Friday, February 14, 2014

ढलेको स्तम्भ

                                                                   

लगभग एक बर्ष पछी काठमाण्डौको दैनिक भाग दौड, धुँवा धुलो भन्दा धेरै पर गाउँको खेत र बारीको माझमा रहेको आफ्नो पुरानो जन्मथलो फर्कंदाको छुट्टै स्वर्गीय आनन्दमा डुब्दै घरको दैलो टेक्दाको त्यो उत्साहपूर्ण आबेगमा उ रमाइरहेको छ । पाहिला पहिला आउंदा र आज घर आउँदाको फरकपन उसको ब्यबहारले प्रष्ट झल्काउँदैथ्यो,लाग्थ्यो अन्तिम पल्टको घर बसाई र आज फर्कदाको अवस्था सम्ममा थुप्रै उथलपुथल बाट उ गुज्रिसकेको छ !!
हतार हतार उ आफ्नो कोठा भित्र छिर्दै लुगा फाटो मिलाउन थालिहाल्छ ,धेरै दिन देखि नदेखेका साथिभाइ ,इष्टमित्रलाई भेट्ने हतारो थ्यो उ भित्र जो राम्ररी पढ्न सकिन्थ्यो उसका उनुहारमा झालिकिएको भावहरुबाट ....
लुगाफाटो मिलाएर र केहि सरसफाई सिधाएर कोठा बाहिर निस्कंदै गर्दा उसको ध्यान दराजको छेउतिर रहेको एउटा पुरानो ब्यागले तान्छ । खोई के थियो त्यो ब्याग भित्र उसलाई केहि याद भएन तर त्यो ब्यागले उसलाई निकै तान्यो तर गाउँ डुल्ने चटारोले उ कोठाबाट बाहिरियो ...
सबै संग भेटघाट गर्दै ,घर घर डुलिरह्न्दा पनि उसलाई त्यो ब्यागको कौतुहलताले भने बेलाबेलामा झस्काई नै रहेकोथ्यो , संधै उसकै कोठामा हुने ब्याग थियो त्यो, बुवा कुनै बेला कोरियाबाट फर्कंदा ल्याउनुभएकोथ्यो क्यारे त्यसलाई ,ठ्याक्कै कति बर्ष भयो भनेर खोट्याउन नसके पनि त्यो ब्याग निकै नै पुरानो थियो ,तर किन किन त्यो ब्यागको चुम्बकीय आकर्षणमा उ त्यसलाई देखे देखिन नै तानिएकोथ्यो तर त्यस भित्र के थियो उसले केहि भेउ नै पाउन सकेको थिएन वा भनौं सम्झिन पनि सकेको थिएन ।
दिनभरी सबैसंग भेटघाट सकेर साँझ तिर उ घर फर्कियो । खाना पाकिसकेको रहेछ ,आमा उसकै बाटो हेरेर बस्नुभएको थियो क्यारे उसले हातखुट्टा धुन नभ्याउदै आमाले खाना पस्किसक्नु भएकोथ्यो । उसले धित मरुन्जेल खाना खायो ,साबिकको भन्दा निकै धेरै नै खायो उसले,, धेरैपछिको गाउँको खाना र थकानको भोक दुबैले स्वाद निकै निखारेकोथ्यो ...
खाना खाइवोरी उ आफ्नै कोठा भित्र पस्यो र खाटमा लम्पसार पर्यो । एक्कासि उसको ध्यान त्यहि ब्यागमा पर्यो; निकै धुलो भरिएकोथ्यो ब्यागमा ,केहि गह्रौं जस्तो पनि थियो..., यसले त झन् उसको कौतुहलताको सीमालाई उत्कर्षमा पुर्यायो र हतार हतार त्यसलाई खोल्यो ...
