बिमोचन
घिमिरे
मदेशले
नपाएको मुलभूत अधिकार भनेको आत्मसम्मान हो ! कालो बर्ण देख्दैमा धोति, बिहारी, मदिशे भन्ने
प्रबृत्तिले नै मदेशी समुदायमा आफु हेपिएको भावना जागृत गराएको जस्तो लाग्छ !
सामाजिक रुपमै विद्यमान यो समस्याले सरकारी कार्यशैलीमा पनि प्रभाव पार्यो र
मदेशी समुदायलाई दोश्रो दर्जाको नागरिक सरह वा बिदेशी सरह हेर्ने क्रम बढ्यो
।
त्यो बिगत
थियो तर अहिले समय बदलिएको छ; सामाजिक चेतना र आपसी सम्पर्क बढे संगै हिजो रहेको त्यो सोच बिस्तारै
हट्दै गएको छ । नागरिक शिक्षा र चेतनाको स्तर निकै माथि पुगेको छ जसले गर्दा
आज कसैलाई हेप्ने वा रुप, जात, लिङ्ग, बर्ण को आधारमा कसैलाई भिन्न ब्यबहार गर्ने प्रवृत्तिमा
क्रमिक रुपले कमि आउंदैछ । राज्यले बनाउने योजना, कानुनहरुमा समेत बिभेदको अन्त्य
र समान पहुँचको अवधारणाको बिकास भैरहेको छ र हुने क्रम अझै जारी नै छ । हालै
जारी भएको नेपालको संबिधानले पनि समानता र विभेदको
अन्त्य सहितको बहुधार्मिक, बहुजातीय, बहुसाँस्कृतिक, बहुभाषिक राज्यको परिकल्पना
गरेको छ । जात, धर्म, भाषा, लिङ्ग, बर्ण को आधारमा हुने भेदभाव अन्त्य गरी राज्यका
हरेक अङ्ग, क्षेत्रमा समान अधिकार, पहुँचको परिकल्पना र ब्यबस्था यस संबिधानले
गरेको छ । पिछडीएका समुदाय, क्षेत्र, लिङ्ग, बर्ग सबैलाई समान पहुँचको अधिकार प्रदान
गरी समावेशी, समानुपातिक प्रतिनिधित्वको सुनिक्षितता गरेको छ यस संबिधानले । केहि
मतभेद होला तर सारभूत रुपमा हेर्दा नेपालको संबिधानको भावना/मर्म कुनै पनि ढङ्ग वा
बहानामा हुने विभेदको अन्त्य गर्दै समान, समावेशी, लोकतान्त्रिक, स्वतन्त्र
राज्यको निर्माण नै रहेको देखिन्छ ।
विभेद
एउटा सामाजिक रोग हो । समाजमा विद्यमान अशिक्षा, गरिबी, चेतनाको कमी नै विभेदको कारक
तत्व हो । अशिक्षित समाज सदैब विभेदको शिकारमा पर्छ । जबसम्म समाजमा नागरिक
चेतनाको स्तर निकै न्यून रहन्छ तबसम्म अधिकार/कर्तब्य, सामाजिक एकताको महत्व र यी
पक्ष बीचको अन्तरसम्बन्धबारे जनमानसमा कुनै प्रकारको ज्ञान हुँदैन जसले गर्दा
समाजमा जातीय, बर्गीय खाडल बढ्दै जान्छ र सामजिक विभेदको आयतन बढ्न जान्छ । नागरिक
चेतनाको कमी संगै समाजका आर्थिक, सामाजिक, राजनीतिक क्रियाकलापमा नागरिक
सहभागिताको आधारशिला तयार हुँदैन जसले गर्दा राज्यले प्रदान गर्ने सेवासुविधाको
लाभ पाउनबाट सिङ्गो समाज नै बञ्चित हुन्छ र राज्य शक्तिमा व्यक्तिको पहुँच पनि
शुन्य प्राय नै रहन जान्छ । तर जब जब समाजमा नागरिक चेतना बढ्दै जान्छ तब तब
सहभागिता बढ्दै जान्छ र समाज आधुनिकता र बिकासको बाटो तर्फ लम्किन थाल्दछ । आहिले
हामी पनि यहि मोडबाट गुज्रिरहेका छौं । बिभिन्न राजनीतिक आन्दोलन, युद्द संगै
नेपाली समुदायमा चेतनाको लहर बढ्यो र बिभिन्न उथलपुथललाई पार गरी नेपाली समाज
निरङ्कुश र सामन्ती युगको/सोचको क्रमिक रुपले अन्त्य गर्दै अगाडी बढिरहेको छ र
यसैको फलस्वरूप देश समावेशी लोकतन्त्रको युगमा प्रवेश गरेको छ जसलाई एउटा आकार प्रदान
गर्ने काम नेपालको संबिधानले गरेको छ ।
तर संबिधान जारी
संगै तराईमदेश शान्त छैन, महिनौ लामो आन्दोलन, बन्दको शृखंला चलिरहेको छ, जसक्रममा
मानवअधिकारको गम्भीर उल्लंघन हुनेगरी हत्या/हिंसाको कयौं दुखद घटनाहरु पनि घट्यो;
जसले सिङ्गो समाज र देशमा नै साम्प्रदायिक बिखण्डनको सोच उब्जायो जुन आफैमा
आत्मघाती र राष्ट्रघाती सोच हो र यो हुनु सभ्य समाज, देश र यहाँ बस्ने नागरिकहरुको
लागि दुखद हो । यो आन्दोलन हुनुको मुख्य कारण बिगत देखिन रहेको हेपाह प्रवृति र
यसले उब्जायो गहिरो सामाजिक अबिश्वाश नै हो । राजनीतिक स्वरूप लिंदै शुरु भएको यो आन्दोलन
कहिले सामाजिक, कहिले क्षेत्रीय, कहिले साम्प्रदायिक र कहिले राष्ट्रिय रुप लिंदै
समर्थन र बिरोधको स्वर संगै अघि बढिरहेको छ ।