Sunday, September 17, 2017

म द्वार खुल्ला राख्छु



तिमी, तिमी नै भएर आउनु
म द्वार खुल्ला राख्छु
निसंकोच आफैलाई खुलाएर आउनु
 म द्वार, खुल्ला राख्छु ।।

आँखामा निश्चल, भावना सजाउंदै
ति पहिरन बीच, आफैलाई बचाएर,
तिमी, मधुमास बोकेर आउनु
 म द्वार, खुल्ला राख्छु ।।

सडकका रंगहरु लत्याउँदै
घामको राप, जुनको शितलता पोतेर
तिमी घुम्तीहरुमा, मुस्कुराउँदै आउनु
 म द्वार, खुल्ला राख्छु ।।

आफु भित्रको, त्रासको पर्खाल भत्काउँदै
नदि झैं, आफ्नै सर्तमा बगेर
तिमी, तिमी नै भएर आउनु
 म द्वार खुल्ला राख्छु ।।

२०७५/०६/०१



Monday, September 4, 2017

तिम्रो बिदाईमा ...


तिम्रा असिमित रहरहरुलाई
कथित "बाध्यताको" खोल ओडाएर
पोल्टा भरी,
सहानुभूति र शुभकामना थुपारेर
"म फर्की आउंछु है"
आश्वाशन बाँड्दै
कहिल्यै नआउने गरी
हात हल्लाउंदै
बिदा माग्दै गर्दा;

दुई छाक टार्न कै लागि
ऋण भारी उतार्न कै लागि
मृगतृष्णाहरु संग जीवन धान्दै गर्दा
जवानीको
 पूर्णकालीन समय बेथित नगर्दै,
खाली फर्किएको
त्यो चिसो निर्जीव हातले
तिम्रो बिदाईमा
 तिमी उभिएको केहि परबाट,
 गुडिरहेको बाकस भित्रबाट,
तिमीलाई;
 गिज्याईरहनेछ ।।

२०७३/१०/१४

ShareThis