Monday, June 29, 2015

ऊ मरी !


हल्लाइनु र लड़ाईनुको
दैनिक बाध्यताबीच
मृत्युको पर्खाई थियो होला
तर मृत्यु थिएन ।

आत्मग्लानीका रापहरुलाई
गरीबिको कसिलो बन्धनले निमोठेर
अनेकथरी मानिसहरुको,
तातो स्वास र भार बोकेर
व्यस्त शहरबीच उभिएको
चारकुने अन्धकार भित्र
स्खलित करौडौ नवजात थोपाहरुजस्तै
आफ्नो गुम्सिएको परिचय बोकेर
बेनाम बाँचिरहेकी ऊ
जब
मृत्युको आलिङ्गन बोकेर आएको
नौलो हलचलसंगै गइन
आफ्नो शरीर असरल्ल छोडेर बिलाइन ।

देखेर मुख मिठ्याउनेहरु
परिचित थिए
हरेक कुनाकाप्चा, चुलीहरु सित
तर अपरिचित उसको मौलिक परिचय
ऊ संगै बिलायो
बेपत्ताहरुको सुचिमा ।

तर बाँचीनै रह्यो
बाउआमाको भोको पेट
भाइबहिनीको अधुरो पढाई
र उसका टुहुरा सपनाहरु ..... ।।

२०७२/०३/१४ © बिमोचन घिमिरे


ShareThis