Wednesday, November 11, 2015

सधैं झैं .....


सधैं झैं
मेरो शहरले, आज पनि अन्धकार देख्यो
कसैले नसुन्ने, त्यो एउटा चित्कार लेख्यो ।
म बाचुन्जेल सम्म नमेटिने,
खै किन हो ? कसले ? यो शुन्यता लेख्यो
मेरो शहरले, आज पनि अन्धकार देख्यो ।।

बलिरहेको बत्ति मुनि, सधैं एउटा अँध्यारो कोर्‍यो
हाँसो-मजाक बीच, सधैं एउटा निराशा रोज्यो ।
किन किन मलाई पनि उदेक लाग्छ,
के पाउन हो ? विधाताले यो कथा लेख्यो
मेरो शहरले आज पनि अन्धकार देख्यो ।।

भुलाउन खोज्छु, तस्विर सामु आउँछ
त्यहि तस्विर हेर्दै मन पनि रोयो
निको नहुने एउटा घाउ, फेरी दुख्यो
सान्त्वना दिन हातले, एउटा बेदना लेख्यो;
सधैं झैं
मेरो शहरले, आज पनि अन्धकार देख्यो ।।

 २९०७२/०७/२५ बिमोचन घिमिरे !







Saturday, October 24, 2015

उसकै लागी .......



तिमी आउँछौ, शब्दहरु छरेर जान्छौ
संगालेर बुझ्न त मलाई पर्छ
कति गाह्रो छ यहाँ, उस्तै रहन
सम्हालेर हाँस्न त मलाई पर्छ ।।

यसो गर्छु, उसो भएन भन्छौ
तिमी पहिले जस्तो रहेनौ भन्छौ
कहाँ फ़ेरिएछु, कस्तो फेरिएछु
आफ्नो अनभिज्ञता बुझ्न त मलाई पर्छ ।।

कति बुझ्न गाह्रो हो ति शब्द पनि
घुमाउरो पारामा धेरै भनेर जान्छौ
संधै नयाँ पिरलो थपेर जान्छौ
किन बुझ्दैनौ ?
अनिदो रात कटाउन त मलाई पर्छ ।।

२०७२/०७/०७ बिमोचन घिमिरे !!


Tuesday, October 20, 2015

मदेश; आधिकार, आन्दोलन र बर्तमान परिवेश


                                                             बिमोचन घिमिरे

मदेशले नपाएको मुलभूत अधिकार भनेको आत्मसम्मान हो ! कालो बर्ण देख्दैमा धोति, बिहारी, मदिशे भन्ने प्रबृत्तिले नै मदेशी समुदायमा आफु हेपिएको भावना जागृत गराएको जस्तो लाग्छ ! सामाजिक रुपमै विद्यमान यो समस्याले सरकारी कार्यशैलीमा पनि प्रभाव पार्‍यो र मदेशी समुदायलाई दोश्रो दर्जाको नागरिक सरह वा बिदेशी सरह हेर्ने क्रम बढ्यो ।

त्यो बिगत थियो तर अहिले समय बदलिएको छ; सामाजिक चेतना र आपसी सम्पर्क बढे संगै हिजो रहेको त्यो सोच बिस्तारै हट्दै गएको छ ।  नागरिक शिक्षा र चेतनाको स्तर निकै माथि पुगेको छ जसले गर्दा आज कसैलाई हेप्ने वा रुप, जात, लिङ्ग, बर्ण को आधारमा कसैलाई भिन्न ब्यबहार गर्ने प्रवृत्तिमा क्रमिक रुपले कमि आउंदैछ । राज्यले बनाउने योजना, कानुनहरुमा समेत बिभेदको अन्त्य र समान पहुँचको अवधारणाको बिकास भैरहेको छ र हुने क्रम अझै जारी नै छ । हालै जारी भएको नेपालको संबिधानले पनि समानता र विभेदको अन्त्य सहितको बहुधार्मिक, बहुजातीय, बहुसाँस्कृतिक, बहुभाषिक राज्यको परिकल्पना गरेको छ । जात, धर्म, भाषा, लिङ्ग, बर्ण को आधारमा हुने भेदभाव अन्त्य गरी राज्यका हरेक अङ्ग, क्षेत्रमा समान अधिकार, पहुँचको परिकल्पना र ब्यबस्था यस संबिधानले गरेको छ । पिछडीएका समुदाय, क्षेत्र, लिङ्ग, बर्ग सबैलाई समान पहुँचको अधिकार प्रदान गरी समावेशी, समानुपातिक प्रतिनिधित्वको सुनिक्षितता गरेको छ यस संबिधानले । केहि मतभेद होला तर सारभूत रुपमा हेर्दा नेपालको संबिधानको भावना/मर्म कुनै पनि ढङ्ग वा बहानामा हुने विभेदको अन्त्य गर्दै समान, समावेशी, लोकतान्त्रिक, स्वतन्त्र राज्यको निर्माण नै रहेको देखिन्छ । 

