?
सुनाउने कोही छैन !
बुझाउने माध्यम छैन !
भनिदिने कोही छैन !
छ त केबल
पाइलाका साक्षी बाटाहरु
सुभाष फैलाउने फुलहरु
र पोखरीको किनारमा
घडिका सुईहरु नियाल्दै
अत्यासलाग्दा पलहरुको,
साक्षी बनी उभिएको
एउटा जिउँदो ईतिहास !!
 बिमोचन घिमिरे
२०७०-०२-०५
 Copyright © 2013 बिमोचन घिमिरे

Thursday, April 25, 2013

कथा सुनाउन चाहन्न ॥

कथा त मेरा पनि छन्
मन भरि सङ्गाली राखेका
तर मित्र म सुनाउन चाहान्न
तिमीलाई बोझ थपेर
गलाउन चाहन्न ॥

आफ्नाले रेटेका कथा
नियतिले ठगेका कथा
पुर्दा पुर्दै पनि संधै खालि रहने
यता टाल्दा उता भत्किने
प्वालै प्वालको कथा
के सुन्छौ तिमी ??
भो ! मित्र मलाई कर नगर
म र मेरो कथा संधै मसंगै होस्
म कुनै श्रोता बनाउन चाहान्न
म कथा सुनाउन चाहन्न ॥

बरु तिम्रा कथाहरु मलाई सुनाउ
मन हलुको हुनेछ
पिडाहरुमा कहिँ - कतै मलम लाग्नेछ
तर म जे छु ठिकै छु
तिमीलाई थप पिडा दिन चाहन्न
म कथा सुनाउन चाहन्न ॥

तिम्रो , उसको सबैको कथा
म सुन्न लालायित छु
म पात्र भएर होईन
कथा- कविता केहि लेख्नु पनि छैन
म सिरिफ तिम्रो मन हलुका पार्न चाहन्छु
तिम्रा पीडाहरू बाँड्न चाहन्छु
तर आफ्ना कथाको भारि बिसाएर
तिम्रो काँध दुखाउन चाहन्न
बिन्ति मित्र मलाइ जोड नदेउ
म आफ्ना पिडा सुनाउन चाहन्न ॥

तिमी भर्खर बुझ्दै छौ
नपाउँदाको पिडा
मैले त दशक बिताइसकें
खालिपनामा एक्लै -एक्लै
कयौँ रात कटाई सकें
तिमी काँचै छौ म भन्दा
म केहि पाको छु
त्यसैले तिम्रो कलिलो काँधमा
दशकौँको भारी बिसाउन चाहन्न
भो ! मित्र
म कथा सुनाउन चाहन्न ॥

तिम्रो आत्मियताले मन भरिएको छ
मिल्दो जुल्दो बेदना सुन्दा मन रोएको छ
तिमी पनि कुरा लुकाउँछौ
तर मित्र बिन्ति नलुकाउ पीडाहरु
म त अभ्यस्त भैसकें
तिमी कृपया नक्कली हाँसो नहाँस ॥
२०७० / ०१ / ०७
विमोचन घिमिरे !!


 Copyright © 2013 बिमोचन घिमिरे


Sunday, April 14, 2013

दशक र हामी ....


एउटा दशकको अन्त्य गर्दै नयाँ जोश, सम्भाबना, आशा, चुनौती बोकेर आएको यो नयाँ बर्षको हार्दिक मंगलमय शुभकामना !!
हिजोको दशकमा यो देशले आन्दोलन देख्यो , युद्ध देख्यो ,परिवर्तनका लागी थालिएको बिभिन्न कदम देख्यो तर स्थाहित्व देखेन , शान्ती देखेन , परिवर्तन देखेन । तर अबको यो दशकले ति बाँधहरु भत्काउँदै देशलाई आगाडी प्रगतिपथमा बगाउनु छ । यसको जिम्म्भेवारी  कसैको काँधमा छ भने त्यो हामी युवा कै काँधमा छ ।
 पहिलेका दशकमा युवा शक्ती कसैले चिनेन । युवा सिमित स्वार्थ पुर्तिका पिउसा बने । युवाको जोश जाँगर बिध्वंसमा  मात्र प्रयोग गरियो । युवा सडक बन्द  गर्ने , ढुङ्गा हान्ने , घर जलाउने , गाडी जलाउने जस्ता कार्यको लागी मात्र प्रयोगमा आए । युवा पैसा , पावरको लोभमा बहके  आफ्नो स्वाभिमान बेचे  , यस बाहेक न युवालाई कहिले माथी पुग्न दिईयो न पुग्ने वातवरण नै तयार गरियो । युवालाई अपराधिकरणमा मात्र प्रयोग गरियो बितेका कयौँ दशकमा ।

