Sunday, February 14, 2016

बिर्सेको छैन केहि .....


ति बाटाहरु
ति कोठाहरु
ति जुधेको भान भएका आँखाहरु
सङ्कोच मान्दै बोलेको त्यो क्षण
रुखो प्रतिक्रियामा पनि खुशी भएको पल
बिर्सेको छैन केहि ....

घन्टौंसम्म एउटै शब्दहरु बीच हराएको समय
जान्दाजान्दै पनि पालेको मिठो भ्रमसंग
साँचेका सपनाहरु
अदृश्य आकृति बनाएर
कोहि हुनुको अनुभूतिमा गरेका गहन बार्तालापहरु
बिर्सेको छैन केहि ....

एकदिन अकास्मात जोडिएको मित्रता
वास्तविकता लुकाउँदै गरेका कुराकानी
सुनेका सत्यघटनाहरु
साथ दिंदै उभिएका मनहरु
बिर्सेको छैन केहि ....

बर्षौंसम्म गुम्सिएका भावनाहरु
लामो सकसपछी
प्रष्फुटित भएको दिन
खुशी, डर, उत्सुकताले घेरेको अवस्था
प्रष्टताको खाँचोमा तड्पिएको अतृप्त मन
बिर्सेको छैन केहि ....

हिजोआजका ति तमाम घटनाहरु
दुखेका मनहरु, सम्हालेका क्षणहरु
आफ्नै सन्नाटा बीच हराएका जीवनका अभयवहरु
संबाद बिहिन पलहरु
भुलाउन न खोज्दछु
न भुलाएकै छु
बाहिरी संसारका संसर्ग भन्दा टाढा
आफ्नै सम्झनाका पानाहरुमा
बाँचेका ति पलहरु
झारेका आँशुहरु
संगालेका ति आशाहरु
कतै भत्केका महलहरु
कतै ठडिएका बिश्वासहरु
भनेका ति कथाहरु
देखेका ति सपनाहरु
कोरिएका ति तस्विरहरु
आजपनि, हिजो जस्तै बाँचीरहेका छन्
मनमन्दिरमा
    बिर्सेको छैन केहि ....

२०७२/११/०२ बिमोचन घिमिरे !!
      


ShareThis