Monday, December 1, 2014

सेमी-रिटाएर्ड



पेन्सनवाला बुढो लाहुरेझैं
जीवनको एक पाटोबाट
अवकाश पाएपछि
रोगी मलेवा जस्तै
झोक्राउँदै
आफ्ना पुराना स्मृतिहरु
र नयाँ आशाहरुसंग
खेल्दै , जिस्किंदै
अनायासै बहने समयका
अन्तहीन सुइहरुसंगै
झुण्डाइएको भित्ते पात्रोमा
दिनहरु गन्दै
हिउँदको पारीलो घाममा
अल्छीपना र दिक्दारी समेत
धेरैका अर्ति ,आदेश र उपदेशहरुको
बिस्कुन सुकाएर
व्यस्त संसारबाट अलग्गिएर
ढुक्कसंग
लम्पसार परेर
निदाइरहेको
सेमी-रिटाएर्ड म !! 

२०७१/०८/१५ © बिमोचन घिमिरे !!

ShareThis