विभेद एउटा सामाजिक रोग हो । समाजमा विद्यमान अशिक्षा, गरिबी, चेतनाको कमी नै विभेदको कारक तत्व हो । अशिक्षित समाज सदैब विभेदको शिकारमा पर्छ । जबसम्म समाजमा नागरिक चेतनाको स्तर निकै न्यून रहन्छ तबसम्म अधिकार/कर्तब्य, सामाजिक एकताको महत्व र यी पक्ष बीचको अन्तरसम्बन्धबारे जनमानसमा कुनै प्रकारको ज्ञान हुँदैन जसले गर्दा समाजमा जातीय, बर्गीय खाडल बढ्दै जान्छ र सामजिक विभेदको आयतन बढ्न जान्छ । नागरिक चेतनाको कमी संगै समाजका आर्थिक, सामाजिक, राजनीतिक क्रियाकलापमा नागरिक सहभागिताको आधारशिला तयार हुँदैन जसले गर्दा राज्यले प्रदान गर्ने सेवासुविधाको लाभ पाउनबाट सिङ्गो समाज नै बञ्चित हुन्छ र राज्य शक्तिमा व्यक्तिको पहुँच पनि शुन्य प्राय नै रहन जान्छ । तर जब जब समाजमा नागरिक चेतना बढ्दै जान्छ तब तब सहभागिता बढ्दै जान्छ र समाज आधुनिकता र बिकासको बाटो तर्फ लम्किन थाल्दछ । आहिले हामी पनि यहि मोडबाट गुज्रिरहेका छौं । बिभिन्न राजनीतिक आन्दोलन, युद्द संगै नेपाली समुदायमा चेतनाको लहर बढ्यो र बिभिन्न उथलपुथललाई पार गरी नेपाली समाज निरङ्कुश र सामन्ती युगको/सोचको क्रमिक रुपले अन्त्य गर्दै अगाडी बढिरहेको छ र यसैको फलस्वरूप देश समावेशी लोकतन्त्रको युगमा प्रवेश गरेको छ जसलाई एउटा आकार प्रदान गर्ने काम नेपालको संबिधानले गरेको छ ।

तर संबिधान जारी संगै तराईमदेश शान्त छैन, महिनौ लामो आन्दोलन, बन्दको शृखंला चलिरहेको छ, जसक्रममा मानवअधिकारको गम्भीर उल्लंघन हुनेगरी हत्या/हिंसाको कयौं दुखद घटनाहरु पनि घट्यो; जसले सिङ्गो समाज र देशमा नै साम्प्रदायिक बिखण्डनको सोच उब्जायो जुन आफैमा आत्मघाती र राष्ट्रघाती सोच हो र यो हुनु सभ्य समाज, देश र यहाँ बस्ने नागरिकहरुको लागि दुखद हो । यो आन्दोलन हुनुको मुख्य कारण बिगत देखिन रहेको हेपाह प्रवृति र यसले उब्जायो गहिरो सामाजिक अबिश्वाश नै हो । राजनीतिक स्वरूप लिंदै शुरु भएको यो आन्दोलन कहिले सामाजिक, कहिले क्षेत्रीय, कहिले साम्प्रदायिक र कहिले राष्ट्रिय रुप लिंदै समर्थन र बिरोधको स्वर संगै अघि बढिरहेको छ ।

Saturday, October 3, 2015

ओ साथी रे .......