भित्र लगभग आधि भरिएको भोड्काको बोत्तल थियो । बिर्कोबाट रसाएर केहि थोपा रक्सिले ब्याग पनि भिजाएको थियो र अमिलो बास्ना आउंदैथ्यो त्यसबाट ... तर यी कुनै कुराको प्रभाव परेन उसलाई ,बोत्तल देखे संगै उ एक्कासी आफ्ना पुराना अतितका बन्दपानाहरुमा हराउन पुग्यो; ति पानाहरु जसलाई तिनै रक्सीका नशाहरुको सहायता लिंदै कहिल्यै नपल्टाउने पर्णका साथ उसले दिमागका कुनै सुनसान चिहानमा कुनै दिन दफ्नाएको थियो तर संयोग आज त्यहि रातको मुख्य पात्र त्यहि बोत्तल र त्यहि रक्सीले पुराना सम्झनाहरु बल्झाइदियो ,पानाहरु उल्टाईदियो ।
उ रात भरि निदाउन सकेन , उसका आँखा अगाडी उसको बिगत ताण्डव निर्त्य गर्दैथ्यो र एकाएक सबै पुराना घटना चलचित्र जसरि सद्र्श्य प्रस्तुत भैरहेका थिए जसलाई उसले अथक प्रयास गर्दापनि न हटाउन सकेको न त अन्य कुरा नै सोच्न सकेकोथ्यो.....
एमबिबिएस पढ्ने आफ्नो धोकोमा फेला पारेको पटक पटकको असफलताको चोटबाट आजित भएर उ पढाइलाई निरन्तरता दिने एकमात्र उद्धेश्यले त्रि-चन्द्र कलेजमा भर्ना भएकोथ्यो । पढाई शुरु भएको हप्ता दिन बित्दा पनि उ कलेज भने गएको थिएन तर घर-परिवारको दबाब र एक्लै कोठामा बस्नुपर्ने बाध्यताका बीच उ एकदिन कलेज छिर्यो । कुनै बेला सिमित बिद्यार्थी हुने गाउँ कै सरकारी स्कुल र पछी केहि हजार दरमा बिद्यार्थी कोचाउने प्राइभेट प्लस टु  बाहेक विद्यार्थीको ठुलो चाप नदेखेको उसले, बिद्यार्थी नै बिद्यार्थीले भरिएको त्रि-चन्द्र छिर्दाको पहिलो अनुभव नै उसको लागि अन्यौलपूर्ण थियो ,कक्षाकोठा पत्ता लागाउन नै उसले ठुलो सकस भोग्नु पर्यो जसले उसको मनमा कलेज प्रतिको नकारात्मक भावनाको बिजारोपण गरिसकेको थियो । कक्षाकोठाको अवस्था नि कुनै सामन्य थिएन ,बाहिर जत्तिकै बिद्यार्थी भित्र नि देख्दा उ झन् अचम्मित भयो ,भिडबाट बच्दै आफ्नो बस्ने सिटको सुनिस्चितता पछी भने उ केहि समालियो ..
सबै नौला अनुहार ,चिनेको कोहि थिएन तर त्यहि अनजान अनुहार कै भिडमा उसका आँखा कुनै सुन्दर अनुहारमा गएर अड्क्यो ,निकै सालिनता थियो त्यो अनुहारमा, मौन थिए ओठहरु र आँखामा पनि कुनै चंचलता थिएन मानौ उनीहरु कुनै सुन्दर पार्कमा बसेर केहि सुन्दर द्र्श्याबोलोकन गर्दैथे । त्यो अनुहारको त्यो सालिनताले उसलाई निकै तान्यो ,एकाएक उ क्लासका हो हल्ला ,भिडबाट अलग्गिएर त्यहि अनुहारको गहिराइमा डुब्न थाल्यो , दिनभरी के भयो उसलाई कुनै हेक्का भएन ,, कलेजको पहिलो दिन त्यहि अनुहार र त्यसलाई ग्रहण गर्ने व्यक्तिलाइ नियाल्दै नै बित्यो ...
त्यस रात उ निदाउन सकेन ... उसका आँखा भरि त्यहि अनुहार घुमिरहेको थियो ,,ति हेराई ,सालिनता र ,कहिले काहींको मन्द मुस्कानबाट उ निकै नै प्रभावित भैसकेको थियो .. आफु प्रेममा फसेको गहिरो अनुभूति उसका मनका कुनै कुनामा भैसकेको थियो....
