Saturday, May 26, 2012

त्रासदी

"झस्याङ्ग ब्युँझिएछु ..!!",, 
सपना पनि डरलाग्दो देखेको थिएँ ।आफु बसी आएको घर चिरा चिरा पर्दै भत्किँदै गरेको । अनि त  आत्तिएर  ब्युँझिएछु ।

  घडी हेरें ,बिहानको चार बज्न आटेको रहेछ । वरिपरी अँध्यारो र उज्यालो मिस्सिएको थियो । खाट  पछाडिको झ्याल खुल्लै थियो । बादले आकाश ढाकेको रहेछ । झ्यालबाट चिसो हावा कोठा भित्र छिर्दै थियो । तातो शरीर माथि चिसो हावा पर्दा शितलता र जाडो दुबैको अनुभव भैरहेको थियो । एकछिनको अनुभव पछी फेरी निदाउने प्रयास गरें तर मन मान्दै मानेन । निदरीले साथ छोडिसकिछे ।

खाटबाट निस्किएँ र अर्को कोठामा पसें । कुर्सीमा बसें र झ्याल खोलें ।  अँध्यारो हटाउँदै उज्यालोले ठाउँ ओघत्दै थियो । जति-जति उज्यालो बढ्दै थियो त्यति-त्यति मन भित्र भने अँध्यारो भरिंदै थियो । आज बाहिरी  प्रकृति र मेरो मन भित्रको प्रकृति बिचको तालमेल भत्केको आभाष हुँदै थियो । यी दुई मित्र आज ठिक बिपरित कोणमा हिँड्न खोज्दै थिए । जति समय बढ्दै थियो बाहिरी प्रकृति रमाउंदै थियो र मेरो मन समय आज आगाडी नबढी स्थिर रहोस् भन्ने कामना गर्दै थियो .......।
 एकछिन मन पनि शान्त रह्यो । सुनसान वातावरण संगै म पनि शान्त हुने प्रयास गरिरहें । आँखा कोठा वरिपरी घुमाउँदै थिएँ ,भित्तामा झुन्डिरहेको भित्ते पात्रमा टक्क गएर रोकिएँ । जुरुक्क उठें र पात्रो पल्टाएँ ।

 आज २०६९ साल जेष्ठ १३ गते,अर्थात जेष्ठ १४ को अघिल्लो दिन । मन झन् अत्तालियो । उठ्दा उठ्दैको शरीर र जमिन एक साथ हल्लिएको अनुभव हुन पो थाल्यो । म डराएँ र थचक्क कुर्सीमा बसें । सायद हरेकको मन आज आतिदै होला । देशको संबिधान र भविष्यको सवाल जो छ । 

चार-चार वर्ष सम्म यस्तो अनुभव कहिल्यै भएको थिएन ,सायद बिकल्प भएरै होला । तर आज मैले विकल्प देखिन ।
राजनीतिक दलहरु बीच सहमतिका कुनै धर्को  कोरिएका छैनन् । देशमा बन्द-हड्ताल कायमै छ । जाति-जाति बीचको सम्बन्ध चर्किएका छन् ....,मन झनै आतंकित बन्यो । 
चर्केको र भत्किन थालेको घर देखाएर मेरो सपनाले आज मलाई मेरै देशको हालत सम्झाउन त खोजेको होईन ??,म स्तब्ध भएँ । केहि सोच्नै सकिन । सिरिफ यस्तो नहोस् ,मन प्राथना गर्न थाल्यो ।
 उज्यालो निक्कै भैसकेको रहेछ । समय बितेको पत्तै भएनछ । घरका परिवार उठिसकेका थए । उनिहरुसामु यो पिडा झल्काउने आँट आएन । ओठमा कृतिम हाँसोको मुकुण्डो  झुण्डाएं र बाहानामा कुरा टालें ।
तर मन आफ्नै हो । यो झुटो बोल्न जान्दैन ,कुरा लुकाउन जान्दैन । मन त्रसित थियो र भन्दै थियो -"भोलि के होला ??"                                                                                                                                                Copyright © 2012 बिमोचन घिमिरे

ShareThis