Tuesday, December 23, 2014

हामी दुई !


मेरा कथाहरु
कि उसलाई थाहा छ
कि मलाई ।

मेरा भावनाहरु
कि ऊ बुझ्छ
कि म बुझ्छु ।

तर फगत
ऊ पनि मौन छ
म पनि मौन छु
हामी दुवै मौन छौं ।।

जब जब
म ति किनारहरुको
समिप पुग्छु
घडीहरुमा समय नियाल्छु
जब ति बाटाहरुमा
आफ्ना बिगत
बर्तमानका आधारहरु खोज्छु
तब
उ म संगै उभिन्छ
म उ संगै उभिन्छु
अनि अनायासै
हामी स्मृतिहरू संगाल्छौं
उ मलाई ढाडस दिंदै
ममताको साइनो बाँड्छ
म उसलाई आत्मीयताको
न्यानो अंगालोमा बेर्छु
मित्रताको दृढ संकल्प सहित
हामी दिल खोलेर हास्छौँ
तर
ऊ पनि मौन बस्छ
म पनि मौन बस्छु
हामी दुवै मौन बस्छौं ।।

२०७१/०९/०८ ©बिमोचन घिमिरे 

Sunday, December 7, 2014

बहुलापन, पागलपन र मोक्ष !!

(यी हरफहरुलाई हल्का वा गम्भीर ढङ्गमा नबुझ्न वा नपढ्न पंक्तिकार सबैमा अनुरोध गर्दछ !)

 

सबै व्यक्ति बहुला हुन सक्दैनन् न त पागल बन्न सक्छन् न मोक्ष नै प्राप्त गर्छन । बहुलापन , पागलपन र मोक्ष एकल गन्तव्यका एकआपसमा परस्पर रुपमा जोडिएका , बाझिएका बाटोको भिन्न बिश्रामस्थलहरु हुन ।

बहुलापन सुन्यवाद तर्फ लाग्ने एउटा बाटो हो । यसले दिमागको गहिराईमा पुगेर सोच्न सिकाउँछ तर दिमागको उच्चतम बिन्दु सम्म पुराउदैन ! बहु प्रश्नहरुको सामुहिकताबाट अल्झिरहेको व्यक्ति बहुला हो । उ हरेक तृप्तिको मालिक छ तर भोको छ , उ संग हरेक प्रश्नको उत्तर छ तर उत्तरहिन छ , सामान्य जीवनका अकाट्य सत्य उसको लागि पूर्ण सत्य होइन , उ बारम्बार प्रश्न दोहोराउछ उत्तर पहिलाउँछ र आफ्नो असक्षमताप्रति निराश हुन्छ , उ संगैका अरु सांसारिकताको तलाउमा पौडीरहंदा उ किनारमा उभिएर तलाउ र पौडीबाजहरुको गतिबिधि नियाल्छ ... उ भिडमा छ तर एक्लो छ , उ एक्लो छ तर भिडमा छ ! उ हरेक प्रश्नहरुको भिडमा छ , उ पर्दा पछाडिको सत्यताको सोचमा अल्झिएको छ , मलाई के लाग्छ भने यो त्यहि बहुलापन हो जसले सिद्धार्थलाई राजमहलबाट बाहिर आउन प्रेरणा दियो , यो त्यहि बहुलापन हो जसले बर्षौ देखि चलिआएको बुढ्यौली , रोग र मृत्युमा भिन्नता देख्यो , सत्यताको छनक पायो, अनुतरित प्रश्न भेट्यो , यो त्यहि बहुलापन हो जसले उनलाई रोटि र सम्भोगभन्दा टाढा स्थायित्वको खोज तर्फ दौडायो , यो त्यहि बहुलापन हो !!

बहुलापनको बाटो हुँदै व्यक्ति पागलपन अँगाल्छ ! पागलपन सुन्यवादको त्यो अवस्था हो जहाँ व्यक्ति संसारिकताबाट

