Saturday, July 26, 2014

मैले लेख्न छाडिसकें



तिमीले भनेपछि
मैले थन्काएका कलम,पाना
खोज्दै केहि लेख्ने प्रयास गरें
तर आज मेरा हात लेख्न मानिरहेका छैनन्
दिमाग केहि पनि सोच्न जाँगर देखाउंदै छैन
पाना खालि नै रहे
कलम त्यसै लडिरहे

म सम्झन्छु ति दिनहरु
जब पानाहरु नपुग हुन्थे
भावनाहरुको बेग संगै शब्दहरु ताँती लाग्थे
तर आज म संग कलम छ
तर शब्द छैन
भावनाहरु छन्
तर ति पानामा पछारिन चाहिरहेकाछैनन

बेला बेला म तिमीले गरेको आग्रह सम्झन्छु
झस्कन्छु ति सम्झनाहरु संगै
तर माफ गर्नु
म संग अब उही जाँगर रहेन
उही उत्साह रहेन
म भित्र पराग सेचन हुँदै
शब्दहरु फल्न छाडिसके
भावनाका मनमोहक सुबासहरु
फैलिन छाडिसके

कृत्रिमताको सेरोफेरोको जालमा फस्दै
मेरा सिर्जनाहरु मरिसके
कति जन्मेपछि मरे
कति नजन्मिदै मरे
तर,
अब मेरो शरीरसंग प्रसव बेदना सहेर
कुनै सिर्जना जन्माउने सामर्थ्य छैन
र तिनै सिर्जनाका घांटी थिच्दै
तिनलाई मार्ने बल यी हातहरुबाट हराइसके
आफ्नै आगाडी आफ्ना सिर्जना मरेको हेर्ने
मेरा आँखाहरु
अब आँशुका भेलहरुमा डुब्न चाहादैनन
त्यसैले अचेल मसि पानामा पोखाउने
सोख पाल्न छाडिसकें मैले

मेरा सिर्जनाहरु मर्दा
ठुलो उपलब्धि ठान्ने
मेरा आँखाहरुबाट अविरल धारा चुहिंदा
जग उचालेर हास्ने
ति पिचासहरुबाट धेरै टाढा राख्न चाहन्छु
म मेरा सिर्जनाहरु
त्यसैले मलाइ माफ गर्नु
म तिम्रो आग्रह बमोजिम
अब कुनै नयाँ सिर्जना जन्माउन सक्दिन
कलम हुँदै पानाहरुमा तिनलाई डोर्याउन सक्दिन

अब तिमीले नि भुल्नु ति स्वर्णिम दिनहरु
ति हाँसो ति खुशीहरु
समय बदलियो तर युग बदलिएन
तसर्थ नौलो पालुवाको आश नपाल
फूलहरु ओइलाइसके
कोपिलाहरू मरिसके
पानाहरु च्यातिए,
मसिहरु सुकिसके
र मैले लेख्न छाडिसकें !!
                           Copyright 2014© बिमोचन घिमिरे
  २०७१/०४/१०

ShareThis