Sunday, November 13, 2011

मानुषी (पारिजात)

                              मानुषी (पारिजात)
तिमि जति गर्न सक्छौ
त्यति म पनि सक्छु
तिमी जत्तिकै पाखुरी बजार्न सक्छु
पसिना बगाउन सक्छु
तिम्रा सबै अनुभूतिहरु
मेरा पनि अनुभूति
तर इतिहासले आज
कहाँ ल्याएर पछार्यो कुन्नि मलाई 
तिमी त् मभन्दा कोसौं अगि गइ सकेछौ |

तिमी र म एउतै होइनौ
एक अर्काको पुरक मात्र हौँ
त्यसैले तिमी मेरा थुप्रै अनुभुतिहरुका भागीदार हुन सक्दैनौ
म तिम्रो मिर्तादेहसंग जिउंदै मर्न सक्छु
म तिमीहरुको सामुहिक बलात्कार खपेर बाँच्न पनि सक्छु
तिमीलाई त यसो कहिल्लै भएन,
तिमीले रजस्वलाको कष्टपर्द क्षण भोगेका छैनौ
तिमीलाई आफ्नो अस्मिताको जोखिम उठाउनु पर्दैन
तिमीलाई गर्भ धारणको अतिशय पट्यार लाग्दो अवधि थाहा छैन
तिमीलाई प्रसव कालको सीमातीत कष्ट भोग्नु पर्दैन
हो,म तिमीबिना आमा बन्न सक्दिन
तर मैले तिमीलाई बाबु बन्ने श्रेय दिएकी छु
तथापि तिमी त्यो नैसर्गिक मातृत्व बुझ्दैनौ
त्यो मेरो,नितान्त ..... मेरो अनुभूति हो
तिमीलाई स्वास्नीमान्छेले बलात्कार गर्यो ?
तिमीलाई स्वास्नीमान्छेले कलंकको टिका लगाई दियो ?
तिमीलाई स्वास्नीमान्छेले कतै बेच्यो ?
तिमी निरुत्तर छौ यस प्रस्नको अगि,
आजको सत्तारुढ तिमी
शताब्दी शताब्दीअगि
झगडालु, इष्य्रालु वन मनुष तिमीलाई
माया र सहअस्तित्वको अंगालोमा बाँधी
आफ्नो ओडारको छानुमुनी भित्र्याएकी थिएँ
जसरि आज तिमी
दाइजोको लावालस्करसंग घुम्टोभित्र लुकाई
पशुलाई जस्तै रुवाउन्दै भित्रयाउने गर्छौ,
त्यसैले तिमी यति विमुख नहोउ
यति निर्दयी नबन,
यति बैगुनी नहोउ,
तिमी मेरो उत्पीडन बुझ्दैनौ
न तिम्रो उत्पीडन बुझ्छु
आऊ आज हामी उत्पीडनहरु साटासाट गरौँ
हामी मानसिकताले एकाकर होऔं
हामी एक अर्कविना बाँच्न सक्ने प्राणी होइनौं
म तिम्रो हात दह्रो गरी समाउँन्छु
तिमी मलाई तिमी पुगेको ठाउँसम्मै पुर्याऊ
त्यहाँ,जहाँ तिमीलाई मैले
सभ्यताको आदि कालमा पुर्याई सकेकी थिएँ ||

Thursday, November 3, 2011

पुच्छर छिर्यो हात्ती अड्कियो


                                                          
लामो गतिरोध र अन्योलतालाई चिर्दै आएको तीन दल तथा सरकारको मुख्य घटक मधेशी मोर्चा बीचमा कार्तिक १५ गते भएको समझौताले नेपाली राजनीतिलाई एउटा नयाँ मोडमा मोडिदिएको छ साथै आम शान्ति पे्रमी नेपाली जनमानसमा नयाँ आशाको शुत्रपात गरीदिएको छ । तर सहमति पत्रमा गरिएको हस्ताक्षरको मसी सुक्न नपाउँदै माओवादीकै मोहन बैद्य"किरण" पक्षदरहरुबाट आएको आक्रोस पुर्ण असहमती र विरोधले भने अझै पनि नेपाली जनतालाई त्रासको भुमरीमा दबाई नै राखेको छ र यो समझौताको उचित कार्यान्वयनमा शंका उब्जाएको छ । तर कुरा यस बिषयमा मात्र अल्झिएको छैन बरु के सेना समायोजन सँगै शान्ति पक्रिया  पनि सहजरुपले टुङ्गिन्छ ?? भन्ने प्रश्न अझ गम्भिर ढङ्गले उब्जेर आएको छ र यस प्रश्नको उत्तरको खोजीका लागि हामीले बिगतका घटनाहरुकै साहायता लिनु अत्यावश्यक भएको छ ।

