Tuesday, December 23, 2014

हामी दुई !


मेरा कथाहरु
कि उसलाई थाहा छ
कि मलाई ।

मेरा भावनाहरु
कि ऊ बुझ्छ
कि म बुझ्छु ।

तर फगत
ऊ पनि मौन छ
म पनि मौन छु
हामी दुवै मौन छौं ।।

जब जब
म ति किनारहरुको
समिप पुग्छु
घडीहरुमा समय नियाल्छु
जब ति बाटाहरुमा
आफ्ना बिगत
बर्तमानका आधारहरु खोज्छु
तब
उ म संगै उभिन्छ
म उ संगै उभिन्छु
अनि अनायासै
हामी स्मृतिहरू संगाल्छौं
उ मलाई ढाडस दिंदै
ममताको साइनो बाँड्छ
म उसलाई आत्मीयताको
न्यानो अंगालोमा बेर्छु
मित्रताको दृढ संकल्प सहित
हामी दिल खोलेर हास्छौँ
तर
ऊ पनि मौन बस्छ
म पनि मौन बस्छु
हामी दुवै मौन बस्छौं ।।

२०७१/०९/०८ ©बिमोचन घिमिरे 

ShareThis