 तर अब समय बदल्नु छ । यो दशक माहान प्राप्तिको वा डरलाग्दो  दुर्घटनाको दशक हो । यो दशकमा नि देशको बिद्यामान अवस्थालाई फेर्न हामी सफल भएनौ भने नेपाल देश इतिहासको कुनै काल कोठरी भित्र हराउन बाध्य हुन्छ ।

यो दशक गर वा मर , वार कि पार को दशक हो । बिगतका कयौँ दशकमा यो देशले भोगेको बैदेशिक हस्तक्षप अबको झन् जटिल भू-राजनीतिक अवस्थामा यो देशले नभोग्ला भन्न सकिंदैन । यस्तो अवस्थामा हामीले आफ्नो आन्तरिक ब्यबस्थालाई बलियो , अग्रगामी , प्रतिस्पर्दी बनाएनौ भने ति शक्ति राष्ट्र भनाउँदाहरु झन् सक्रिय हुन्छन । यो देशमा बिद्यमान धार्मिक ,जातिय ,क्षेत्रीय , राजनैतिक  सहिष्णुतालाई भताभुङ्ग , क्षतबिक्षत बनाएर  हाम्रो राष्ट्रियता , स्वाभिमान , भाइचारालाइ निश्तेज पार्न उनिहारू अझ दिन दुई गुणा रात चौ गुणा सक्रिय भएर लाग्नेछन। र भोलिको विश्व मानचित्रबाट नेपाल हटाउन साम दाम दण्ड भेद सबै प्रयोग गर्ने छन । किन भने नेपाल सम्भावनाले भरपुर विश्व हाक्ने तागत भएको मुलुक हो जुन सफल भएमा सामन्ती , गरिबमारा विश्व माफियाहरु सिद्धिनेछन र विश्वको बागडौर बास्तबमा प्रगतिवादि समाजवादी जनाताको हातमा आउने छ । जुन उनीहरु चाहाँदैन्न ।

नेपाल प्रचुर सम्भावनाको मुलुक हो । जनमुखी विश्व कुनै देशले हाक्न सक्छ भने त्यो देश नेपाल नै हो । यहाँ अनगिन्ति अवसर छ । प्रगति , सम्पन्नताको यहाँ अनगिन्ति खानि छ । तर नजिकको तिर्थ हेला भनेझैं यी दशकहरुको अवधिमा हामीले हाम्रा सम्भावना नियाल्ने काम गरेनौं । यहाँ यस्तो छ र उस्तो छ भन्दै  वाक्क लाग्दो अर्थहीन प्रचार मात्र गर्र्यौं तर माटो खनेर सुन फलाउने जमर्को हामी कसैबाट भएन । देशका कर्णधार मानिएका युवाले आँखा चिम्लिएर विदेशीका लोभ लालचमा आफुलाई बेचे । देशमा केहि छैन , यो देश कहिल्यै बन्दैन , यहाँ केहि गर्न सकिंदैन भन्दै यहाँ भएका प्रचुर सम्भावनाको ख्याल नै नगरी मुर्ख आवेगमा आएर पलाएन भए । जब देश बन्छ हामी फर्कन्छौं भन्दै बेला बखत  राष्ट्रियताका , देश प्रेमका ढोंगी बक्तव्य निकाले र हराए । तर उनुहरुले बुझेन्न वा बुझ्न चाहेन्न  कि देश अरु कोहि आएर बनाइदिने होइन आफैले होस्टेमा हैंसे  मिलाउंदै , एक छाक मकै एक छाक भोकै भए नि रगत पसिना एक गरेर आफैले बनाउने हो । तर उनीहरुले यो कहिल्यै सोचेन्न र सधैं दशकौ दशक देशलाई सरापी रहे ।

