Monday, March 13, 2017

खबरदार




खबरदार
म वस्तु होइन !
तिम्रो एकल निर्णयको चीतामा
इच्छा आंकाक्षाहरुको,
आफ्नो जीवनको
आहुति दिन
म बाध्य छैन !

आफुले पुरा गरेको कर्तब्यहरुको
दम्भ पालेर
म संग त्यसको ब्याज उठाउने
अधिकार तिमीलाई छैन !

म स्वतन्त्र छु
आफ्नो इच्छाको मालिक,
आफ्नो भविष्यको सिर्जना
मेरो स्वबिबेकले गर्दछ!
तिम्रो र तिमी जस्तै अरुको
बन्द कोठा भित्र गरिएको निर्णयले होइन !



तिम्रो पुस्तौनी इज्जतको खातिर
पुरातन रितिरिवाजको आडमा  
कथित नियतिलाई दोष दिंदै
मेरो जीवनलाई, 
अन्योल भबिष्य तर्फ ढकेल्दै
अनजान, रुखो हातहरुमा
आँखा चिम्लेर सुम्पिन
तिमीलाई लज्जाबोध हुँदैन ?
कुनै सङ्कोच लाग्दैन ?
किन काँप्दैनन् तिम्रा हातहरु ?
किन तिम्रा आँखा सम्पत्ति खोज्छ ?
मेरो खुशी खोज्दैन ?

सुनको पिजंडामा पंक्षी
हाँसेको देखेको छौ र कतै ?

म स्वच्छन्द जीवन चाहन्छु
चाहन्छु खुला आकाश मुनी रम्न
मेरो भविष्यको निर्णय
मेरो मन मस्तिष्कले गरोस
तिम्रो एक लहडले होइन !
मेरा बाटाहरु,
मेरा सर्तहरुमा बनुन !

के सक्छौ ?
मलाई यो अवसर दिन ?
त्यो अधिकार दिन ?

पर्दा उघारेर हेर
 म पनि मानव हुँ !
तिमी जस्तै,
मेरो छुट्टै अस्तित्व छ !
मेरो पनि आफ्नै आवाज छ !
तिमीले सोचेजस्तो
मोलमलाई गर्दै, लिलाम हुने
वस्तु होइन म
  खबरदार !!

२०७३/१०/४ मंगलबार



No comments:

Post a Comment

ShareThis