Monday, April 23, 2018

प्रश्न ... ???



झुठो म बोल्दिन
सत्य म भन्न सक्दीन
कस्तो विडम्बना !

हो !
यहि विडम्बनाको दोसाँधमा
म उत्तर पहिल्याउँछु
उत्तर अनगिन्ति छन् म संग
 तर जवाफ छैन ।

                            प्रश्नहरु सोधिरहनु
ति मलाई झक्झकाउने माध्यम हुन्
जीवनको गहिराई
एकछिन रोक्किएर
हेर्न सिकाउने तितो सत्य ।

पढ्न त पढेको छु
जीवन शान्त र सरल छ रे
जे हुन्छ
राम्रैका लागि हुन्छ रे
तर म एक मानिस
 धेरै कमजोरी छन मेरा ।

स्खलित हुन्छ
  पछारिन्छु आवेगमा ...
उ सजग भएन होला
उसका बाध्यता होलान
कति तडपाईहरु बीच
उ घेरिएको होला
म किन बिर्सन्छु ?
सम्झिन्छु भन्दा भन्दै
 किन बिर्सन्छु ?

यथार्थका पानाहरु छारिंदा
म बिबेकमा बिर्को लगाउंदै
आँखा चिम्लिन्छु
मुर्मुरिन्छु
झम्टिन्छु
पछारिन्छु
आखिर फाइदा के ?
खतहरु पाएर
 उपलब्धि के ?

मानेर चलेको जीवन
त्यहि मान्यता फलाकिरहन्छ
आफ्नो अस्तित्व जोगाउने होडबाजी ?

बिचरा
अकास्मात थाक्छन मान्यताहरु
बिकल्प बिहिनताको घडी
 सम्हाल्न नसक्दाको परिणाम !
आखिरमा दोष कसको ?
अज्ञानता को ?
 कि अहंकार ?
त्यसैले जान्नु पर्ने रहेछ
जानेको दिन म पनि बोल्न सक्छु होला
 एउटा स्वर्णिम कल्पना ...

आजलाई
म केवल प्रश्नहरु सुन्छु
तर
उही बिडम्बना
 झुठो म बोल्दिन
     सत्य म भन्न सक्दीन ।।

२०७५/०१/१०



  

ShareThis