 अब आँखा खोल्नु पर्छ । अझै नि देश बाँचेको हेर्न मन छ भने । देश हाँसेको हेर्न मन छ भने । देश बनेको हेर्न मन छ भने हामीले बन्द गरि राखेका हाम्रा राष्ट्रवादी आँखा खोल्नै पर्छ । हामीले नियाल्नु पर्छ देशका कुना काप्चा । देश कुन अवस्थामा जेन तेन घस्री घस्री हिंडिरहेछ । बिगत जे जस्तो भयो त्यसलाई सम्झेर र खाटो बसेका घाउ कोट्टाएर केहि फाईदा छैन घाउ दुख्छ मात्र । अब बर्तमान राम्रो बनाउँदै सुनौलो भविष्यको रुप रेखा कोर्नु छ जसले गर्दा अब आउने पुस्ताले हामीले जस्तो गल्ति नगरुन र देश थप प्रताडित हुन नपरोस ।

हिजो सम्म सुतेका युवा शक्ति अब जाग्नु पर्छ । यो दशक युवाको दशक हो । अब युवा डराउने होईन गर्विलो इतिहासको कवचले बनेको चौडा छाती फुलाएर देश जनता बिरुद्ध लाग्ने देशी बिदेशी शक्तिहरुलाई पन्छाउँदै समृद नेपाल निर्माणको अभियानमा हातेमालो गर्दै लाग्नु पर्दछ । युवा कुनै व्यक्ति बिशेष , पार्टी बिशेषको स्वार्थ पूर्ति गर्ने अखडा होईन राष्ट्र बनाउने साधन हुनु पर्दछ । केहि सिमित पैसा , मासु भातको लोभमा परेर  राजनीतिको नाममा बन्द ,आगजनी गर्ने जस्ता मानवता रहित काम गर्न अब युवा तल्लिन हुनुहुँदैन । आफु भित्र  रहेको रचनात्मक , सिर्जनात्मक सोचलाई अझ तिखार्दै समय अनुकुल ढङ्गमा आ-आफ्नो ठाउँबाट राष्ट्र निर्माणमा लाग्नु पर्दछ युवा यो दशकमा । क्षेत्रीयता ,जातीयता,धार्मिकता भन्दा माथि उठेर अब युवा सम्पूर्ण राष्ट्रको हुनुपर्दछ । देशमा केहि छैन भन्दै बाहिरिहेका बिदेशका बिकासमा रमाएका युवा पनि अब फिर्नुपर्छ । देश बाहिर बसेर केहि डलर सहयोग भन्दै फ्याँकेर र केहि शब्द राष्ट्रियताको फलाकेर देश बन्दैन , आफ्ना मलिला माटो ,खेत  बाँझो राखेर खाडीका मरभुमिमा कोदालो खनेर देश बन्दैन , नेपाली भइन्दैन  ।
अब हामीले आफ्नै मुलुक सुहाउँदो बिकासको नक्सा कोर्नु छ । यहि दशक हो हामीले लागिपर्ने । आफ्नो हरेक तागत लागाएर यो दशकमा देशको काँचुली फेर्न सक्यौं भने हामी विश्वकै समृदशाली , परगतिवादी देश हुनेछौ । बुद्ध र सगरमाथाले आजसम्म धानेको हाम्रो स्वाभिमानको आयतन अझ फराकिलो हुनेछ । हामी नेपाली  विश्वको कुनै पनि कुनामा पनि परिचित हुनेछौं । हामी माथि कसैले पनि औंला तेर्साउन सक्नेछैन । तर यदि हामी यो दशकमा पनि चुक्यौं भने हाम्रो परिचय हाम्रो स्वाभिमान खतरामा पर्ने छ । हाम्रो मुलुक असफल राष्ट्रको सुचिमा टाङ्गिने छ । नेपाल,नेपाली र नेपालीत्व संकटमा पर्नेछ । तसर्थ अब हामी जाग्नेपर्छ । ढिलो त भईसक्यो तर अति ढिलो हुनबाट हामी जोगिनै पर्छ । हामीले धेरै समय कुरामा , लडाईंमा बितायौं अब काम गरेर बिताउने समय आएको छ । कर्तब्य र अधिकारको क्षेत्रफललाई समान बिन्दुमा राखेर अब हामी  अगाडि बढ्नुको कुनै विकल्प छैन । सबलाई चेतना भया !!
                                        बिमोचन घिमिरे
                        यो लेख  नेपाल प्रगतिसील युवा मंच को ब्लग http://npym2010.blogspot.com/ 
                         मा पनि राखिएको छ । 

Monday, March 11, 2013

पुन: मोफसल



                                                              
समय गतिशील छ। यसको भेलमा पसेपछि उम्किन गाह्रो कुन-कति बेला कहाँ लगेर पछार्ने हो , भन्न के सोच्न नि सकिन्न समय बलवान यसको अगाडी मानिस निरिह समयले जस्तो अवस्थामा ल्याएर उभ्याउँछ त्यसलाई सहज रुपमा स्विकारी त्यस अनुरुप आफुलाई ढाल्नु मानव सभ्यताको नियति नै भैसक्यो ...