तात्कालिन सरकारलाई विभिन्न चालिस बुँदे माग प्रस्तुत गरि वर्गसंर्घष,वर्गभेद र विद्यमान सामान्ति संरचना भङ्ग हुनुपर्ने विचार राखी २०५१ फाल्गुन १ गतेबाट सस्सत्र युद्ध शुरु गरेको एक विद्रोही पार्टी आज ६२\६३ को जनआन्दोलन,संविधान सभाको चुनाव हुँदै नेपाली राजनीतिको प्रमुख पार्टीको रुपमा उदाएको छ र सत्ता गठबन्धनको भागेदारी पनि भईसकेको छ । तर यहाँ  सम्म आईपुग्दा पनि उसले युद्ध शुरु गर्दा रखेको चालिस बुंदे  माग मध्य गणतन्त्र र संविधान सभाको माग बहेक कुनै पनि माग पुरा भएको छैन  । अन्त गर्ने भनेको  वर्ग विभेद झन् चुलिँदै गएको छ समाजमा पुँजीवादी संरचनाको जग गहिरो,बलियो र टिकाउ बन्दैछ ; गरिब-धनी बीचको खाडल पुरीनुको सट्टा झन बिशाल र फराकिलो बन्दैछ  गरिब झन् गरिब र धनी झन् धनी बन्ने अवस्थाको सिर्जना अत्यन्तै डरलाग्दो गतिमा बढिरहेको छ महँगी र भ्रष्टचारले जनता पिल्सिने  क्रम बढ्ढो छ गाउँ-गाउँमा विद्यमान सामान्ति संरचना अझै भत्किन सकेको छैन,विदेशी दमनले राष्ट्रिय स्वाधिनतामा आँच  आउने अवस्थाले जनता पिरोलिएका छन् र देश झन् अन्योलताको भुमरीमा फस्दो छ ।यस्तो अवस्थामा जे कारण देखाएर माओवादीले हतियार उठाएको थियो र जे कारणले गर्दा लाखौँ जनताले ज्यान दाउमा राखी माओवादीलाई साथ दिएका थिए त्यो कारण अझै पनि जिउँदो छ र त्यसबाट कयौँ जनता चुसीएका छन् । यस्तो अवस्थामा यी सब समस्यालाई थाती राखी केही संख्याको जन सेनालाई समायोजन गर्दैमा यसले शान्ति प्रकि्रयालाई टुङ्ग्याउँछ भन्न सकिँदैन । सेना समायोजनले शान्ति पक्रियाको  एउटा ठुलो अध्यायको इतिश्री त गर्ला तर त्यो भन्दा पनि ठुलो र डरलाग्दो अध्याय माथि उल्लेखीत विद्यमान सामाजिक संरचनामा मुल परिवर्तन ल्याउनु नै हुनेछ नत्र भने भोलि यिनै विषय उठाएर फेरी यो देशमा  हतियार नउठ्ला र जनता नमारिएलान् भन्न सकिँदैन । तसर्थ  नेतृत्वकर्ताको भुमिका निभाउने सबैले समयमै सोची यी यस्ता कुराको उचित प्रतिनिधित्व हुने गरि जनतालाई आस्वस्त पार्नु आजको आवश्यकता बनेको छ नत्र भने नेपाली जनताले कहिल्यै पनि आमुल परिवर्तको स्वाद चाख्न पाउने छैनन् र पुनच्छ पुरानो सामन्ती परम्पराले आफ्नो पकड जमाउँदै लानेछ र हामीले आज सम्म प्राप्त गरेको उपलब्धि गुम्ने खतरा बढ्ने छ । 

