(यी
हरफहरुलाई हल्का वा गम्भीर ढङ्गमा नबुझ्न वा नपढ्न पंक्तिकार सबैमा अनुरोध गर्दछ
!)
सबै व्यक्ति बहुला
हुन सक्दैनन न त पागल बन्न सक्छन न मोक्ष नै प्राप्त गर्छन । बहुलापन , पागलपन र
मोक्ष एकल गन्तब्यका एकआपसमा परस्पर रुपमा जोडिएका , बाझिएका बाटोको भिन्न
बिश्रामस्थलहरु हुन ।
बहुलापन सुन्यवाद
तर्फ लाग्ने एउटा बाटो हो । यसले दिमागको गहिराईमा पुगेर सोच्न सिकाउँछ तर दिमागको
उच्चतम बिन्दु सम्म पुराउदैन ! बहु प्रश्नहरुको सामुहिकताबाट अल्झिरहेको व्यक्ति
बहुला हो । उ हरेक तृप्तिको मालिक छ तर भोको छ , उ संग हरेक प्रश्नको उत्तर छ तर
उत्तरहिन छ , सामान्य जीवनका अकाट्य सत्य उसको लागि पूर्ण सत्य होइन , उ बारम्बार
प्रश्न दोहोराउछ उत्तर पहिलाउँछ र आफ्नो असक्षमताप्रति निराश हुन्छ , उ संगैका अरु
सांसारिकताको तलाउमा पौडीरहंदा उ किनारमा उभिएर तलाउ र पौडीबाजहरुको गतिबिधि
नियाल्छ ... उ भिडमा छ तर एक्लो छ , उ एक्लो छ तर भिडमा छ ! उ हरेक प्रश्नहरुको
भिडमा छ , उ पर्दा पछाडिको सत्यताको सोचमा अल्झिएको छ , मलाई के लाग्छ भने यो
त्यहि बहुलापन हो जसले सिद्धार्थलाई राजमहलबाट बाहिर आउन प्रेरणा दियो , यो त्यहि
बहुलापन हो जसले बर्षौ देखि चलिआएको बुढ्यौली , रोग र मृत्युमा भिन्नता देख्यो ,
सत्यताको छनक पायो, अनुतरित प्रश्न भेट्यो , यो त्यहि बहुलापन हो जसले उनलाई रोटि
र सम्भोगभन्दा टाढा स्थायित्वको खोज तर्फ दौडायो , यो त्यहि बहुलापन हो !!
बहुलापनको
बाटो हुँदै व्यक्ति पागलपन अँगाल्छ ! पागलपन सुन्यवादको त्यो अवस्था हो जहाँ
व्यक्ति संसारिकताबाट
टाढा रहन त
सक्छ तर अझै संसारिक नै रहन्छ । दिमागीय धरातलको उच्चतम बिन्दुमा अवस्थित व्यक्ति
पागल वा सुन्यवादी हुन्छ भन्ने मेरो ठ्यम्याई हो , जुन निर्वाणको परिधि ननाग्दा
सम्म विद्यमान रहिरहन्छ । सुन्यबाद, बिचार सुन्यताको अवस्था पक्कै होइन, व्यक्ति
सांसारिकताको दैनिकिबाट सुन्य छ तर खोज , डर उसमा व्याप्त छ । उसमा मुक्तिको डर छ
, स्वतन्त्रताको डर छ र खोज छ , उ दौड सुन्य छैन , उ बिचार सुन्य छैन, उसमा दौड
व्याप्त छ मुक्त हुने दौड । ध्यानको चरम अवस्थामा पनि दौडबाट मुक्त हुन नसकेको
स्थिति हो पागलपन । उ सत्यको नजिक त अवश्य नै हुन्छ तर पनि उ संग केहि पनि छैन !!
यो यहि पागलपन हो जसले सिद्धार्थलाई दरबार परित्याग गर्न लगायो , र ध्यानमा तल्लिन
हुन सिकायो , यो त्यहि पागलपन हो जसले बुद्धत्वको मार्गमा सिद्धार्थलाई हिंडायो ,
यो त्यहि पागलपन हो ।
पागलपनको
उच्चतम बिन्दु जहाँ दौड आएर समाप्त हुन्छ , जहाँ खोज हुँदैन त्यहि बिन्दुबाट
मोक्षको पादुर्भाव हुन्छ।
यो अवस्था
सत्यता वा चेतनाको त्यो अवस्था हो जहाँबाट फर्कने र अगाडी बढ्नेको कुनै दुबिधा
रहँदैन । हरेक दौडहरुको अन्त्य हो मोक्ष । बुद्धत्वको प्राप्ति हो मोक्ष । बिचार
सुन्यताको अवस्था हो मोक्ष , बिचार सुन्यताको अवस्था हो प्रेम , बिचार सुन्यताको
अवस्था हो बुद्धत्व । यो त्यो अवस्था हो जो सदैव हामी माझ नै छ हामी भित्रै छ तर
पनि अपरिचित छ । यो त्यो अवस्था हो जहाँ सिद्धार्थहरु बुद्ध हुन्छन ।
बहुलापन
हुँदै मोक्ष सम्मको यात्राको कुनै निश्चित दुरी वा समय हुन सक्दैन भन्ने मेरो
ठम्याइ छ , धेरै कम व्यक्ति बहुलापनसम्म पुग्न सक्छन , त्यहाँबाट पनि निकै कम
व्यक्ति पगालपनको सुन्यवादी अवस्थामा पुग्न सक्छन र बिरलै कोहिले बुद्धत्व प्राप्त
गर्छन ।
यी माथिका
बिचार मेरो अन्तस्करणबाट प्रबाह भएको मेरो व्यक्तिगत बिचार हो । माथि नै उल्लेख
गरे अनुसार यी हरफहरुलाई हल्का वा गम्भीर ढङ्गमा नबुझ्न वा नपढ्न म सबैमा अनुरोध
गर्दछु ! मानिस संधै सुखप्राप्ति मै तल्लिन छ तर यो तल्लिनतामा मानिसले कतै
भड्किएर, झुठलाई सत्यको रुपमा बुझ्दै, सुखको सट्टा आफुलाई दुखैदुखको उजाड मरभुमिमा
पानीको आशमा मृगतृष्णाहरु पछाडी दौडाइरहेको त छैन भन्ने प्रश्न संधै मेरो
मास्पटलमा उब्जिरहन्छ, त्यहि प्रश्नहरुकै प्रतिबिम्बको रुपमा माथिको बिश्लेष्ण
उब्जिएको म ठान्दछु । एउटा ठोस सत्यताको ज्ञान हासिल नगरुन्जेलसम्म यस्ता
प्रश्नहरु र बिचारहरु उब्जिरहनेछन र लाग्छ जन्म, मृत्यु, रोग, बुढ्यौली र इश्वर
माथिको बहस चलिरहन्छ !!
२०७१/८/२१ © बिमोचन घिमिरे !!