समय सँग सम्बन्धित यी यस्ता बखान,कथा उसले बाल्यकाल देखिन नै सुन्दै आएको हो तर आजसम्म यसको सहि बिश्लेष्ण गर्ने खुबी उसमा बिकसित भएको थिएन उसले यस कुरालाई गम्भीरता पुर्वक लिएको पनि थिएन बुझ्ने प्रयास नै गरेको थियो तर उही समयको देन आज एउटा यस्तो घुम्तीमा आई उभिएको जहाँ उभिएकै भरमा ति यावत गुह्य तत्वको भेद आफ्ना अगाडी खुलेको अनुभव गर्दैछ हिजो सम्म कथा गफमै सिमित समयको पारिचय आज उसको अगाडी यथार्थ भएको समयका केस्रा केस्रा केलाउँदै आज सम्मका जीवन भोगाई नियाल्दै

"बाह्र बर्ष" एउटा लामो समय | बाह्र बर्षमा मानिसको जीवनमा धेरै फरकपन आउँछ | यहाँ मिनेट मिनेटमा संसार बदलिन थालेको बाह्र वर्षको कल्पना पनि नगरौं, यसले परिवर्तनको प्रलय लिएर आउँछ | "१२" यो अंकको निकै ठुलो महत्व उसको जीवनमा | यो अंकलाई जुन सुकै कोणबाट नियाले पनि आफुलाई मात्र भेटाउँछ |

कुनै चलचित्र हलमा जस्तो आज आफ्नो जीवनलाई ठुलो पर्दामा नियाल्दै | आफ्नो जीवनलाई पछाडी धकेल्दै बाह्र वर्ष अगाडिको घटना सम्झन्छ , जुन दिन कुनै एउटा बसको सिटमा बसेर झ्यालबाट टाउको निकाल्दै चलायमान दृश्यहरु नियाल्दै थियो | आज पनि  त्यहि गर्दैछ तर फरक यति मात्र हो , हिजो उसको अगाडी सबैका सपना बनाउने, भत्काउने काठमाण्डौ मुख बाई रहेको थियो तर आज बाहिरिएको नेपाल खाल्डो उसको पछाडी मुख बाई रहेको | यो भौतिक भिन्नताको कुरा भयो | जब मानसिक भिन्नता खोज्छ ...  खालिपनामा हराउँछ | हिजो पनि उसको मनमा डर, उत्साह भविष्यको मिठो कल्पना थियो, आज पनि त्यहि मानचित्रमा उभिएर गन्तब्य पाहिलाउँदैछ |

जब जब यो लामो अन्तरालको ढोलक उसको मानसपटलमा बज्न थाल्छ तब तब लामो सास तान्दै वरिपरिका हावा हावा संगै मिस्सिएका अनेकन कणहरु फोक्सोको भित्रि सतह सम्म पुर्‍याउँछ उही बेगका साथ वातावारणलाई नासो सुम्पिन्छ | हेर्दा लाग्छ ठुलो बोझ लुकेको भित्र !!

बाह्र बर्ष पहिले मोफसल छाडी यो शहर पसेको थियो | प्रकृतिको ‌‍आलीङ्गन , खोलाको बेग , चराचुरुंगीको मधुर आवाज, स्वच्छ हावा पानी बीच खरले छाएको  केहि साना घर कहिँ कतै सम्पन्नता झल्काउने गरि कोहि कोहिले बनाएको जस्ताले छाएको घर बाहेक चारै तिर खुला हरिया फाँटै फाँटले भरिएको गाउँमा हुर्किएको त्यो सानो केटोको; प्रकृतिबाट टाँढिदै गएको , घरै घरको जंगल , प्रदुषित हावा मानिसको चापले निस्सासिएको यो शहर सम्मको रुपान्तरण कम्तिको उराठलाग्दो थिएन ! त्यो दिन सम्झंदा आज पनि   झसङ्ग हुन्छ | शहर उसको लागि शहर उसको लागि बिल्कुलै नौलो थियो !!

