कवि कविता किनेर बाँच्न हुँदैन
कविता कवि बेचेर बाँच्न हुँदैन
एक जोडी, एक प्रेमी, एक मुटुहरु
एकले अर्कोलाई छोडेर बाँच्न हुँदैन ।।
कोहि आउँछन शब्द-शब्द बुझाउंदै
कोहि तितो यथार्थ सुनाउँछन
कसैले कोर्छन अधुरो सपनाको महल
तर बाँच्न त हरेक अक्षर बाँचिरहन्छन
कोहि हाँसेर, कोहि हाँस्न लगाएर
कोहि रोएर, कोहि रुन लगाएर
हरेक मौनतालाई, आफ्नो आवाज दिंदै
हिंड्दै छन् आज पनि ठमठम
उही पुरानो चप्पल
अनेक धुलो खाएको कोट
र खैरो पाइन्ट ।
सेतो कपाल फरक योवन दर्शाउँछ
हराएका दाँत, बाल्यकालको कथा सम्झाउँछ
झरी सुकेका आँशुहरु संघर्ष बतलाउँछ
गन्तब्य खोजिरहन्छ, चाउरिएका गाला बिचको
लामो मुस्कान ।
बदलिएको शहरको भिडमा पनि
उही पुरानो गल्लीले संधै बोलाउँछ
बर्षौंको मेहिनेतले ठडिएको घर
त्यहि घरको झ्यालमा चन्द्रमा,
हरेक रात चिहाउँछ !
आज पनि कलमहरु व्यस्त छन
पानाहरु पुष्ट छन्
सुन्ने, सुनाउने होला नहोला,
खोज्ने, रोज्ने होला नहोला
तर
बासेको कुखुरा देखि
सुनसान सडकमा उभिएर कराउने कुकुरसम्म
अथक हात, दिमागहरू
खोजिरहन्छन आजपनि, हिजोजस्तै
उही पुरानो
एक जोडी, एक प्रेमी, एक मुटुहरु ।
त्यसैले
कवि कविता किनेर बाँच्न हुँदैन
कविता कवि बेचेर बाँच्न हुँदैन
एक जोडी, एक प्रेमी, एक मुटुहरु
एकले अर्कोलाई छोडेर बाँच्न हुँदैन ।।
२०७३/५/२२/ बुधवार