Thursday, August 24, 2017

म नदी भईदिएको भए ...

स्रोत ~ गुगलमार्फत 

म नदी भईदिएको भए
क्षणहरु, कति उत्कृष्ट हुन्थें होलान !

बनको बिचमा
चंचल मनहरुको माझमा
म नदी भईदिएको भए ;
ती हरेक स्पर्शहरु संगै
प्रफुल्लित हुन्थें होला
छरिंदा मुस्कान ती ओठहरुमा
म सुसाउँदै, प्रेम गीत गाउँथे होला
म नदी भईदिएको भए ।

ति अंग-अंगमा
प्रेम बर्षा गराउंदै
एक्लो निराश ? एक जीवनलाई
म सिंचित गर्थें होला !
न बोली, एकटक हेरेरहेका आँखाहरुसंग
म संवाद गर्थें होला !

यहाँ शब्दहरु मात्र बोल्दैनन
कहिले काहीं तस्विर पनि बोल्छन
मौनता पनि बोल्छ ,
म नदी भईदिएको भए
त्यो क्षण, म पनि बोल्थें
ती कानहरुले बुझ्ने गरी,
ति मनहरुले सुन्ने गरी,
भावनाहरु उर्लिने गरी !

तर अफसोस
म नदि होइन
एक किनारा पो हुँ !
मेरो यहि यथार्थले
बिगत देखि बर्तमान सम्झाईरहन्छ
यहि नदी पारी
मेरो अर्को यथार्थ
 बाँचीरहेछ ... ।।

२०७३/१२/१९


ShareThis