"समय कति चाँडो बित्दो रहेछ" अचम्मित | हिजो छिर्दै गर्दा बिरानो रहेको काठमाण्डौ शहरसंग आज छाड्दै गर्दाको अवधिसम्म धेरै ठुलो भावानात्मक सम्बन्ध गाँसिएको | आज यो शहर दुबैले एकअर्कालाई राम्ररी चिनेका छन | यो शहर भित्रको कथा ब्यथा उसले राम्ररी बुझेको यो शहरले पनि उसको कथा बुझेको भन्नेमा ढुक्क |

समय जति चाँडो बिते पनि यो अवधिमा   शहरको जीवनमा धेरै परिवर्तन आएको शहर प्रकृतिबाट झन् झन् टाढिँदै गएको | गगन चुम्बी भवन, मानिसै मानिसको भिड भित्र शहर दिनानुदिन पिल्सिएको | एकलिएको | चोर, फटाहा , भ्रष्टाचारीहरुको बीच ईमान्दारिता पिल्सिएको यो शहर भित्र | बर्षौ कयौं मानिस उसका जस्तै सपना पुरा गर्न यो शहर छिर्छन तर सबैको सपना माथि खेलवाड गर्न धेरै ठुलो संख्यामा नरभक्षीहरु यो शहरमा सलाबलाई रहेको उसले पाएको !

यो दौरान  शहरले झेलेको बिभिन्न राजनीतिक उथल-पुथल प्रत्यक्ष रुपमा नियाल्ने मौका पनि पायो उसले | हत्याकाण्ड देखिन गणतन्त्र सम्मको सबै उथल पुथल को साक्षी भयो ! यहि क्रममा उसले नेपालको राजनीतिलाई नजिकबाट बुझ्ने मौका पनि पायो | नेताको मुकुण्डो लगाएर देश-जनता लुट्ने राक्षसहरुलाई राम्ररी चिनेको अचेल उसले ... !
 तर यी सब घटनाक्रम संग उसको कुनै लगाव छैन , डर छैन | यी सब संक्रमणकालीन अस्थिर राजनीतिको उपच हो भन्ने कुरा उसलाई प्रष्ट  थाहा | जब राजनीतिले स्थिरता पाउँछ यी सब कुरा मिल्छ भन्नेमा आशावादी |

यो अवधिमा शहर र शहरबासीको मनबाट मौलिकता , राष्ट्रियता , स्वाभिमान हराउँदै गएको तितो यथार्थले भने उसलाई साह्रो पिरोलोएको छ | मानिसमा बढ्दै गएको लोभ,ईर्ष्या र देश लुटेर आफु धनि हुने र आरामदायी जिन्दगि जिउने दरिद्र सोच नै यसको कारक रहेको उसको ठम्याई छ | नेपालीको मनबाट हराउँदै गएको नेपालीत्व र देश भजेर आफु सम्पन्नशाली हुने होडबाजी देखेर उ चिन्तित छ | उसले काठमाण्डौमा बिदेशी चहलपहल पनि खुब देख्यो | त्यसैले त देश र देश संगै जोडिएको सारा नेपालिको स्वाधिनता माथि मड्राईरहेको कालो बादल देखेर ऊ भएभित भएको छ |

यो शहर उसको प्रेमको साक्षी पनि हो !! आफुले लाएको एकोहोरो माया उसलाई प्यारो छ , दोहोरो बनाउन नसकेको हिन्नताबोध पनि छ कतै ! तर जे होस ! आज पनि उसको एक्लोपनको साथि उसको त्यहि प्रेम भएको छ | तर यो प्रेमको चुम्बक्त्वले नि आज उसलाई रोक्न सकेको छैन | यहि शहरमा बाँध्न सकेको छैन | आज उसलाई यो शहर भन्दा धेरै पर जानुछ ... धेरै टाढा...| त्यसैले ऊ बिगतमा रुमल्लिन चाहाँदैन तर भुल्न पनि सक्दैन | उसको प्रेरणाको श्रोत नै यो शहर र यो संग गाँसिएको आरोह-अबरोह नै हुन् | तसर्थ ऊ बिगत भुल्न सक्दैन | तर समयको चक्रब्युबाट उम्कने कुनै सुत्र छैन | अगाडी बढ्नुको कुनै विकल्प छैन |

