Thursday, April 14, 2016

उसको कथा



खुल्दै थियो ऊ
जीवनका अभयवहरुसंग
जुड्दै थियो जीवन, जीवनसंग
सडकहरु थपिदै थिए
पुलहरू बन्दै थिए
बाहिरिदै थियो ऊ सुस्तरी,
आफ्नै परिवेश भन्दा बाहिर
संसार नियाल्दै थियो ।

मधुर स्वर, अनेक हाउभाउ
खुशी प्रष्ट झल्किन्थ्यो
 सायद, साथ दारिलो पाएको आश थियो,
जीवनमा अनेक रङ्ग थपिदै थियो,
तर खोई, भयो के ?, ऊ बेखवर छ
आयो भेल कताबाट ?, उ चकित छ
बगायो सारा सम्भावनाका ढोकाहरु
मेटियो बनेका सुन्दर आकृतिहरु
प्रकृति उजाड बनाउँदै ।

अब सायद, सुनिदैन त्यो मधुर आवाज
देखिदैन त्यो चंचल स्वभाव
कोईली फर्कियो पुन: आफ्नै परिधिभित्र   
ऊ रमाउने बसन्त, सायद अब आउँदैन ।।

२०७३/०१/०२ , बिहिबार



Tuesday, April 5, 2016

भारी भएकाछन


मानिस त जान्छ
शब्दहरु रहिरहन्छ
यहाँ बर्णन के गरूँ ?
ति पुराना शब्दहरु, भारी भएकाछन ।

भन्नेहरुले त बिर्सेहोलान
अचम्म सुन्नेले याद गरिरहेछ
बिचरा अचेल
ति यादहरु पनि, भारी भएकाछन ।

त्यो रंगमंच भित्र अटाएका शब्द
गाँसिएका वाचा
अचेल आँखा अगाडी छट्पटीएको भेट्छु
सायद तिनलाई झुठहरु, भारी भएकाछन ।

कतै शब्द आँशु सरह पोखिन्छन
कतै हाँस्ने त हाँसिरहेकै होलान
कसैलाई भने
ति पुराना मुस्कानहरु, भारी भएकाछन ।

बुझ्नेले बुझिहाल्छ
नबुझ्नेलाई बुझाउने माध्यम छैन
यो लेखकलाई अचेल
यिनै लेखाईहरु, भारी भएकाछन
 ति पुराना शब्दहरु, भारी भएकाछन ।।

२०७२/१२/१२ बिमोचन घिमिरे


ShareThis