Sunday, October 29, 2017

कथा र पात्र ( Dear, तिमी -३ )


Dear, तिमी

अन्तराल सायद धेरै नै भयो होला अगाडिको एउटा पत्र र यस पत्र बीच । यस अघि नै भनेको थिएँ नि समयले पनि निश्चित समय लिन्छ। सायद भयो त्यहि; समयले आफ्नै लागि पनि लामै समय लियो ! शब्दहरुलाई शब्दसंग जोड्न आज सायद समय मिल्यो र हातहरु लालायित भइरहेका छन् लेख्न । भनिहालें; लामो अन्तराल ! मेरो लागि पनि समय एउटा लामो अन्तरालबाट गुज्रियो यो समय, सायद तिम्रा लागि पनि ...
समयको एउटा लामो अन्तराल कटाए जस्तो भान यो बीच हाम्रो मानसपटलमा गुन्जियो जस्तो लाग्छ ! यसो फर्केर हेर्दा जीवनको एउटा गहन यात्रा कतै गन्तब्य नजिक पुगेको जस्तो र सो संगैको केहि पाएको जस्तो केहि गुमाएको जस्तो ! एक जीवन चक्र, समय चक्र ।

भन्छन जीवन एउटा कथा हो रे अनि हामी पात्र । अनेक रङ्ग, ढंगमा जीवनको कथा चलिरहन्छ । यसो पनि भन्छन, आखिरमा हामी सबै कथा बन्छौं; सायद आखिरमा हामी आफै पनि जीवन बन्छौं, जीवन पछी ।एउटा कथा भित्रको पात्र बन्दै आखिरमा आफै एउटा कथा बनेर अरु पात्रको लागि जीवन हुने यो लामो यात्रा रहेछ । कति पात्रहरुको भूमिका हामी खेल्छौं, कति आरोह- अबरोह बाट ति पात्रहरु अगाडी बढ्छन । यिनै पात्रहरु बिभिन्न रुपमा, बिभिन्न समयमा कति अन्य पात्रहरु संग ठोक्किए होलान, कति अन्य पात्रहरु संग छुट्टिए होलान, कति पात्रहरु संग अझै ठोक्किन बाँकी नै होला र छुट्टिन पनि बाँकी नै होला । म यिनै पत्रहरुको चित्र जीवनको क्यानभासमा, एकान्तमा उतार्न खोज्छु कहिलेकाहीं, कोहि को धुमिल आकृति मात्र बन्छ, कोहि बर्षौं पछी पनि दुरुस्तै आकार लिन्छन; अनि मनमा एउटा बिल्कुलै भिन्न अनुभव बिकसित हुन पुग्छ त्यसघडी जब ति पात्रहरु हिजो जस्तै आज पनि उही भावभंगिमा मेरो सामु उभिन्छन, उही पुरानो वातावरण ताजा भएर नाच्छन, उही रंगमंच र उही पात्रहरु र उ कथाको मन्चन... जीवनको एउटा सौन्दर्य, यहाँ न कथाहरु मर्छन न पात्रहरु नै , भुल्न सकिएला, अरु कथाहरुको भिडमा ति कथा गौण हुन पुग्लान तर अहँ मर्दैनन कथाहरु , मौनताको एक पलमा जुनकिरीहरु नाचे जस्तो ति कथारु नाच्छन, ति पात्रहरु बल्छन र हाँसो-आँशु जे गाँसिएको छ बहन्छ, कुनै जोड बिना, आफ्नै संगीतमा ।कति पात्रहरु संगै हुँदा पनि टाढा भएको लाग्छ, कति जति टाढा हुन, आफ्नै मनमस्तिष्कमा रहिरहन्छन, कति संग आँखै अगाडी पनि भावनाहरु साटीदैन, कति संग भेट हुनै पर्दैन, ति पात्र संधै अगाडी उभिएकै भान हुन्छ, अनि मन त्यसै खुल्छ एकलै भए पनि कोहि भए जस्तो । कति छोटो समयमै अभिन्न पाटो बन्छन जिन्दगीको, कोहि कहिल्यै आत्मीय लाग्दैन । खैर, पात्रहरुको यो बिज्ञान र यसको रसायनको बिषयमा जति अनुसन्धान गरेर, जति शब्द थपेर भन्न खोजे नि बिभिन्न आवरणमा बिभिन्न पात्रहरुको चर्चा सकिंदैन किन भने जब हामी आफै कथाको एउटा अङ्ग हौँ भने यो कथा हामी रहुन्जेल लेखि रहिन्छ र हामी संग सम्बन्धित रहुन्जेल बढिरहन्छ तसर्थ पात्र त्यहि अनुरुप आउंछन र बाँच्छन । त्यसैले पात्रहरुको सम्झना मनमा राख्दै अगाडी बढ्नु नै उचित हुन्छ ।