"ओ ! दाइ झर्नु पर्दैन" , खलासीको चर्को स्वर सुनेर ऊ झसंग हुन्छ | कति खेर गाडीले काठमाण्डौ छोड्यो, कति खेर कहाँ के भयो उसलाई कुनै हेक्का नै भएन ! ऊ त आफ्नै धुनमा मग्न थियो | बाहिरि संसार भन्दा निकै पर जिन्दगीलाई रङ्गिन क्यानभासमा नियाल्दै थियो | ऊ मनमनै हाँस्छ |

"अझै के टोलाई राको" "नझर्ने भए बस कुदाउँछौँ " खलासीले अझ चर्केर बोल्यो | क्यानभासबाट आँखा हटाउँदै ऊ बल्ल होसमा आयो | हतार हतार सामानहरु मिलायो र ओर्लियो | खलासी अझै फ़त्फ़ताउँदै थियो... |

जिन्दगीको दोस्रो खण्डको प्रस्थान बिन्दुमा ऊ उभिएको छ | बाह्र बर्ष अघि केहि पाउने , केहि गर्ने , सपना साकार पार्ने निउँमा शुरु गरेको  "काठमाण्डौ  यात्रा " लाई बिचमै बिट मार्दै आज बिगत - बर्तमान दुवै गाभिएको उही पुरानो दोभानमा आई उभिएको छ जहाँ बाट हिजो उसले आफ्नो प्रथम खण्डको शुरुवात गरेको थियो र आज दोस्रो खण्डको गर्दैछ | काठमाण्डौको जीवन, महंगी, धुँवा-धुलो ,कोलाहलबाट आजित भएर आज ऊ फर्केको छ |

काठमाण्डौबाट खालि हात भने ऊ अवश्य फर्केको छैन | काठमाण्डौले सिकाएको संघर्ष, भोक-प्यास उसले संगै ल्याएको छ | आज उसले बुझेको छ जीवन | जानेको छ सफलताको सुत्र | बर्षौं पहिले गुमाएको मौलिक धरातल आज उसले भेट्टाएको छ | केहि पाउने लोभले उसका पाईला दिग्भ्रमित भएका थिए तर आज यसले सहि दिशा पहिलाएको छ | हिजो गरेका गल्ति सुधार्दै आज उ फिरेको छ आफ्नै जन्मठाउँ | ऊ हुर्किएको उसको आफ्नै गाउँ |

उही स्वच्छता , उही माधुर्यता | बाह्र बर्ष आगाडी छोड्दाको गाउँ आज पनि उस्ताको उस्तै तर ऊ भने बदलियो | केहि सुगमता , केहि बिकास देख्यो तर गाउँमा ल्याउनु पर्ने समय सापेक्ष परिवर्तन बारे उसले कहिल्यै सोचेन | सदैव आफ्नै स्वार्थ पूर्तिमा ऊ तल्लिन रह्यो | एउटा लामो समय गाउँ भुलाएर बितायो उसले | ति दिन सम्झेर उसका आँखा रसाए | तर एक मन खुशी छ ऊ , जे जस्तो भए पनि आज ऊ आफ्ना पाइला पछ्याउंदै गाउँ फर्केको छ |

ढिलो त भैसक्यो तर अझै समय घड्केको छैन | अब आफ्नो गाउँ बनाउनुछ उसले | होस्टेमा हैंसे मिलाउँदै बिकासको गोरेटोबाट डोर्‍याउँदै राजमार्गमा हुँईकाउनेछ गाउँलाई | आफु हुर्केको ठाउँलाई | पसिनाको खोलो बगाउनुछ आफ्नै माटोमा | सुन फलाउनु छ | गाउँ हुँदै पुरै देशको मुहार फेर्नुछ |

ऊ आफ्नो सामान बोक्छ र ठुलो क्रान्तिको सम्भावना बोक्दै जन्मघर तिर लम्कन्छ ...

(पर क्षितिजमा घाम अस्ताउँदै छ | दिनभरी चारा खोज्न भौतारिएका चराहरु , गुँड फर्कन आतुर छन् |

केहि दिन देखि हराएका एक हल गोरु लुरु लुरु आएको देखेर हर्के निकै खुशी भएको छ | अब उसले पनि सुनका बाला फलाउनेछ !! )

Copyright © 2013 बिमोचन घिमिरे

ShareThis