प्रेम कस्तो हुन्छ भन्ने ज्ञान उसले त्यहि पहिलो भेटबाट पायो ,छुटेपछिको पुन: भेट्ने उत्सुकता,उनलाई नै देखि रहुँ को भाव उसमा जागृत भैसकेको थियो,कहिले भोलि होला र भेटुम्ला भन्ने त्यो कौतुहुल्ताले घरि घरि उसलाई सताउन थालिसकेको थियो... जुन त्यस दिन उपरान्त निकै बर्ष सम्म स्थाई नै रह्यो.. कहिल्यै घटेन ...
यसै क्रममा दिनहरु बित्दै गए ,, कलेज जाने उसलाई हेर्ने ,पढ्ने बाहेक उसको दिनचर्यामा केहि फरकपन आएन । लगभग धेरै जाना संग चिनापर्ची र केहि संग गहिरो मित्रता भैसक्दा पनि उनि संग भने उसले बोल्न सकेको थिएन,न उनको नाम नै थाहा थियो उसलाई ...खोई के हुन्थ्यो उनको समिप पर्दा,, उ संधै डराउन्थ्यो,,मुखबाट शब्दहरु निसकन नै मान्दैनथे र उ लाचार भएर उनको बाटो मै पर्दैनथ्यो.... झन् उनको नाम सोध्ने हिम्मत त उसले जुटाउन सक्ने कुरै भएन ...जसले गर्दा उ शान्त रहनै सकेन ..त्यहि  कुराले संधै सताउँथ्यो उसलाई ...
मन भित्रको त्यस्ता उकुसमुकसबाट छुटकारा पाउन जसले नि प्रयत्न गर्छ नै उ पनि अछुतो रहेन ...त्यसैले धेरै लुकाउने प्रयास गर्दा गर्दै पनि एकदिन उसले आफ्ना मनका सारा भावना आफ्नो मिल्ने साथीहरु माझ सुनाइ छाड्यो ,, गल्ति गरें कि गरिन भन्दा पनि मनका गुम्सिएका भावनालाई उनि सामु प्रस्तुत गर्न नपाए पनि आफ्ना मिल्ने साथीहरुलाई भन्दा उसले केहि भित्रि शान्तिको अनुभव गरेको थियो त्यो दिन र साथीहरुले केहि सहयोग गर्लान भन्ने ठुलो आशा पनि पलाएका थिए उसको मन भित्र ....
जब पुरै मेहिनेत सहित कुनै कुरा पछाडी लागिन्छ तब त्यो हासिल नहुने कुरै भएन ,,उसको जीवनमा पनि त्यस्तै भयो ,साथीहरुको सहयोग र आफ्नै प्रयासले एकदिन उसले उनको नाम पत्ता लगाई छाड्यो .........
नाम थाहा पाउँदाको दिन उसलाई निकै खुशी लागेको थियो ..एउटा लड्दै गरेको युद्धको मुख्य कडी नै आफ्नो हातमा परेर प्रफुल्लित भएको कुनै योद्धा जस्तै देखिन्थ्यो उ त्यो दिन ..हुन पनि आफुले मनपराएको प्रेमिकाको नाम थाहा पाउनु कुनै प्रेमीलाई युद्ध जिते जस्तै हुँदो हो ..देख्दा सामान्य लागे नि र जाबो नाम न हो जस्तो लागे नि त्यो दर्शकका मनोगत भावनामा नै सिमित हुन्छन ,,प्रेमीको लागि त्यो एउटा ठुलै तपस्याबाट प्राप्त भएको बरदान नै हो र उसको लागि पनि त्यो घटनाको ठुलै महत्व थियो ....
अब भने उसको अगाडी आफ्नो मनको भावना उसको सामु राख्ने अर्थात प्रेम प्रस्ताव गर्ने ठुलो चुनौती थियो ,,नाम थाहापाएको जोशमा उसलाई त्यो नि सजिलै गर्न सक्छु भन्ने आत्मविश्वास मनमा जागृत भयो ...तर जीवन सोचे जस्तै कहाँ पो हुन्थ्यो र .....
