Thursday, August 3, 2017

आमा त बुढी हुनुभएछ ।।


दु:खका मार्मिक कथा
संघर्ष र ब्यथाका कथा
सुन्दै हुर्केको म ।

 मेरी आमा बुहारी भई भित्रेको कथा
हामी सन्तानलाई हुर्काऊंदाको पिडा
मेलापात, घाँस दाउरा देखि
 शहरको भिडभाडको वृत्तान्त !
ति कथाहरु सुन्दा
कतै मुटु काँप्थ्यो,
कहिँ रिसका ज्वाला उम्लिन्थे,
कतै गर्वले छाति फुल्थे ।

 म मेरी आमालाई हेर्थें,
 सबैभन्दा सुन्दर देख्थें,
 सबैभन्दा बलियो देख्थें,
  सबैभन्दा मायालु देख्थें ।

समयको एउटा लामो अन्तराल
सात समुद्रपारी
आमाको तस्विर हेरें;
 ति काला कपाल, सेता भएछन,
अनुहार चाहुरिएछ
"आँखा कम देख्छु"
"जीउ दुखिरहन्छ"
 आमाका बचन कानमा ठोक्किए...

आफ्नो सन्तानको लागि जिउँदा जिउंदै
हाम्रा खुशीमा आफ्ना दु:ख लुकाउँदा लुकाउँदै
न आमाले कहिल्यै भन्नुभयो
 न हामीले कहिल्यै नियालेर हेर्यौं;
 हाम्रो प्रेरणाको स्रोत,
मायाको धरोहर,
 एउटा जिउँदो इतिहास,
हाम्री आमा त बुढी हुनुभएछ ।।

२०७४/०४/१९

ShareThis