Tuesday, October 25, 2011

महाकवि लक्ष्मी प्रसाद देवकोटा




मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन ॥ 
श्रेत्रीको छोरो यो पाऊ छुन्छ घिनले छुँदैन ॥ 
नेपाली जनका कवि ,नेपाली साहित्यका महाकवि ,आशुकवि साथै नेपालको स्वतन्त्रता आन्दोलनका एक   क्रान्तिकारी योद्धा श्री लक्ष्मी प्रसाद देवकोटाको  जन्मजयन्तिको अवसरमा उहाँप्रति मेरो श्रद्धा सुमन प्रकट गर्न चाहान्छु ॥ 
न टिप्नु हेर कोपिला न चुड्नु पाप लाग्दछ ॥ 
न च्यात्नु फूल नानी हो दया र धर्म भाग्दछ ॥ 


Saturday, October 1, 2011

संस्कृति कसैको पेवा होइन !!!!

                                                      संस्कृति कसैको पेवा होइन !!!!
समाज अत्यन्त विशाल छ र यसको विशालतासँगै यसले अनेक थरी बिचार र सम्प्रदायलाई आफनो विशालताभित्रै ओगटेर राखेको छ । हरेक विचारको र सम्प्रदायको आफ्नै मौलिकता तथा सिद्धान्त हुन्छ र ऊ आफ्नै यी-यस्ता मान्यताहरुमा आवद्ध हुनुनैपर्छ तर यदि हुँदाहुँदै पनि सामाजिक अङ्ग भएको नाताले ऊ सामाजिक मुल्यमान्यताको विरुद्ध भने हुनुहुँदैन॥
यीनै सामाजिक मुल्यमान्यता मध्यको एक समाजमा विद्यमान विभिन्न थरीका संस्कृतिहरु पनि एक हुन जोसँग समाजमा रहेका हरेक व्यक्ति आबद्ध भएका हुन्छन् भलै ऊ त्यस संस्कृतिको पक्षधर होस् वा नहोस् । आफ्नो बिचार र सामाजिक संस्कृति मेल खाँदैन भन्दैमा त्यस संस्कृतिको विरोध गर्नु वा त्यस संस्कृतिसँग सम्बन्धित पर्व इत्यादिको विरोध गर्नु मुर्खता सिवाय केहि पनि होइन । जो व्यक्ति यस्ता विरोधि भावनाले ग्रसित छ त्यस्ता व्यक्तिको सोचाईको दायारा कमजोर र कसैबाट निर्यातीत छ भन्ने बुझिन्छ र उसले धेरै कुरा सोच्न चुकेको छ भन्ने ठहरिन्छ ।
एउटा व्यक्तिको चालचलनले नै ऊ कुन संस्कृतिसँग आबद्ध छ भन्ने कुराको निर्क्यौल गर्छ । उसको चालचलन ऊ हुर्केको समाजको बनोट भुगोलकै अनुरुप रहन जान्छ र उसको बिचार उसकै चालचलन अनुरुप नै हुन्छ । तसर्थ यसरी हेर्दा सामाजिक मुल्यमान्यताको वा त्यस मुल्यमान्यतासँग सम्बन्धित पर्व इत्यादिको विरोध गर्नेले आखिरमा आफ्नै बिचारको बिरोध गरिरहेको हुन्छ भन्ने कुराको पुष्टि हन्छ । त्यसैले कोहि कसैले पनि समाजिक रीतिरीवाजको विरोध गर्नुको सट्टा ती संस्कृतिलाई आफ्नो बिचार अनुरुप ढालेर त्यस संस्कृतिलाई एउटा नयाँ आयाम दिन सक्दछ । यसो गर्दा ऊ त्यस संस्कृतिबाट बिमुख भएको ठहरिदैन साथै ती संस्कृतिमा रहेका कमी कमजोरी पनि हट्ने सम्भावना बढ्दछ ।
संस्कृति कुनै पनि सभ्यताको जड हो र व्यक्ति सभ्यताको इकाई हो तसर्थ ऊ पनि त्यही संस्कृतिको जड हो भन्दा अस्वभाविक हुँदैन । समाज यी यस्तै विभिन्न थरी व्यक्तिको विशेष समुह हो । समाज गतिशील छ र गतिशील समाजका हरेक संरचना गतिशील हुनैपर्छ । यसै अनुरुप व्यक्तिको बिचारमा परिवर्तन आउनु स्वभाविकै हो र आफ्नो बिचार अनुरुप व्यक्ति स्वयम्ले समाजिक मुल्यमान्यतामा परिवर्तन ल्याउनुपर्दछ र संस्कृतिलाई पनि गतिशील बनाउनु पर्दछ । निजी स्वार्थ पुर्तिस्वरुप यसको पालना वा बिरोधको नाटक रच्नुहुँदैन ॥
                              बिचारले परिवर्तन खोज्नुपर्छ बिरोध होइन ॥
 