प्रथम बर्षको बार्षिक परिक्षा र केहि दिनको बिदा पश्च्यात दोस्रो बर्षका कक्षाहरु नि शुरु भैसकेका थिए तर यो अवस्था सम्म नि उसले आफ्ना मनका गाँठा भने उनको सामु फुकाउन सकेको थिएन ... दोश्रो बर्षले केहि नयापन भने अवश्य ल्यायो ... यो दौरान उसले उनका नजिकका साथीहरु संग आफ्नो मित्रताको हात बढाई सकेको थियो , यहि मित्रताको सदुपयोग गरेर उनको नजिक आउने र पछी उनलाई प्रेम प्रस्ताब राख्ने एउटा ठुलो खाका उसले आफ्नो दिमागमा मित्रताका हात बढाउनु अगावै बुनिसकेको थियो तर आज सम्म नि उनि संग बोल्न नि नसकेको अवस्थाले भने उसलाई कता कता भित्रि नैर्श्यताको दलदल भित्र भने दुबाउँदै लागेको थियो ...
उ त्यति खुशी हुन छोडेको थियो ,,संधै केहि चिज्मै एकोहोरोएको जस्तो उसको ध्यान सामान्य दैनिक गतिविधिबाट हराउंदै थियो ...उ निकै नै ठुलो भाबुक्ताको सिकार भएको थियो यो अवधिमा ....
उनलाई मनको भावना सुनाउने लालसाले गर्सित भएर उ उसलाई पछाउन नि थालिसकेको थियो । यी यस्तै मनका  कुण्ठाबाट प्रताडित हुँदा उसले आफ्ना भावना कता कता उनका साथीहरु माझ नि अन्जान बस चुहाउने गल्ति गर्यो ...
साथीहरु न परे ,,अल्लारे बुद्धि र पेटमा कुरा राख्न नसक्ने दरिद्रता,, जसले गर्दा परालमा आगो फैले सरि यो कुरा एकदिन उनको कान सम्म नि पुग्यो .... जसको भनक उसले धेरैपछी मात्र पायो ...
यो थाहापाउदा उसलाई सम्हालिन निकै गाह्रो भएको थियो ..... लाज ,डरका प्रहारले अनुहार देखाएर हिंड्न समेत उ गाह्रो महशुस गर्थ्यो .....तर यो भन्दा पनि बेसी उनले यो सुनेपश्चात उनमा आएको परिवर्तन र उनले देखाएको ब्यबहारले भने उ निकै नै चिडियो र यसले उसलाई झन् ठुलो मानसिक तनाब दियो ....
आफु प्रति उनको कुनै भावना नरहे पनि उ दुखित भने भैसकेको थिएन बरु एउटा राम्रो भित्र बन्ने अठोट उसमा पलाएको थियो र मित्रता हात उसले बढाउन खोजेको पनि थियो ...तर उनले उसलाई कुनै भाउ नदिएको र उनले  देखाएको छुट्टै घमण्डी ब्यबहारले भने उसलाई निकै ठुलो धक्का पुर्यायो । पहिलो दिन भेट्दाको त्यो सालिन ,सरल भाव र त्यहि अनुरुप उसले बनाएको उनको प्रतिमूर्ति एकएक गरेर भत्किन थाल्यो ...
आफु डिप्रेसनको सिकार भएको भान उसको मनमा कता कता पलाउन थालिसकेको थियो । डाक्टरलाइ देखाएर औषधि खानुपर्छ कि भन्ने जस्ता कुरा उसको मनमा उत्पन्न हुन थाले ... यी सबै कारणले उ सबैबाट एक्लिएको महशुश गर्न थाल्यो ,एक्लै पीडादायी गीतहरु सुन्दै आफैमा एकान्तमा हराउनु उसका दैनिकी भैसकेका थिए ... यसले गर्दा उसको पढाई प्रति नि लगाब घट्दै गयो ...
कहिले काहीं आफुलाई निकै सम्हालेर उ पढ्न त बस्थ्यो तर एकाएक प्रेमका असफलताका र मुख्यत उनले देखाएको ब्यबहारका ति पीडादायी सम्झनाहरुले उनलाई कहिल्यै सम्हालिने मौकै दिएन फलस्वरूप उसले केहि आशाका किरणहरु नै देख्न छोड्यो ...
