Thursday, April 25, 2013

कथा सुनाउन चाहन्न ॥

कथा त मेरा पनि छन्
मन भरि सङ्गाली राखेका
तर मित्र म सुनाउन चाहान्न
तिमीलाई बोझ थपेर
गलाउन चाहन्न ॥

आफ्नाले रेटेका कथा
नियतिले ठगेका कथा
पुर्दा पुर्दै पनि संधै खालि रहने
यता टाल्दा उता भत्किने
प्वालै प्वालको कथा
के सुन्छौ तिमी ??
भो ! मित्र मलाई कर नगर
म र मेरो कथा संधै मसंगै होस्
म कुनै श्रोता बनाउन चाहान्न
म कथा सुनाउन चाहन्न ॥

बरु तिम्रा कथाहरु मलाई सुनाउ
मन हलुको हुनेछ
पिडाहरुमा कहिँ - कतै मलम लाग्नेछ
तर म जे छु ठिकै छु
तिमीलाई थप पिडा दिन चाहन्न
म कथा सुनाउन चाहन्न ॥

तिम्रो , उसको सबैको कथा
म सुन्न लालायित छु
म पात्र भएर होईन
कथा- कविता केहि लेख्नु पनि छैन
म सिरिफ तिम्रो मन हलुका पार्न चाहन्छु
तिम्रा पीडाहरू बाँड्न चाहन्छु
तर आफ्ना कथाको भारि बिसाएर
तिम्रो काँध दुखाउन चाहन्न
बिन्ति मित्र मलाइ जोड नदेउ
म आफ्ना पिडा सुनाउन चाहन्न ॥

तिमी भर्खर बुझ्दै छौ
नपाउँदाको पिडा
मैले त दशक बिताइसकें
खालिपनामा एक्लै -एक्लै
कयौँ रात कटाई सकें
तिमी काँचै छौ म भन्दा
म केहि पाको छु
त्यसैले तिम्रो कलिलो काँधमा
दशकौँको भारी बिसाउन चाहन्न
भो ! मित्र
म कथा सुनाउन चाहन्न ॥

तिम्रो आत्मियताले मन भरिएको छ
मिल्दो जुल्दो बेदना सुन्दा मन रोएको छ
तिमी पनि कुरा लुकाउँछौ
तर मित्र बिन्ति नलुकाउ पीडाहरु
म त अभ्यस्त भैसकें
तिमी कृपया नक्कली हाँसो नहाँस ॥
२०७० / ०१ / ०७
विमोचन घिमिरे !!


 Copyright © 2013 बिमोचन घिमिरे


ShareThis