Sunday, September 25, 2011

नेपाली आकाश किन असुरक्षित?????



किन बढ्दैछन् हवाई दुर्घटना ?
अप्ठेरा पहाड र भूबनोटका कारण नेपाली आकाश त्यसैपनि असुरक्षित छ । त्यसमाथि छानबीन प्रतिवेदनले दुर्घटना हुनुमा धेरै पाइलटको कमजोरी देखाएको पाईन्छ । ‘कारण मानवीय मात्रै होइन’ वायुसेवा निगमका अनुभवी पाइलट रविन्द्र शेरचनले भन्नुभयो – ‘यसमा मानवीय र भौगोलिक अवस्था दुवै कारण हुन् ।’ हरेक विमान दुर्घटनापछि छानवीन समिति गठन हुन्छ । त्यसले धेरै अनुसन्धान गरेर प्रतिवेदन बुझाउँछ । छानविन समितिले मृत पाइलटलाई दोषी देखाएर अरु खास कारण खोज्ने झण्झटबाट मुक्त हुन खोजेको आरोप पनि लाग्ने गरेको छ । मानवीय र भूबनोट मात्रै होइन, विमान दुर्घटना हुनुमा अरु पनि धेरै कारण छन् । जानकारहरुका अनुसार पुराना जहाज र क्षमताभन्दा बढी भारका कारण पनि विमान दुर्घटना हुने गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार २० वर्षभन्दा पुराना जहाज चलाउन पाइँदैन । तर नेपाली आकाशमा ५० वर्ष पुराना जहाज पनि सञ्चालनमा छन् । यी कारणले पनि नेपाली आकाश असुरक्षित भएको बताईन्छ ।
२१ वर्षअघि सरकारले उदार आकाश नीति लिएपछि नेपाली आकाशमा निजी क्षेत्रका जहाजले उडान भर्न थाले । जहाजहरु थपिने क्रम बढ्न थाल्यो । तर जहाज थपिए अनुसार सुरक्षा, पार्किङ सुविधा, हवाई सेवा अनुगमन लगायका काम हुन सकेन । निजी कम्पनीका सञ्चालकहरुले सुरक्षालाई भन्दा पैसालाई बढी ध्यान दिन थाले । तर दुर्घटना रोक्न पाइलटको भूमिका महत्वपूर्ण हुन्छ । ‘उडिरहेको समयमा जहाजमा कुनै पनि समस्या देखिएमा पाइलटले तुरुन्तै निर्णय लिन सक्नुपर्छ’ अनुभवी पाइलट दधिराम निरौला भन्नुहुन्छ -’निर्णय लिन एक सेकेण्ड पनि ढिलो भयो भने दुर्घटनामा परिन्छ ।’
भौगोलिक विविधता र छिनछिनमै परिवर्तन भैरहने मौसमले पनि उडानमा समस्या पर्ने गरेको पाइलटहरुको भनाई छ । खराबमा मौसममा उडान भर्न नहुने नियमको अवज्ञा र उड्डयन सुरक्षाको निगरानी गर्ने तथा नियम कानुन कार्यान्वयन गराउने निकाय सकृय नहुँदा पनि दुर्घटना बढेका छन् ।
नेपालमा हवाइ दुर्घटनाको नालिबेली
सन् १९५५ को मार्च ८ मा पहिलोपटक बाराको सिमरामा डकोटा जहाज दुर्घटना भएको थियो । तथ्याँक अनुसार त्यसयता सन् १९९० सम्ममा १६ वटा हवाई दुर्घटना भए । त्यस अवधिमा एकसय ५४ जनाको मृत्यु भएको थियो । त्यसपछि विमानको संख्या थपिएसँगै दुर्घटनाको क्रम पनि बढ्न थाल्यो । यस अवधिमा भयानक दुईवटा विमान दुर्घटना भएका छन् । २०४९ साल साउन २६ गते रसुवाको घोप्टेभीरमा भएको थाई