टाढा रहन त सक्छ तर अझै संसारिक नै रहन्छ । दिमागीय धरातलको उच्चतम बिन्दुमा अवस्थित व्यक्ति पागल वा सुन्यवादी हुन्छ भन्ने मेरो ठ्यम्याई हो , जुन निर्वाणको परिधि ननाग्दा सम्म विद्यमान रहिरहन्छ । सुन्यबाद, बिचार सुन्यताको अवस्था पक्कै होइन, व्यक्ति सांसारिकताको दैनिकिबाट सुन्य छ तर खोज , डर उसमा व्याप्त छ । उसमा मुक्तिको डर छ , स्वतन्त्रताको डर छ र खोज छ , उ दौड सुन्य छैन , उ बिचार सुन्य छैन, उसमा दौड व्याप्त छ मुक्त हुने दौड । ध्यानको चरम अवस्थामा पनि दौडबाट मुक्त हुन नसकेको स्थिति हो पागलपन । उ सत्यको नजिक त अवश्य नै हुन्छ तर पनि उ संग केहि पनि छैन !! यो यहि पागलपन हो जसले सिद्धार्थलाई दरबार परित्याग गर्न लगायो, र ध्यानमा तल्लीन हुन सिकायो , यो त्यही पागलपन हो जसले बुद्धत्वको मार्गमा सिद्धार्थलाई हिँडायो, यो त्यहि पागलपन हो ।

पागलपनको उच्चतम बिन्दु जहाँ दौड आएर समाप्त हुन्छ , जहाँ खोज हुँदैन त्यहि बिन्दुबाट मोक्षको पादुर्भाव हुन्छ।

यो अवस्था सत्यता वा चेतनाको त्यो अवस्था हो जहाँबाट फर्कने र अगाडी बढ्नेको कुनै दुबिधा रहँदैन। हरेक दौडहरुको अन्त्य हो मोक्ष । बुद्धत्वको प्राप्ति हो मोक्ष । बिचार सुन्यताको अवस्था हो मोक्ष , बिचार सुन्यताको अवस्था हो प्रेम , बिचार सुन्यताको अवस्था हो बुद्धत्व । यो त्यो अवस्था हो जो सदैव हामी माझ नै छ हामी भित्रै छ तर पनि अपरिचित छ । यो त्यो अवस्था हो जहाँ सिद्धार्थहरु बुद्ध हुन्छन ।

बहुलापन हुँदै मोक्ष सम्मको यात्राको कुनै निश्चित दुरी वा समय हुन सक्दैन भन्ने मेरो ठम्याइ छ, धेरै कम व्यक्ति बहुलापनसम्म पुग्न सक्छन , त्यहाँबाट पनि निकै कम व्यक्ति पगालपनको सुन्यवादी अवस्थामा पुग्न सक्छन् र बिरलै कोहीले बुद्धत्व प्राप्त गर्छन् ।

 

यी माथिका बिचार मेरो अन्तस्करणबाट प्रबाह भएको मेरो व्यक्तिगत बिचार हो । माथि नै उल्लेख गरे अनुसार यी हरफहरुलाई हल्का वा गम्भीर ढङ्गमा नबुझ्न वा नपढ्न म सबैमा अनुरोध गर्दछु ! मानिस संधै सुखप्राप्ति मै तल्लिन छ तर यो तल्लिनतामा मानिसले कतै भड्किएर, झुठलाई सत्यको रुपमा बुझ्दै, सुखको सट्टा आफुलाई दुखैदुखको उजाड मरभुमिमा पानीको आशमा मृगतृष्णाहरु पछाडी दौडाइरहेको त छैन भन्ने प्रश्न संधै मेरो मास्पटलमा उब्जिरहन्छ, त्यहि प्रश्नहरुकै प्रतिबिम्बको रुपमा माथिको बिश्लेष्ण उब्जिएको म ठान्दछु। एउटा ठोस सत्यताको ज्ञान हासिल नगरुन्जेलसम्म यस्ता प्रश्नहरु र बिचारहरू उब्जिरहनेछन र लाग्छ जन्म, मृत्यु, रोग, बुढ्यौली र इश्वर माथिको बहस चलिरहन्छ!!

 

२०७१/८/२१ © बिमोचन घिमिरे !!

Friday, December 5, 2014

सुसाइड नोट !!



