Monday, January 4, 2016

ऊ गयो भन्दिनु



आश त छैन
तर कसैले फेरी सोधिहाले
मेरो बारे
यी केहि शब्दहरु खुलस्त भन्दिनु
धेरै समय पर्ख्यो रे उसले
आज ऊ हिंड्यो भन्दिनु ।

समयका बहावहरुबाट अलग्गिएर
धेरै बेर किनारामा उभियो भन्दिनु
कसैले सोधे मेरो बारे
आएको थियो, गयो भन्दिनु ।

पुरानो चौतारीमा,
धेरै दिन आएर बस्यो रे
पुराना स्मृतिहरु कोट्याउँदै
एक्लोपनको अत्यास मेट्यो रे
तर
बहावहिन संवादहरु बीच
भावानाका कसिला बन्धनबाट,
निस्सासिएर एकदिन
उसले पाइला मोड्यो भन्दिनु
उ गयो भन्दिनु ।।

२०७२/०२/२४  बिमोचन घिमिरे !!  




ShareThis