अचेल
हल्ला बिहान बिहानैबाट चल्छ, हावाको सट्टा
चराहरु हल्ला टिप्छन र आफ्ना बचेरालाई खुवाउन दौडिन्छन
यहाँ बिहान बिहानै, चाराको सट्टा !
चराहरु हल्ला टिप्छन र आफ्ना बचेरालाई खुवाउन दौडिन्छन
यहाँ बिहान बिहानै, चाराको सट्टा !
अचेल
टेबल घडीको
अर्लाम्ले भन्दा
रेडियोले एकाबिहानै फुक्ने, हल्लाहरुले ब्युँझिन्छ मान्छे !
यिनै हल्लाहरुलाई आत्मसात गर्दै,
यिनैका मन्त्र जप्दै, दैनिकी शुरु हुन्छ !
चिया गफ, च्याट, ट्वीट, स्टाटस
हल्लै
हल्लाले भरिन्छन !
अचेल व्यस्त छ समाज, यिनै हल्लाको
प्रचारमा !
कतै हल्ला, गगनचुम्बी भवनको बाटो हुँदै
डलरको गन्ध बोकेर आउँछ,
आफ्ना बिचको फाटो लम्भ्याउँदै,
पराई खेल्ने मैदान बनाउँछ !
कतै हल्ला, टाउको माथिको छानो
खाली थालको खाना र नाङ्गो आङको कपडाको
आश्वाशनको रुप लिन्छ
तर उही अमिलो थुक निल्न बाध्य बनाएर जान्छ !
अचेल
बिकास, राष्ट्रवाद पनि हल्लामा अटाउंछ
सहअस्तित्व, भाइचारा हल्लामा नै हराउँछ
नैतिकता र सुशासन
पनि हल्लै
बीच हराएको धेरै भयो ... ।
पराइले छोडेको स्वार्थरुपी हल्लाको तालमा
आफ्नाहरू कित्ताकाट गर्दै
आ-आफ्नो डम्फु बजाउँछन
अनि सुटुक्क खोलानालाहरुको, सिमानाका धर्साहरुको लालपुर्जा,
नागरिकताका
बोकेका झोलाहरु,
रातारात सिमापारका मण्डीहरुमा
लिलाम हुन्छ !
धेरै भयो
हल्लाहरु महल, शहर, गल्लि चोक हुँदै
गाउँघरमा घुस्न थालेको
अचेल खाट देखि लिएर घाट सम्म
हल्लाको पकड दरिलो छ !
उहिल्यै भूपीले भनि गएको
यो हल्लै हल्लाको देशमा
अचेल, हल्लाको साम्राज्य अझ फैलंदो छ,
कान छाम्नेहरुको कमी संगै
आयातित हल्लाहरुको ब्यापार चर्को छ !
कता कता डर लाग्छ;
यी हल्लै हल्लाको साम्राज्यमा
हामी, नतमष्तक भएर नाच्दै
गर्दा
कुनै दिन यो देशले पनि,
हल्लाकै भरमा
सुटुक्क बसाई, सर्ने त होइन
... ?
२०७३/०६/०९/आइतबार