Thursday, April 25, 2013

कथा सुनाउन चाहन्न ॥

कथा त मेरा पनि छन्
मन भरि सङ्गाली राखेका
तर मित्र म सुनाउन चाहान्न
तिमीलाई बोझ थपेर
गलाउन चाहन्न ॥

आफ्नाले रेटेका कथा
नियतिले ठगेका कथा
पुर्दा पुर्दै पनि संधै खालि रहने
यता टाल्दा उता भत्किने
प्वालै प्वालको कथा
के सुन्छौ तिमी ??
भो ! मित्र मलाई कर नगर
म र मेरो कथा संधै मसंगै होस्
म कुनै श्रोता बनाउन चाहान्न
म कथा सुनाउन चाहन्न ॥

बरु तिम्रा कथाहरु मलाई सुनाउ
मन हलुको हुनेछ
पिडाहरुमा कहिँ - कतै मलम लाग्नेछ
तर म जे छु ठिकै छु
तिमीलाई थप पिडा दिन चाहन्न
म कथा सुनाउन चाहन्न ॥

तिम्रो , उसको सबैको कथा
म सुन्न लालायित छु
म पात्र भएर होईन
कथा- कविता केहि लेख्नु पनि छैन
म सिरिफ तिम्रो मन हलुका पार्न चाहन्छु
तिम्रा पीडाहरू बाँड्न चाहन्छु
तर आफ्ना कथाको भारि बिसाएर
तिम्रो काँध दुखाउन चाहन्न
बिन्ति मित्र मलाइ जोड नदेउ
म आफ्ना पिडा सुनाउन चाहन्न ॥

तिमी भर्खर बुझ्दै छौ
नपाउँदाको पिडा
मैले त दशक बिताइसकें
खालिपनामा एक्लै -एक्लै
कयौँ रात कटाई सकें
तिमी काँचै छौ म भन्दा
म केहि पाको छु
त्यसैले तिम्रो कलिलो काँधमा
दशकौँको भारी बिसाउन चाहन्न
भो ! मित्र
म कथा सुनाउन चाहन्न ॥

तिम्रो आत्मियताले मन भरिएको छ
मिल्दो जुल्दो बेदना सुन्दा मन रोएको छ
तिमी पनि कुरा लुकाउँछौ
तर मित्र बिन्ति नलुकाउ पीडाहरु
म त अभ्यस्त भैसकें
तिमी कृपया नक्कली हाँसो नहाँस ॥
२०७० / ०१ / ०७
विमोचन घिमिरे !!


 Copyright © 2013 बिमोचन घिमिरे


Sunday, April 14, 2013

दशक र हामी ....


एउटा दशकको अन्त्य गर्दै नयाँ जोश, सम्भाबना, आशा, चुनौती बोकेर आएको यो नयाँ बर्षको हार्दिक मंगलमय शुभकामना !!
हिजोको दशकमा यो देशले आन्दोलन देख्यो , युद्ध देख्यो ,परिवर्तनका लागी थालिएको बिभिन्न कदम देख्यो तर स्थाहित्व देखेन , शान्ती देखेन , परिवर्तन देखेन । तर अबको यो दशकले ति बाँधहरु भत्काउँदै देशलाई आगाडी प्रगतिपथमा बगाउनु छ । यसको जिम्म्भेवारी  कसैको काँधमा छ भने त्यो हामी युवा कै काँधमा छ ।
 पहिलेका दशकमा युवा शक्ती कसैले चिनेन । युवा सिमित स्वार्थ पुर्तिका पिउसा बने । युवाको जोश जाँगर बिध्वंसमा  मात्र प्रयोग गरियो । युवा सडक बन्द  गर्ने , ढुङ्गा हान्ने , घर जलाउने , गाडी जलाउने जस्ता कार्यको लागी मात्र प्रयोगमा आए । युवा पैसा , पावरको लोभमा बहके  आफ्नो स्वाभिमान बेचे  , यस बाहेक न युवालाई कहिले माथी पुग्न दिईयो न पुग्ने वातवरण नै तयार गरियो । युवालाई अपराधिकरणमा मात्र प्रयोग गरियो बितेका कयौँ दशकमा ।