यसै क्रममा दोश्रो बर्षको परिक्षा पनि शुरु भैसकेको थियो .... अस्थिर मन र दिमागले सायद केहि सम्झन वा पढ्न सक्थे ..भयो त्यहि ..उसले राम्रो तयारि गर्न सकेन फलस्वरूप उसको परिक्षा निकै नै बिग्र्यो ...
आफुले मनपराएको मानिसले देखाएको रुखो ब्यबहार र त्यही कारण बिग्रिएको परिक्षा ...जीवनमा केहि ठिक नभएको एउटा कटु यथार्थले उसलाई एकदम सतायो र होस्सायो पनि ......
 उ सबै बिगत भुल्ने अठोटमा पुग्यो तर सोचेको जस्तो सजिलो संग वास्तविक जीवन कहाँ चल्न सक्थ्यो र ....??
तेस्रो बर्षको शुभारम्भ नि भयो .. पहिलेको जस्तो त्यति अशान्त नभए नि उ पूर्णरुपमा बिगत भन्दा बाहिरीएको थिएन झन् उही अनुहार संधै देख्दा बिगत भुलाउन त्यहि सहज पनि थिएन उसलाई ..तर मनै मन अन्तिम बर्षको समाप्ति सम्म वार कि पारको रणनीतिमा भने उ पुगिसकेको थियो ...
यसै क्रममा हिउँदे बिदाको एक महिने बिदा र मनको एक्लोपनलाइ सजिलै पार गर्न उ आफ्नै जन्मथलो ,आफ्नै गाउँ गयो ...
पुस महिनाको अन्तिम रात , चिसोपन आफ्नो उत्कर्षमा थियो..., यसै त चांडो बन्द हुने गाउँको चहलपहल ,,कठ्यांग्रिदो चिसोले झन् छिटै सुनसान बनाइसकेको थियो लाग्थ्यो एक्लोपन हावासंगै बगिरहेकोछ .....
 माघे संक्रान्ति मेलाको लागि आमा पनि पुजाआजा गर्न देवघाट जानुभएको थियो , परिवारका अन्य सदस्य त काठमाण्डौ मै थिए... घरमा उ एक्लै थियो र उसंगै उसका उही पुराना भुलाउन नसेको बिगत र बर्तमान ...
त्यस दिन उसले केहि मातिने सुर गर्यो .. र एक बोत्तल भोड्का र दुई बियरका क्यान ल्यायो ....आफ्ना मनका हुण्डरीहरुलाई त्यहि नशाको सहायताले निस्तेज पार्ने कुटिल चाल रच्दै उसले केहि क्षण मै दुई क्यान रित्तायो .... जसले कुनै सहयोग गरेको जस्तो उसलाई लागेन ..फलस्वरूप उसले ठुलै भाग खोज्यो भोड्का ....
केहि मातिएको भान हुँदै गर्दा एकाएक उसले आफ्नो फोन उठायो ..र त्यहाँ सेभ गरेर राखेको उनको नम्बर खोज्यो .... उसले त्यो नम्बर पहिल्यै नै सेभ गरेको थियो सायाद दोश्रो बर्षको क्रम तिरै होला ,,उसलाई याद छैन ... एउटा उनकै मित्रले उसलाई त्यो नबर दिएकी थिइन् ,,त्यस दिन यता उसको ति मित्र संगको सम्बादका सिलसिला नि शुरु भएका थिए ... एउटा निकै नै असल साथि भन्दा माथि र प्रेमिका भन्दा अलिक तल को सम्बन्धको रुपमा व्याख्या गर्छ उ ति मित्र संगको सम्बन्धलाई ... र उनि बाटै धेरै सल्लाह लिने गर्थ्यो उ ...फोन बाट मनका कुरा भन्ने सल्लाह उसले धेरै पहिला देखि नै पाएको हो तर आँट जुरिरहेको थिएन ...
तर आज रक्सीको केहि मातले उसमा छुट्टै साहस आएको छ ...
"हेलो"
"को बोल्नु भाको ?"