थाति राखेको एउटा काम
हतारिदै गर्दैछ हात
धेरै भयो रोकेको मैले
आश्वाशनका उराठलाग्दा
शब्दहरु संगै
मिति सार्दै थिएँ
तर आज
कलम समाइरहेको मेरो हात
अठोट गर्दै लेख्दैछ
प्रियजनको नाम
साथीसंगीको नाम
समाजको नाम
अन्तिम पत्र  

केहि क्षणमा
मेरो गलामा पासो
हाल्न तयार हात
अहिले कलमका धमिनीहरुबाट
रगत निकाल्दै
फुकाउदै छ आफ्नो सारा बेदना

चरम यातना
संधैको बिलौना
आज खोल्दैछ
सबै पोकाहरु
उन्मुक्तिको आभाष दिलाउंदै
लेख्दैछ आज
सबैको लागि

ए ! मेरो लाशको रमिते बन्न आउनेहरु
खबरदार
मेरो लाश माथि
तिम्रा सहानुभूतिका आँशु नझार
तिम्रा घृणाका आवेग नझार
मेरा परिवार तर्फ हेर्दै
तिनका ओसिला आँखाहरु माथि 
ति चिसा आँशुहरु माथि 
कुनै समबेदनाका कृतिम शब्द नखनाउ
म माथि कायरताको लान्छना नलगाउ
म मरेको छैन
म हारेको छैन
म भागेको छैन
सिरिफ
व्यस्त जीवनबाट
थकित भएर 
बिश्राम लिंदैछु !!
२०७१/०८/१९ © बिमोचन घिमिरे !


Monday, December 1, 2014

सेमी-रिटाएर्ड



पेन्सनवाला बुढो लाहुरेझैं
जीवनको एक पाटोबाट
अवकाश पाएपछि
रोगी मलेवा जस्तै
झोक्राउँदै
आफ्ना पुराना स्मृतिहरु
र नयाँ आशाहरुसंग
खेल्दै , जिस्किंदै
अनायासै बहने समयका
अन्तहीन सुइहरुसंगै
झुण्डाइएको भित्ते पात्रोमा
दिनहरु गन्दै
हिउँदको पारीलो घाममा
अल्छीपना र दिक्दारी समेत
धेरैका अर्ति ,आदेश र उपदेशहरुको
बिस्कुन सुकाएर
व्यस्त संसारबाट अलग्गिएर
ढुक्कसंग
लम्पसार परेर
निदाइरहेको
सेमी-रिटाएर्ड म !! 

२०७१/०८/१५ © बिमोचन घिमिरे !!

Thursday, November 6, 2014

सम्झना


सम्झनामा आज,
त्यहि आँशुको, झझल्को आयो
झारेका तिमीले सम्झनामा कतै
गुगल 
त्यो बिरानो देश, कल्पनामा आयो ।

सत्यताको तितो जहरले होला
झरेका थोपा, आज आँखामा आयो ।

खबर त्यो, ताजा छ अझै
बिगत त थियो बर्तमान पनि होला
त्यो चिसो सम्झना, आज आँखामा आयो ।

गोधुली साँझ एक्लै छ आज
डांको छोड्दै, कराएको उसले
आँखामा फेरी, सम्झना आयो ।

जुनको शित ,आँखाको आँशु
शब्द बन्दै पानामा आयो
सम्झाना बन्दै आँखामा आयो  
त्यो बिरानो देश कल्पनामा आयो
त्यहि आँशुको, झझल्को आयो ।।
 २०७१/०७/२० बिमोचन घिमिरे   




Saturday, October 25, 2014

खोजिरहेछु !!

खोजिरहेछु !!

त्यो मखमली
त्यो सयपत्री
यो रङ्गीचङ्गी वातावरणमा
रम्दै गरेकी प्रकृति
दन्ते लहर देखाउंदै
जिस्काउँछे मलाई
अश्रुधारा चुहाई
रुवाउँछिन मलाई
म खोजिरहेछु कतै
हातहरु भेट्टिन्छ्न कि यतै
निस्प्राण जीवनबाट
थकित जगतबाट अन्तै
पुर्‍याउँछन कि मलाई
संसार सुस्ताउँछ जहाँ
म खोज्दै छु नौला आशाहरु
हरेक मानिस , हरेक अनुहारहरु
निराश भावनाहरु
एक्लिएका क्षणहरु
म खोजिरहेछु त्राण सबैबाट
म खोजिरहेछु त्यो स्नेही हात
टिका निधारमा .........

२०७१/०७/०८ बिमोचन घिमिरे !!

Friday, October 3, 2014

त्यो आँगन


त्यो आँगन
जहाँ बाल्यकालको
जीवन थियो
आश्रय थियो
आज,
छिनियो
भत्काइयो
समय बदलियो
सम्राज्य बदलियो
अहंकारको महल छ त्यहाँ
आँगन होइन दलदल छ त्यहाँ !