 तर अब समय बदल्नु छ । यो दशक माहान प्राप्तिको वा डरलाग्दो  दुर्घटनाको दशक हो । यो दशकमा नि देशको बिद्यामान अवस्थालाई फेर्न हामी सफल भएनौ भने नेपाल देश इतिहासको कुनै काल कोठरी भित्र हराउन बाध्य हुन्छ ।

यो दशक गर वा मर , वार कि पार को दशक हो । बिगतका कयौँ दशकमा यो देशले भोगेको बैदेशिक हस्तक्षप अबको झन् जटिल भू-राजनीतिक अवस्थामा यो देशले नभोग्ला भन्न सकिंदैन । यस्तो अवस्थामा हामीले आफ्नो आन्तरिक ब्यबस्थालाई बलियो , अग्रगामी , प्रतिस्पर्दी बनाएनौ भने ति शक्ति राष्ट्र भनाउँदाहरु झन् सक्रिय हुन्छन । यो देशमा बिद्यमान धार्मिक ,जातिय ,क्षेत्रीय , राजनैतिक  सहिष्णुतालाई भताभुङ्ग , क्षतबिक्षत बनाएर  हाम्रो राष्ट्रियता , स्वाभिमान , भाइचारालाइ निश्तेज पार्न उनिहारू अझ दिन दुई गुणा रात चौ गुणा सक्रिय भएर लाग्नेछन। र भोलिको विश्व मानचित्रबाट नेपाल हटाउन साम दाम दण्ड भेद सबै प्रयोग गर्ने छन । किन भने नेपाल सम्भावनाले भरपुर विश्व हाक्ने तागत भएको मुलुक हो जुन सफल भएमा सामन्ती , गरिबमारा विश्व माफियाहरु सिद्धिनेछन र विश्वको बागडौर बास्तबमा प्रगतिवादि समाजवादी जनाताको हातमा आउने छ । जुन उनीहरु चाहाँदैन्न ।

नेपाल प्रचुर सम्भावनाको मुलुक हो । जनमुखी विश्व कुनै देशले हाक्न सक्छ भने त्यो देश नेपाल नै हो । यहाँ अनगिन्ति अवसर छ । प्रगति , सम्पन्नताको यहाँ अनगिन्ति खानि छ । तर नजिकको तिर्थ हेला भनेझैं यी दशकहरुको अवधिमा हामीले हाम्रा सम्भावना नियाल्ने काम गरेनौं । यहाँ यस्तो छ र उस्तो छ भन्दै  वाक्क लाग्दो अर्थहीन प्रचार मात्र गर्र्यौं तर माटो खनेर सुन फलाउने जमर्को हामी कसैबाट भएन । देशका कर्णधार मानिएका युवाले आँखा चिम्लिएर विदेशीका लोभ लालचमा आफुलाई बेचे । देशमा केहि छैन , यो देश कहिल्यै बन्दैन , यहाँ केहि गर्न सकिंदैन भन्दै यहाँ भएका प्रचुर सम्भावनाको ख्याल नै नगरी मुर्ख आवेगमा आएर पलाएन भए । जब देश बन्छ हामी फर्कन्छौं भन्दै बेला बखत  राष्ट्रियताका , देश प्रेमका ढोंगी बक्तव्य निकाले र हराए । तर उनुहरुले बुझेन्न वा बुझ्न चाहेन्न  कि देश अरु कोहि आएर बनाइदिने होइन आफैले होस्टेमा हैंसे  मिलाउंदै , एक छाक मकै एक छाक भोकै भए नि रगत पसिना एक गरेर आफैले बनाउने हो । तर उनीहरुले यो कहिल्यै सोचेन्न र सधैं दशकौ दशक देशलाई सरापी रहे ।