कुनै केटा मान्छेको स्वर आउँदा उ एकाकासी सशंकित हुन्छ ..
"........ छ त्याहाँ ? म उसको साथि बोलेको ..कलेजको .. उनलाई दिनुस ,उनले चिन्छे "
नशाको आवेग केहि शान्त पार्दै ,र निकै समाहिलिंदै उ यी शब्दहरु अभिव्यक्त गर्दछ ..
"छैन" एउटा रुखो शब्द सहित उताबाट फोन काटिन्छ ..
यसले उसलाई निकै रिस उठाउँछ र पुन: फोन गर्छ ..
यसपाली नि उही स्वर आउँछ तर त्यो स्वर कसैबाट प्रशिक्षित भएको ठम्याउन उसलाई कुनै गाह्रो पर्दैन र त्यो स्वर उनको भाइको भएको पक्का पक्कि नि उसलाई हुन्छ ..
"को साथि ? , छैन कोइ यहाँ??"" भन्दै झर्किन थालेसी भने ,,उ पनि तातिन्छ ..
"तँ को होस् ? के हैसियत तेरो ,,ठिक्छ नबोल्ने होईन ,, केहि छैन .. भन्दे हुन्छ हामीले नि सम्झेका छैनौँ कसैलाई ,,घमण्ड नदेखाए हुन्छ ...."
यति भन्दै उ झोक्किंदै फोन काट्छ ... त्यस पश्चात पनि शान्त हुन सक्दैन ...
सान्त्वनाका कुनै केन्द्र नापाएसी उ त्यहि मित्रलाई फोन गर्छ ,,भए भरका सबै घटना बेलिबिस्तार लगाउँछ ...उसलाई थाहा छैन त्यो मित्रको उ प्रति के कस्तो भावना छ र उ उसलाई किन सहयोग र सल्लाह दिन त्यति खुल्ला रुपमा औंछे तर उसको लागि तिनी आफ्ना मनका भावना सुनाउने अन्तरंग आत्मीय मित्र मात्र हो ....
"भाइले आफ्नो कर्तब्य निभाउँदा तिमी यसरी मुरमुरिनु पर्ने कुनै काम नै छैन नि... तिमि भएको भए नि यस्तै गर्थ्यौ .. ,, तिमी उसलाई फेरी फोन गर ,,सरल हिसाबमा बोल .....रिसाएर हुँदैन " मधुरो र मायालु स्वरमा सम्झाए पछि भने उसको रिस पनि धेरै शान्त हुन्छ ,,र उ भाइलाई पनि माफ गर्छ ....
तिनै मित्रले रकम सहयोग गरिन ... रातको समय रिचार्ज कार्ड पाउने कुनै सम्भावना नि त रहेन ... सायद तिनले नि यसै सोचिन ....
दुई चोटी पुरा घन्टी जाँदा नि फोन न उठ्दा ...उ झन् झोक्कियो .. सम्हालिन्दै मेसेज लेखेर पठायो ...
अफ्ना सारा भावना पुरै अटायो त्यो मेसेजमा ....
पठाएको दुई घण्टा हुँदा नि कुनै जवाफ नाएसी भने उसको रिसको पारा निकै बढ्यो ... के गर्ने के नगर्ने उसले सोच्नै ... र हातमा भएको त्यहि मोबाइल ,,भित्तामा नमाज्जाले बज्रिने गरि हान्यो ...
!!ढ्यांग !!
छानामा बिरालो उफ्रेको आवाजले उ झसंग भयो ... एकाएक बिगतका अविरल बगेका दृश्य बाट टाढीदै उ बर्तमानमा आएर रोक्कियो ... आखाँ भित्ते घडीमा पुर्यायो मध्यरात काटेर नि १२ :५० भैसकेको रहेछ ...
एकछिन त झसंग नै भयो ,, ति सबै घटनाक्रमका बेलिबिस्तार देखिंदा ,,त्यो आकृति बिरुद्ध बिरोधको ठुलै ज्वाला उसको मनमा बल्झ्यो,...तर कता कता उनले सिकाएको पाठ र मायाको अनुभूतिको भने उ प्रशंसक नै भएको थियो ........