एयरवेजको बोइङ दुर्घटनामा एकसय १३ जनाको ज्यान गएको थियो । यो भयानक दुर्घटना भएको दुई महिनापछि अशोज १२ गते ललितपुरको भट्टेडाँडामा भएको पीआइएको बोइङ दुर्घटनामा एकसय ६७ जनाको ज्यान गयो । नेपाली आकाशमा अहिलेसम्म भएका अन्तराष्ट्रिय हवाई दुर्घटना यी दुईवटा मात्रै हुन् । नेपालमा सबैभन्दा धेरै ट्वीनअटर विमान दुर्घटना भएका छन् । १९७३ मा वायु सेवा निगमको विमान लुक्ला विमानस्थलमा दुर्घटना हुँदा ६ जनाको ज्या गयो । सन् १९९१ मा वायुसेवा निगमकै अर्को विमान लुक्लामै दुर्घटना हुँदा १७ जनाको ज्यान गयो । नेपाल एयरलाइन्सकै अर्को विमान सन् १९९५ मा काठमाडौंबाट रुम्जाटार जाने क्रममा धावनमार्गमै दुर्घटना हुँदा दुईजनाको ज्यान गयो । सन् १९९९ मा नेकोन एयरको विमान काठमाडौंको पश्चिममा टेलिकमको टावरमा टोक्किएर दुर्घटना हुँदा १५ जनाको ज्यान गयो । सन् २००४ मे २५ मा यति एयरलाइन्सको विमान लुक्ला विमानस्थल पुग्ने क्रममा पहाडमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको ज्यान गयो । २००४ कै अक्टोबर १ मा सीता एयरको विमान लुक्ला विमानस्थलमै दुर्घटनामा पर्यो । लुक्ला विमानस्थलमै सन् २००५ को जुन ३० मा गोरखा एयरलाइन्सको विमान दुर्घटना भयो । यति एयरलाइन्सको विमान लुक्लामै दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो । विक्रम संवत २०६३ मा ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा तत्कालिन मन्त्री र संरक्षणविद सहित २४ जनाको ज्यान गयो । 
छानविन टोली गठन, प्रतिवेदन कहिल्यै कार्यान्वयन हुँदैन
सरकारले बुद्ध एयरको विमान दुर्घटनाबारे छानविन गर्न नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशकुमार दलीको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको छ । टोलीलाई एक साताभित्र दुर्घटनाबारे अध्ययन गरी विस्तृत विवरण बुझाउन भनिएको छ । विमान दुर्घटना बित्तिकै त्यसको छानबीन गर्न समिति बनाउने परम्परा जस्तै भएको छ । समितिले प्रतिवेदन बुझाउँदा हवाई सुरक्षाको लागि बिभिन्न सुझाब पनि प्रस्तुत गरेको हुन्छ । ‘तर यी सुझाब कार्यान्वयन नहुँदा समस्या उत्पन्न भएको छ’ यसअघि प्रायः छानबीन समितिमा बसिरहने उड्डयन चिकित्सक रञ्जित बरालले भन्नुभयो । छानबीन समितिले विमानको प्राविधिक पक्षमा सुधारसँगै उडान सुरक्षा र अनुगमनको लागि ध्यान दिन आग्रह गर्ने गरेको छ । तर सम्बन्धित निकायले बेवास्ता गर्दा कहालीलाग्दो हवाई दुर्घटना बढिरहेका छन् ।


प्रस्तुत समाचार ONLINE KHABAR .काम बाट साभार गरिएको हो ||

ShareThis