"में गली या चौराहे पे ओ गीत नहीं गाता, नहीं ! बल्कि जब कबि उस खोए हुवे हमदर्द कि याद आती है , जब कबी जिन्दगि से मायुश हो जाता हुँ .ओ गीत गुन्गुनाया कर्ता हुँ "........................

यो गीतको शुरुवाती क्रममा अभिताभ बच्चनले बोलेको यो छोटो पंक्तिले रमेशलाई संधै छुन्छ । आजसम्म उसले यो गीत कतिपटक सुन्यो , उ आफैलाई पनि कुनै अन्दाज छैन होला तर जतिपटक उसले यो गीत सुन्यो , गीत भन्दा पहिले आउने यी शब्दहरुले नै उसलाई भित्रैबाट हल्लाएर गयो, त्यसपछि उसमा आउने आकस्मिक परिवर्तनबाट उ आज सम्म उम्केको कुनै रेकर्ड छैन । गीतमा यी शब्दहरु किन आए , कुन प्रसंगमा बोलीए त्यसको आफ्नै बिश्लेष्ण होला तर रमेशको लागी यो शब्द उसको वास्तविकताको एउटा अंश हो, जो हरेक समय यी शब्दहरुले ब्युझाइरहन्छ । यी शब्दहरु संगै उ हरेक पटक स्मृतिको एउटा यस्तो अविश्मरणीय कालखण्डमा पुग्छ जसबाट जती भागे पनि उ उम्किन सक्दैन ।

सास एक्कासी फुलेर आउँछ , आँखाहरु रसाउन थाल्छन, शरीर भरी एउटा अनौठो तरंगको संचार हुन्छ कताकताबाट चिसो हावाको झोकाले हानेको जस्तो जीउ शिरिङ्ग हुन्छ ..... त्यो दिन पनि यस्तै भएको थियो उसलाई जब उसले रमालाई भेटेको थियो; भिन्न परिवेश तर उही अवस्था ।

"रमा" यो नाम उसको मानसपटलमा उब्जने बित्तिकै रमेश अचेल मौनताको यस्तो सन्नाटा भित्र पुग्छ जसलाई उ आफै पनि कुनै शब्दमा व्याख्या गर्न सक्दैन । रमा को हो ? उसको रमेशको जीवनमा के अर्थ छ ? यी यावत प्रश्न सोध्ने/सोच्ने सबैलाई दिनसक्ने उत्तर रमेशसंग आज यहि मौनता नै छ; एउटा यस्तो मौनता जसले केहि बोल्दैन , केहि भन्दैन तर सबै थोक सुनाउछ तर बिरलै कोहि छन बुझ्ने ऊ बाहेक .....

आँखा रसाउछ; गह भरी मनका अनेक भावना संगालेर, उम्लिएका आवेग सेलाएर बनेको चिसो स्मृतिका तालहरु एक्कासी फुट्छन ति संगै उसका अनगिन्ती चिठीहरु, कविताहरु, गीतहरु कोरस मिलाउदै एउटा मिठो संगीतमा तिता-मिठा यथार्थहरुलाई चरितार्थ गर्दै गाउदै बग्छ्न ...........उ सुनिरहन्छ !!

तालीको ठुलो गड्गडाहटले रमेशको ध्यान भङ्ग हुन्छ .... गीत सक्किएछ !!!


०७२/०६/१६ 


Friday, July 24, 2015

विभाजन


सियासी मोहरको
बन्द इशारामा
कोरिएका सीमारेखाले
जब सम्बन्ध र मनहरुबीच
दरार ल्याउन सक्दैन
तब दुई तर्फका सियासी सकुनीहरु
हतियार समाउँछन

काँडेतार बेरिएको दशगजाभित्र
एकअर्कालाई तेर्साउँदै
जबरजस्त
आफ्नाहरू रेटीन्छन
भगाइन्छ्न, लुटिन्छन
प्रतिकारगर्नेहरुलाई दोषी करार गरिन्छ 

सिङ्गो उभिएको धर्ति विभाजित हुन्छ 
निर्दोषका रगतले लतपतिएको
दुई मुलुक जन्मिन्छ ।।



Monday, June 29, 2015

ऊ मरी !