जीवन आफैमा कथा हो; नौलो भएन अब यो वाक्यांश तर अचम्म हामी कथा बीच पात्र भएरै पनि आफै कथा लेख्न तल्लिन हुन्छौं अनेक पात्र कल्पिदैं वा भएकै पात्रहरुलाई आफ्नै कम्पनाशिलतामा बिभिन्न आवरणमा सम्झिदै, बिभिन्न घटनाक्रममा ढाल्दै उनीहरुको भविष्यको आंकलन गर्छौं । कल्पनाशीलताको यो कुम्भमा कहिले वास्तविकताले कल्पनाशीलतालाई अँगाल्छ, कहिले कल्पनाशिलताले वास्तविकतालाई, र यी दुवैको आपसी सम्बन्धमा म आफै यी बिचको मधुरो सीमारेखामा हराउन पुग्छु । बेला-बेला कथाहरु म संग बिभिन्न रुपमा र भावमा आफ्नो अस्तित्व खोजिरहेको भान पार्छन, कतै यथार्थमा समाहित हुन खोजेको जस्तो संदेश प्रबाह गर्छ अनि निशब्द हुन्छ; के मेरो कल्पनाशीलताले कतै आकार लिंदैछन ? बर्षौ अगाडी सोचेका कथाहरु के यथार्थमा परिणत हुँदैछन ? के रंचिदै छ एउटा नयाँ कथा यिनै कलपनाहरु संग मेल खाने गरी ? भविष्यको अन्यौलतामा बिगतको कल्पना र बर्तमानको घटनाक्रमको अनौठो सङ्केत आखिर के हो ? के कथाहरु वास्तविक रुपमै जीवन्त हुन प्रसव समय बीच गुज्रिदैछन ? अनि पात्रहरुको मानसपटलमा के खेल्दै छ ? के हुँदै छ ? म आफैले कोरेको कथाको, आफैले सोचेका पात्रको भावना, आज केलाउन असमर्थ भएर निरिह भइरहेको जस्तो लाग्छ ।

धेरै भयो ति कथाहरुबाट मैले आफ्नो ध्यान हटाएको र ति पात्रहरुसंग भेट गरेको, त्यसैले आज तिनीहरु संगको आत्मियतालाई मैले आफ्नो अनुभव अनुरुप ढाल्न सक्दिन न ति पात्रहरु मलाई वास्तविकता अनुभूति दिलाउन न नै आज सक्षम छन् । उनीहरु आफ्नै संसारमा आफ्नै योजना र आवश्यकताहरुमा व्यस्त छन र आफ्नै भबिष्य र बर्तमान संग खुशी होलान । आज ति मेरा लागि र म तिनका लागि बिगत, हुन बाट जोगाउने वा बनाउने , आदि इत्यादि प्रयोजनको लागि मात्र कुनै अवस्थामा वा समयको कुनै घडीमा मानसपटलमा जीवित होलान वा सोचे भन्दा बिपरित बिर्सन नदिने, सम्झिरहने पाटोको एउटा आधार होलान , जे होस् , जस्तो होस् – ति आफ्नै र म आफ्नै आवस्था बाट आज लम्किरहनुपर्ने बाध्यता वा समय को माग छ ।

