Saturday, October 1, 2011

संस्कृति कसैको पेवा होइन !!!!

                                                      संस्कृति कसैको पेवा होइन !!!!
समाज अत्यन्त विशाल छ र यसको विशालतासँगै यसले अनेक थरी बिचार र सम्प्रदायलाई आफनो विशालताभित्रै ओगटेर राखेको छ । हरेक विचारको र सम्प्रदायको आफ्नै मौलिकता तथा सिद्धान्त हुन्छ र ऊ आफ्नै यी-यस्ता मान्यताहरुमा आवद्ध हुनुनैपर्छ तर यदि हुँदाहुँदै पनि सामाजिक अङ्ग भएको नाताले ऊ सामाजिक मुल्यमान्यताको विरुद्ध भने हुनुहुँदैन॥
यीनै सामाजिक मुल्यमान्यता मध्यको एक समाजमा विद्यमान विभिन्न थरीका संस्कृतिहरु पनि एक हुन जोसँग समाजमा रहेका हरेक व्यक्ति आबद्ध भएका हुन्छन् भलै ऊ त्यस संस्कृतिको पक्षधर होस् वा नहोस् । आफ्नो बिचार र सामाजिक संस्कृति मेल खाँदैन भन्दैमा त्यस संस्कृतिको विरोध गर्नु वा त्यस संस्कृतिसँग सम्बन्धित पर्व इत्यादिको विरोध गर्नु मुर्खता सिवाय केहि पनि होइन । जो व्यक्ति यस्ता विरोधि भावनाले ग्रसित छ त्यस्ता व्यक्तिको सोचाईको दायारा कमजोर र कसैबाट निर्यातीत छ भन्ने बुझिन्छ र उसले धेरै कुरा सोच्न चुकेको छ भन्ने ठहरिन्छ ।
एउटा व्यक्तिको चालचलनले नै ऊ कुन संस्कृतिसँग आबद्ध छ भन्ने कुराको निर्क्यौल गर्छ । उसको चालचलन ऊ हुर्केको समाजको बनोट भुगोलकै अनुरुप रहन जान्छ र उसको बिचार उसकै चालचलन अनुरुप नै हुन्छ । तसर्थ यसरी हेर्दा सामाजिक मुल्यमान्यताको वा त्यस मुल्यमान्यतासँग सम्बन्धित पर्व इत्यादिको विरोध गर्नेले आखिरमा आफ्नै बिचारको बिरोध गरिरहेको हुन्छ भन्ने कुराको पुष्टि हन्छ । त्यसैले कोहि कसैले पनि समाजिक रीतिरीवाजको विरोध गर्नुको सट्टा ती संस्कृतिलाई आफ्नो बिचार अनुरुप ढालेर त्यस संस्कृतिलाई एउटा नयाँ आयाम दिन सक्दछ । यसो गर्दा ऊ त्यस संस्कृतिबाट बिमुख भएको ठहरिदैन साथै ती संस्कृतिमा रहेका कमी कमजोरी पनि हट्ने सम्भावना बढ्दछ ।
संस्कृति कुनै पनि सभ्यताको जड हो र व्यक्ति सभ्यताको इकाई हो तसर्थ ऊ पनि त्यही संस्कृतिको जड हो भन्दा अस्वभाविक हुँदैन । समाज यी यस्तै विभिन्न थरी व्यक्तिको विशेष समुह हो । समाज गतिशील छ र गतिशील समाजका हरेक संरचना गतिशील हुनैपर्छ । यसै अनुरुप व्यक्तिको बिचारमा परिवर्तन आउनु स्वभाविकै हो र आफ्नो बिचार अनुरुप व्यक्ति स्वयम्ले समाजिक मुल्यमान्यतामा परिवर्तन ल्याउनुपर्दछ र संस्कृतिलाई पनि गतिशील बनाउनु पर्दछ । निजी स्वार्थ पुर्तिस्वरुप यसको पालना वा बिरोधको नाटक रच्नुहुँदैन ॥
                              बिचारले परिवर्तन खोज्नुपर्छ बिरोध होइन ॥
 

ShareThis