Friday, February 13, 2015

परिवर्तित समय



त्यो घर प्यारो
त्यो कोठा प्यारो
त्यो भित्ता प्यारो
झुण्डिएका हरेक फोटो प्यारो
पोतिएका रङ्ग प्यारो
पाइला-पाइलाले सिंचित गरेका
ति हरेक भुइँ प्यारो

सिरानी प्यारो
त्यो आरामदायी ओछ्यान प्यारो
आमाले एकाबिहानै बोलाउने
निद्रा ब्यूँझाउने आवाज प्यारो

आमाले पस्किने हरेक गाँस प्यारो
चुराको छिन छिन , त्यो स्नेही हात प्यारो
बुबाको माया मिस्सिएको गाली प्यारो
बहिनीको साथ प्यारो
भाइको चकचक प्यारो
दाइको माया प्यारो

घर अगाडिको त्यो पुरानो भित्ता
त्यो ठुलो रुख
त्यो साँघुरो सडक
मानिसको ओहोर दोहोर
आफु हुर्केको त्यो हरेक गल्लि
रमेको त्यो सारा परिवेश
आज लाग्दै छ प्यारो

तर
आज आँखा खोल्दाको
संसार बिरानो
घर, कोठा, भित्ता, रङ्ग
सबै बिरानो 
आमाको आवाज छैन
बुबाको गाली छैन
बहिनीको साथ छैन
भाइको चकचक छैन
दाइको माया छैन
आज सारा परिवेश लाग्दैछ बिरानो

तर
रमाउनुपर्छ यहीं अब
बसाउनु पर्छ छुट्टै संसार
फैलाउनुपर्छ आफ्नै घरबार

आमाबुबाले अन्माए कन्यादान गरेर
उनी आइन आफ्नै माईतिघर छोडेर ।।


२०७१/११/०१ ©बिमोचन घिमिरे 

ShareThis