Tuesday, December 5, 2017

असुरक्षित शब्दहरु


कुनै रात्रीकालीन जमघटमा
एक कान, दुई कान हुँदै
चुपचाप
 शब्दहरुको लिलामी भएछ !
संगै बिकेछ्न
पवित्र भावनाहरु
 प्रत्येक चुस्कीमा ।

विश्वासका जग हल्लिएका बेला
जब सिङ्गो छत बजारिन्छ
शब्दहरु कसरी सुरक्षित रहलान ?

उडिरहेका बाजहरु
टप्प-टप्प टिप्दै, शब्दहरु ;
भतेर खान लालायित हुँदा
कुरुक्षेत्रमा लडिरहेका भिष्म सरह
निरीह शब्दहरु,
कसरी परिचय लुकाउँदै
अस्तित्व जोगाउँदै
 सयर गर्लान, भावनाका डुङ्गाहरु ?

प्रत्येक हरफहरु,
एम्बुसको जालमा परेर
 क्षतविक्षत, भए भने ?,
 कसले दिन्छ उत्तर ?,
 तेर्सिएका प्रश्नहरुको ?,
 रेटिएका यथार्थहरुको ?

क्षेत्राधिकार नाघ्दै
 मोलमोलाईमा रमाउँदा;
 ति नङ्गाइएका शब्दहरुको,
 चित्कार किन सुनिएन ?
बन्द कोठामा बारम्बार
      भावनाहरु बलात्कृत हुँदा     
  मानवता किन जागेन ?

के ?
आज तिनका भयभित आँखा
हेर्ने सामर्थ्य छ ?

निमन्त्रणा छ, हेर्न आउनु;
कति डराएका छन, शब्दहरु
कुनै चियागफ भन्दा पनि
 सस्तो भए जस्तै;
 कति अत्तालिएका छन !

आफ्नै आँखा अगाडी
आफु बेचिएको, देखेका
मेरा
    ति असुरक्षित शब्दहरु ।।

२०७४/०८/१९

No comments:

Post a Comment

ShareThis