Sunday, June 16, 2013

अल्पबिराम ,,

चराहरु उड्दछन ,कराउँछन्
ताराहरु चलायमान हुन्छन
सुर्य उदाउँछ ,अस्ताउँछ
बादल डुलिरहन्छ
तर यो आकाश निस्प्राण छ
रङ्गहिन छ
सुनसान छ
त्यसैले
यो व्यस्त ,चलायमान तर निस्प्राण
आकाशको क्षेत्रफलबाट
बाहिरिने निर्णय गरेको छु
कुनै दिन
जब हुलाकीले
सन्देश बोकी ल्याउनेछ
बसन्तको आगमन भएको
खबर सुनाउने छ
तब हर्षका फूलहरु
फूलाउँदै
म पुन:
आकाश नियाल्ने छु
तस्विरहरु नियाल्ने छु
सुन्दर,शान्त ,निश्चल मनहरु नियाल्ने छु
आँखामा आँखा  जुधाउँदै
मिलनका गीतहरु गाउने छु
तब सम्म
म पनि टाढै बस्छु
यो हल्लै हल्लाको संसार बाट
यात्रालाई अल्पबिराम दिँदै !!

जुन दिन
यो संसारमा
पुन: प्राण भरिने छ
म बाचा गर्छु
म फर्किनेछु
अवश्य फर्किने छु । । 
२०७०-०३-०१
Copyright © 2013 बिमोचन घिमिरे

ShareThis