जब किताबको कथा पढ्दै हुन्छौं, तिनीहरुले हामीलाई सहयोग गर्छन समाप्त भएर । तर यो जीवन कथाको अन्त्य हामी हुँदै, हुँदैन । हामी रहुन्जेल यसका हरेक घुम्तीहरुको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हामी साक्षी हुनै पर्छ र यसले ल्याउन सक्ने भावानात्मक परिवर्तनलाई स्वीकार्नैपर्छ, यसका पात्रहरु संग भौतिक वा काल्पनिक,वा भावानात्मक रुपमा बाँधिनैपर्छ, यो कथाको एक नियम हो, भागेर जान सकिन्न बरु यिनले तेर्साउने प्रश्नहरुलाई सहज रुपमा लिंदै, उत्तरहरु दिंदै वा खोज्दै जान सकिन्छ । आखिरमा सबै कथाले, सबै पात्रले आफ्नै नियति र आफ्नै समय बोकेर आएकै हुन्छ । एउटा नदि सरि यी बग्लान, कुनै तारा सरी मौसम अनुरुप सर्लान, कुनै वृक्ष सरी छाहरा बन्लान तर जे जस्तो हुन हावाका झोकाहरु , दिन रात हरु समान नै हुन, ति संग गाँसिएका कथाहरु आफ्नो सोच र भोगाई अनुरुप फरक होलान । आउने परिवर्तन चाहेर वा नचाहेर जसरी पनि आउन सक्ने नै भयो । तर जब कुनै कतै बाट जोडिन्छ कथा र पात्रहरु असर छोड्छन, कुनै प्रयोगशालामा कुनै रसायन बिचको मिलन वा बिछोडले ल्याएको फरक परिवर्तन जस्तै हो यो कथा र पात्रहरुको सम्बन्ध । चाहे जीवनको बीच भागमा परेको कथा होस् वा आफैले कल्पेको कथा र पात्र । भविष्यको गर्वमा समाहित बिषयलाई बर्तमानमा उत्साह वा निराशाको बादलमा सुताएर अनेक सपनाको जालोमा हराउनु भन्दा, आजको विकासक्रमको परिवर्तनलाई कथा र पात्रकै धार तर्फ धकेल्दै , बदलिँदो परिस्थितिको गहिराइलाई विश्लेषण गर्दै रहस्यको उदघाटनको लागि धीरताका साथ समयको बाटो पहिल्याउनु नै बुद्धिमतापूर्ण हुन जाला ! नत्र त सोच्न र कल्पिन छुट भएको यो कथामा कति पात्रहरु अन्यौलतामा हराउलान, कति प्रतिको सोच परिवर्तन होला कति संग को आत्मीयताको त्यो इतिहासमा नयाँ मोड आउलान । त्यसैले कथाले कस्तो मोड ल्याउँछ, पात्रहरु कहाँ , कसरी कस्तो मोडमा भेट्टीन्छन त्यसको अहिले निराकरण गर्न सकिन्न किन भने पर्दा पछाडीका गतिबिधि बिच के हुँदैछ वा होला बेखबर हुनु स्वाभाविक हुन्छ । भोलि कथा र पात्र हरु पूर्ण रुपमा फरक हुन पनि सक्छन , कथाले नसोचेको घटना निम्त्याउन पनि सक्छ अनि अन्य कुरा तपशिल मात्र रहेर हराउन पनि सक्छन । सबै भबिष्यलाई नै जिम्मा लाउदै आज यो कथाको मध्येमा शुरु भएको कौतुहलता, रहस्यको उत्सुकता संग सकेसम्म रमाउने प्रयास गर्नु नै नितान्त बुद्धिमतापूर्ण नै होला ।

Dear, तिमी
निकै लामो अन्तरालमा निकै धेरै गुम्सिएका रहेछन । यदि कुरा बुझ्ने प्रयास भयो भने यो स्वाभाविक नै होला । यदी चाह भयो भने सरलीकृत गर्ने माध्यम पनि भेट्टाईएला । शब्दको प्रबाहले जराहरु को बदलाव देखाउदैन होला सोचको आयतनको फराकिलो कल्पना कोर्लान । शब्द सरल छन् तर कथा र पात्रको रस्साकस्सीमा शब्द धेरै नै बगे र बगिरहन्छन । कथाले समय जुराएछ भने पात्रहरुको कथा सम्झाउने, सम्झिने अवसर प्राप्त नै होलान नत्र आवाजहरुले बाटो नपहिल्याए पनि शब्दहरुले, चित्रहरुले ठाउँ भेट्टाउछन, भेट्टाउलान । जीवनको कथा सायद अझै लामो छ, पात्रहरुले अझै धेरै देख्न, बुझ्न र सम्झिन बाँकी छ । त्यति सम्मलाई मिलेर यो कथाका हरेक शब्दपान गर्दै हाँसो, उत्सुकता, कौतुहलता सहित सोचमग्न हौँ ।फर्केर हेर्दा रहने कतै कोरिएका कथा र पात्रहरु त छँदैछन् र एउटा स्वर्णिम अध्यायको शुरुवात र अन्त्यको सम्झना ।। शुभकामना ।।
उही म
२०७४/०७/१२   

  

ShareThis