तिर्खा लाग्यो ?
भोक लाग्यो ?
आश्रय चाहियो ?
लाग्यो न्यास्रो आफन्तको ?
त्यो आँगन छ
भरिभराउ छ
त्यहाँ के छैन ?
सबथोक छ,
अविश्वासको खाडल छ
अहंकारको परखाल छ
आहाल छ आलो रगतको;
भाइचारा रेटिएको छ
आफ्नोपनका गलाहरु काटिएको छ
बचनका तिखा छुराहरु
रोपिएका छन् छाति भरि !

बिचमा गाडिएको लिङ्गो माथि
विराजमान छ एउटा सिंहासन
जहाँ हिटलर सम्झाउने गरी
१०४ ब्यूँझाउने गरि
कोहि उभिएको छ
"हामी" होइन
"म" छ त्यहाँ
दाह्रा गाड्दै हास्छ त्यो
जग रूवाउँदै, हास्छ त्यो
तर,
त्यहीं बाट सुनिन्छ
मानव सेवाका बखानहरू
धर्मका अनेक आख्यानहरु
अचेल घण्टको ब्यापार छ
मन्त्रको संचार छ
न्याय मौन छ
तराजुमा मोलमोलाई छ
पैसा छ त्यहाँ पैसा
हरिया हरिया
खस्रा खस्रा
लठ्ठ छन सबै
कागाजी अत्तरहरुमा
लाम छ , भोज छ
आस्तिकहरुको ठुलो हल्ली खल्ली छ
आज भब्य समारोह छ,
आँगन, 
तिर्थस्थल बनेको छ !
संसार भुल्छ अस्तित्व
जग ढोग्छ सिंहासन
धिक्कार छ धिक्कार छ !!

गन्हाइरहन्छ भाइचाराको
आलो लाश
रगतका टाटाहरु छरिएका छन् 
सलबलाई रहन्छ दानबी आँखाहरु
दाउ पर्खिरहेको छ
मृग मार्न बसेको
बघिनी झैं
दाह्रा तिखार्दै 
नंग्रा तिखार्दै
झम्टनेछ एकदिन
घांटी निचोर्नेछ  
तर युग बदलिएको छ
मृग,
तयार छ , तयार छ !!

२०७१/०६/१७  © बिमोचन घिमिरे !!







Monday, September 1, 2014

नलेखिएको चिठी


रात्रीकालिन प्रहारहरू संगै
सुनसान अँध्यारो बीच
मन फुकाउने प्रयास गरें
जुनको मलिन प्रकाश मुनि
एउटा पाना लडिरहेको थियो
आज त्यहि पाना संगै
मन भित्रका शब्द संगै
छिप्पिदै गएको रात र
म बगिरहेका छौँ
अतितको भेल हुँदै बर्तमान सम्म

कति नसुनाएका कथा
कति नभनिएका उत्तर
सबैको लेखाजोखा गर्दै
त्यो खाली पाना
भर्दै छु म

कति उत्तरहरु नदिई पन्छिएं
कति भावनाहरु नसुनाई लुकाएँ
ति सबैको पूर्ण बिबरण बोक्ने
स्वेत पत्र हो त्यो पाना
जसको हरेक शब्द तिमीमा आएर रोक्किन्छ
तिमीमै आएर त्यसले गन्तब्य पहिलाउँछ
तर आज सम्म तिम्रो सामु नउभिएका शब्द हुन् ति
त्यसैले रनभुल्लमा परेका छन् गन्तव्यहीन भएर

धेरै खोजें तिनलाई तिमी सामु ल्याउन
तिनका यात्रा सफल तुल्याउन
तर म संगै तिनी पनि मौन छन्
मैनबत्तिको शिखा जस्तै !

ट्वाक्क ..ट्वाक्क
बज्दै गरेको भित्ते घडी 
रात्त छिप्पिदै जान्छ
मैन पग्लिंदै जान्छ
सुसाउँदै गरेका नदीहरुको बेग संगै
अतित ब्युँझीन थाल्छ
पानाहरुमा छरिन्छ
तर भरिएको पाना लुक्दछ
निभ्दै गरेको मैन संगै
भित्र भित्र हराउँछ !

यसरी नै हरेक रात
शब्दहरु पानामा छरिन्छन 
तर
संधै एउटा अपुरो चिठी
मौनताको कुहिरो भित्र हराउँछ !! 
 
२०७१/०५/१० बिमोचन घिमिरे


ShareThis