Monday, December 16, 2013

मिलन

                                  

धेरै भैसकेको थियो ! कलम र हातको मिलन नभएको ।केहि लेख्ने सोच नपलाएको वा भनौं जाँगर नचलेको तर आज, किन हो ? एक्कासि हात कलम समाउन लालायित हुँदैछ । धेरै दिन पहिले थाति राखेको काम सिध्याउने होडबाजी नै चले झैं हात कलम समाउँदै आज ब्रहमाण्ड लेख्ने दाउमा जुरमुराउँदै छ । खै किन हो ? आज के हुँदैछ ? म कडा प्रयत्न गर्दै उत्तर खोज्दैछु । कहीं कतै गएर मेरा मन मस्तिष्क अड्कन्छ । मन कुनै उत्तर भेटाउँछ । के मेरो हात कलम तिर तानिनुको कारण त्यहि हो ? मन कता कता सोच माग्न हुन्छ । तस्विर जस्तै एउटा परिचित आकृति मेरो आँखा अगाडी उभिन्छ ,अनि म नियालीरहन्छु त्यो आकृतिलाई जसले मलाई केहि लेख्न उत्प्रेरणा दीइरहन्छ । अनि हात झन् क्रियाशील भएर लेख्न थाल्दछ ।

आज कुनै डर,त्रास,राम्रो-नराम्रोको ख्यालै नगरी हात सिरिफ लेख्न मात्र थाल्दैछ । मन भित्र गुम्सेका कयौं दिनका भावनालाई यथाशिघ्र सतहमा ल्याउन लालायित छ आज हात । छोटो दिनको छोटो यात्रालाई बिट मार्दै भोलि भेट्ने बाचा सहित घाम पश्चिमी नेपथ्यको अदृश्य पाना भित्र हराईसक्यो। संग संगै पूर्ण आकार लिंदै कठ्यांग्रिदो रात्रीमा नि घामको सम्झना ताजा राखिराख्न कालो पर्दालाई चिर्दै जुन आकाशबाट चिहईरहेको छ लाग्छ त्यो पूर्ण चन्द्र मलाई केहि भन्न खोज्दै छ ,मेरा लागि कसैको संदेश सुनाउंदै छ । मन त्यहि पूर्ण आकार भित्र डुब्दा डुब्दै उही प्रेरणादायी आकृतिको समिप पुग्दछ र मलाई झक्झकाई रहन्छ । लाग्छ त्यो आकृति मलाई केहि भन्न खोज्दैछ ,मलाई सम्झनाका ती मायालु संदेशहरु सुनाउन खोज्दैछ, केहि लुकेका मनका भावना मलाई एकान्तमा खुसुक्क कानमा आई भन्न खोज्दैछ । कतै टाढिनुको पिडा लुकेको भान हुन्छ त्यो आकृति भित्र ! कतै एक्लोपनको खल्लोपन लुकेको आभाष हुन्छ ।

म पनि त्यस्तै अन्योलताको सिकार भएको छु । त्यो आकृतिको सम्मुख आईपुग्दा म एकाकार हुन्छु ,सारा दुनियाँसंग टाढिएर सिरिफ उही आकृतिको नजिक आईपुगेको हुन्छ मन । मनमा केहि सुनाउने ,केहि भन्ने कौतुहलता शूरु हुन्छ । शब्दहरु एकाएक मुखबाट फुत्किएर मेरा मनका तरंग उनको कानसम्म पुर्यौलाकी झैं गरि ठुलो आर्तानादका साथ गुहार लगाइरहेको हुन्छन तर न म कुनै शब्दलाई मुखको आयतन भन्दा बाहिर जाने अनुमति दिन्छु न त उनले मलाई केहि भनेको सुन्छु ।

एकाएक जीवन सुनसान गोरेटो बीच उभिरहेको अनुभव हुन्छ । एउटा यस्तो सन्नाटा जसको वरिपरी सयौं अरु जीवन दगुरिरहेका छन् , कयौं अरु शब्दहरु आउने जाने क्रम चालिनै रहेको छ, कयौं अरु तस्विरहरु कहिले लुक्दै ,टाँगीदै आउंदै छन् तर म बिल्कुल एक्लो हुन्छु ति सब चलाएमान विश्व भन्दा बाहिर आफ्नै छुट्टै एकान्तमय दुनियामा तर संयोग म त्यहाँ पनि उही आकृतिलाई देख्दछु ,हाँसिरहेको र मलाई पनि हाँस्न आमन्त्रित गरिरहेको । उनि न्यानो शब्दहरु मेरो समिप पठाउँछिन मित्रताको हात बढाउंदै । म त्यो परिचित आकृति संग मित्रताको सुगम अनुभूति गर्न लालायित एउटा तिर्खालु जस्तो मित्रताको हात अघि बढाउँछु । अँध्यारोमा कतैबाट उज्यालो किरण आएको सुनौलो अनुभव गर्दछु तर म अझै पनि अपरिचित हुने प्रयास गर्दैछु । किन हो किन मन भएभित छ आफ्नो परिचय खोल्न ।     

परिचयको खुलापनका साथ कतै त्यो आकृतिको मित्रताका हात पछाडी हट्ने त होईन ? एक्कासि डरको कालो बादल मडराउछ तर मन अबिश्वास गर्दै छैन सिरिफ आफ्नो मान्छे गुमाउने डरको जडसुत्रले उब्जाएको अर्को डर मात्र हो । परिचय समय संगै खुल्दै जानेछ । समय भन्दा अगाडी र पछाडी चाहेर हुने केहि छैन । म सहि समयको प्रतीक्षा गर्दैछु । त्यो समयको आगमन संगै मेरो परिचय आफै खुल्ने छ भन्नेमा म बिश्वस्त छु ।
तर के था मेरो परिचय उनि बाट अछुतो छैन कि ? सम्भावाना जे पनि हुन्छन ,सब सोचाईमा निरभर छ त्यसैले सोचाईमै रुमलिन छोड्दै म बर्तमान संग रमाउने प्रयास गर्दैछु सायद उनि पनि त्यहि गर्दै छिन । परिचय बाधक होईन ,भेट संगै परिचयका आयाम फरक हुँदै जान्छन र आवश्यकता पनि। परिचय साध्य होईन साधन मात्र होला । मुख्य कुरा मन हो यो संधै सफा रहनुपर्छ एकअर्का प्रति समर्पित हुनुपर्छ ! सम्बाद र सम्बन्ध मनले निर्धारण गर्छ,मिठो वा तितो बोल्ने मुखहरुले होईन !!   
                                                                      २०७०/०९/०१

                              Copyright©२०१३ बिमोचन घिमिरे 

ShareThis