त्यसदिन पछि उनि संग सम्बन्धित सबै यादहरु मेटाउन उ धेरै सफल भैसकेको थियो ....दुवै जाना एकअर्का प्रति मौन नै रहे ...ति मित्र संग नि उसको वार्तालाप त्यस दिन पछि बन्द नै भए ..... त्यस रातको कुरा तिन जानामा मै सिमित रह्यो सायद ...त्यसबारे कुनै ठुला वा सामान्य चर्चा केहि नसुनिनुले नि यस कुराको प्रत्याभूति गर्यो ......
 तेस्रो बर्षको समाप्ति संगै भने दुरी झन् बढ्यो ...यादहरु क्रम संगै हट्दै गए ..... उ आफ्नै कामकाजी दुनियामा अल्झिन थाल्यो...सायद व्यस्तताले नि धेरै मद्धत गर्यो टाढिन .........तर धेरै दिन पछि जब उसले उनलाई शहर कै कुनै कुनामा एक्कासि भेट्टायो ....मनमा बढेका ति आबेगलाई सम्हाल्न नै उ गाउँ पसेको थियो ......
उसले त्यहि रक्सीको बिर्को खोल्यो र रक्सी मुखमा हाल्यो ...तर म्याद गुज्रेको तितोपनाले एक्कासि पुरानै तितो पना सम्झायो ....हुत्तिन्दै उसले बोत्तललाई झ्यालबाट बाहिर हुर्यायो .... चकमन्न रातमा बोत्तल फुटेको आवाजले उसको मनको आर्तनाद बाहिर ल्याको संकेत गर्दैथियो र सायाद ति बोत्तलका फुटाई संगै उ भित्र रहेको उनको प्रतिमुर्तिको केहि अवशेष पनि चक्नाचुर भएर मुर्तिसंगै ढले होलान..........  
(यस कथाका घटना तथा पात्रहरु काल्पनिक हुन् ,कसैको जीवनसंग मेल खाएमा संयोग मात्र हुनेछ )
                                                                २०७०/११/०१
                                                    CopyRight 2014©बिमोचनघिमिरे !!



 .

Sunday, February 2, 2014

हरेक साँझ !!



हरेक दिन जब साँझ ढल्दै जान्छ
फोटो ~गुगल 
तब सांगीतिक तरङ्गहरु ब्युँझन थाल्छन ।

कतै आँगनमा
गाइरहेको कोइली सरी
कतै नेपथ्यमा
रोइरहेको न्याउली सरी
हरेक साँझ
सङ्गीत रुन्छ
र गीत गाउँछ
मनका अनेक तरङ्गलाई
तरङ्गीत पार्दै
शान्त तलाउमा ढुङ्गा
फ्याकिन्छ
मनका शान्त परेवाहरुलाई
एकसात उडाइन्छ
अनि अनेकन सम्झनाका
ज्वारभाटाहरु प्रष्फुटित हुन्छन मन भरी ।

हरेक साँझ
जब सडक निदाउँछ
शरीर सुस्ताउँछ
कुकुर एउटा आवेग बोकेर
शहर थर्काउँछ
तब उही बेगमा
नदि सुसाएको आवाज सुन्दछु
तारा चम्किए झैं उज्यालो देख्दछु
र चुचुरो गर्जिएको आर्तनाद सुन्दछु ।

हरेक साँझ
बुद्धहरु ब्युँझन्छन
शहिदहरु कराउँछन्
र हरेक गोधुली साँझले
उही साँझ सम्झाउँछ
उही दिन सम्झाउँछ ।

एउटा सङ्गीतमय जमघटमा
हरेक साँझ
उही साँझ मन्चन हुन्छ
उही भावाना प्रस्तुत हुन्छ
कसिलो मायाको साइनो
कसिलो आत्मियताको साइनो
मन्चन हुन्छ त्यस जमघटमा
जसको एक्लो दर्शक भएर
हरेक साँझ, म
बगिरहन्छु स्मृतिका तालहरुमा........ ।।
 २०७०\१०\१७


ShareThis