 अब आँखा खोल्नु पर्छ । अझै नि देश बाँचेको हेर्न मन छ भने । देश हाँसेको हेर्न मन छ भने । देश बनेको हेर्न मन छ भने हामीले बन्द गरि राखेका हाम्रा राष्ट्रवादी आँखा खोल्नै पर्छ । हामीले नियाल्नु पर्छ देशका कुना काप्चा । देश कुन अवस्थामा जेन तेन घस्री घस्री हिंडिरहेछ । बिगत जे जस्तो भयो त्यसलाई सम्झेर र खाटो बसेका घाउ कोट्टाएर केहि फाईदा छैन घाउ दुख्छ मात्र । अब बर्तमान राम्रो बनाउँदै सुनौलो भविष्यको रुप रेखा कोर्नु छ जसले गर्दा अब आउने पुस्ताले हामीले जस्तो गल्ति नगरुन र देश थप प्रताडित हुन नपरोस ।

हिजो सम्म सुतेका युवा शक्ति अब जाग्नु पर्छ । यो दशक युवाको दशक हो । अब युवा डराउने होईन गर्विलो इतिहासको कवचले बनेको चौडा छाती फुलाएर देश जनता बिरुद्ध लाग्ने देशी बिदेशी शक्तिहरुलाई पन्छाउँदै समृद नेपाल निर्माणको अभियानमा हातेमालो गर्दै लाग्नु पर्दछ । युवा कुनै व्यक्ति बिशेष , पार्टी बिशेषको स्वार्थ पूर्ति गर्ने अखडा होईन राष्ट्र बनाउने साधन हुनु पर्दछ । केहि सिमित पैसा , मासु भातको लोभमा परेर  राजनीतिको नाममा बन्द ,आगजनी गर्ने जस्ता मानवता रहित काम गर्न अब युवा तल्लिन हुनुहुँदैन । आफु भित्र  रहेको रचनात्मक , सिर्जनात्मक सोचलाई अझ तिखार्दै समय अनुकुल ढङ्गमा आ-आफ्नो ठाउँबाट राष्ट्र निर्माणमा लाग्नु पर्दछ युवा यो दशकमा । क्षेत्रीयता ,जातीयता,धार्मिकता भन्दा माथि उठेर अब युवा सम्पूर्ण राष्ट्रको हुनुपर्दछ । देशमा केहि छैन भन्दै बाहिरिहेका बिदेशका बिकासमा रमाएका युवा पनि अब फिर्नुपर्छ । देश बाहिर बसेर केहि डलर सहयोग भन्दै फ्याँकेर र केहि शब्द राष्ट्रियताको फलाकेर देश बन्दैन , आफ्ना मलिला माटो ,खेत  बाँझो राखेर खाडीका मरभुमिमा कोदालो खनेर देश बन्दैन , नेपाली भइन्दैन  ।
अब हामीले आफ्नै मुलुक सुहाउँदो बिकासको नक्सा कोर्नु छ । यहि दशक हो हामीले लागिपर्ने । आफ्नो हरेक तागत लागाएर यो दशकमा देशको काँचुली फेर्न सक्यौं भने हामी विश्वकै समृदशाली , परगतिवादी देश हुनेछौ । बुद्ध र सगरमाथाले आजसम्म धानेको हाम्रो स्वाभिमानको आयतन अझ फराकिलो हुनेछ । हामी नेपाली  विश्वको कुनै पनि कुनामा पनि परिचित हुनेछौं । हामी माथि कसैले पनि औंला तेर्साउन सक्नेछैन । तर यदि हामी यो दशकमा पनि चुक्यौं भने हाम्रो परिचय हाम्रो स्वाभिमान खतरामा पर्ने छ । हाम्रो मुलुक असफल राष्ट्रको सुचिमा टाङ्गिने छ । नेपाल,नेपाली र नेपालीत्व संकटमा पर्नेछ । तसर्थ अब हामी जाग्नेपर्छ । ढिलो त भईसक्यो तर अति ढिलो हुनबाट हामी जोगिनै पर्छ । हामीले धेरै समय कुरामा , लडाईंमा बितायौं अब काम गरेर बिताउने समय आएको छ । कर्तब्य र अधिकारको क्षेत्रफललाई समान बिन्दुमा राखेर अब हामी  अगाडि बढ्नुको कुनै विकल्प छैन । सबलाई चेतना भया !!
                                        बिमोचन घिमिरे
                        यो लेख  नेपाल प्रगतिसील युवा मंच को ब्लग http://npym2010.blogspot.com/ 
                         मा पनि राखिएको छ । 

ShareThis