हल्लाइनु र लड़ाईनुको
दैनिक बाध्यताबीच
मृत्युको पर्खाई थियो होला
तर मृत्यु थिएन ।

आत्मग्लानीका रापहरुलाई
गरीबिको कसिलो बन्धनले निमोठेर
अनेकथरी मानिसहरुको,
तातो स्वास र भार बोकेर
व्यस्त शहरबीच उभिएको
चारकुने अन्धकार भित्र
स्खलित करौडौ नवजात थोपाहरुजस्तै
आफ्नो गुम्सिएको परिचय बोकेर
बेनाम बाँचिरहेकी ऊ
जब
मृत्युको आलिङ्गन बोकेर आएको
नौलो हलचलसंगै गइन
आफ्नो शरीर असरल्ल छोडेर बिलाइन ।

देखेर मुख मिठ्याउनेहरु
परिचित थिए
हरेक कुनाकाप्चा, चुलीहरु सित
तर अपरिचित उसको मौलिक परिचय
ऊ संगै बिलायो
बेपत्ताहरुको सुचिमा ।

तर बाँचीनै रह्यो
बाउआमाको भोको पेट
भाइबहिनीको अधुरो पढाई
र उसका टुहुरा सपनाहरु ..... ।।

२०७२/०३/१४ © बिमोचन घिमिरे


Sunday, June 21, 2015

"शहरबासी"


कुरा आफ्नै परिवेशको आफ्नै दैनिकीको , हुनत भन्दा म शहरबासी । काठमाण्डौमा घर भएको , यत्ति सुन्दा पनि मेरा सबै साथीहरुको कान ठाडो हुन्थ्यो/हुन्छ, "ओहो काठमाण्डौ बासी ?", "अझ रैथाने ?", "मोज छ है ?", "तँलाई त दु:ख भन्ने के थाहा ?", "साला पैसा-पैसा मात्र होला तँलाई", "भाग्यमानी रहेछस यार तँ त" , "गाउँ भन्ने तँलाई के थाहा ?" संधै वा मेरो घर ठेगानाको कुरा आउने बित्तिकै मैले धेरै जसो यिनै प्रश्नहरुको सामाना गरिरहनुपर्छ आज सम्म पनि ! जब जब मेरो ठेगाना बारे मेरा धेरै मित्रहरु अबगत हुँदै जान्छन, उनीहरुले म संग संधै गर्ने कुरा भनेको पैसाको मात्र हुन्छ, सोच्थे म संधै पैसाकै तलाउमा संधै आहाल बस्छु, मेरो जीवन फरक छ ..... खोई किन सोच्छन उनीहरु त्यस्तो ? मैले आज सम्म कुनै भेउ पाउन सकेको छैन । सबैको सपनाको नगरीको रुपमा आफ्नो केहि परिचय जुटाएको यो शहर भित्र एउटा कुनामा कुनै स्थायी बसोबास हुनु सबैको लागी सायद ठुलो लाग्नु स्वाभाविक पनि होला तर यस्तो सोचाई उनीहरुमा आइराख्दा उनीहरु यो शहरको व्यापकता र यो शहरको भित्री यथार्थ बारे अबगत छैनन कि झैं लाग्छ मलाई !

शहर सबैको लागी शहर हुँदैन र शहरबासी हुनुको यो अर्थ होइन कि सबै सुबिधा, अवसर प्राप्त गर्नु उसको लागी सामन्य बालखेल जस्तै हो , पुर्ख्यौली रुपमा बसोबास गर्दै आएको ठाउँ कुनै बेला शहर हुन्छ र व्यक्ति शहरबासि कहलिन्छ तर नाममा फरकपन आउंदैमा व्यक्ति, उसको परिवार वा समग्र समाजको बिकास हुँदैन झन् शहरबासी भनेर नयाँ परिचय आफ्नो पोल्टामा पाएपछि उसले झन् थप नयाँ समस्याहरु संग जुध्नुपर्छ; महंगी , जनसंख्याको चाप , बिग्रदो वातावरणको प्रभाव, गाँस-बाँस-कपास,रोजगारी जस्ता अत्यावाश्यक कुरामा बढ्ने चाप आफ्नै ठाउँमा छ झन् उही पुरानै आर्थिक हैसियत भएकै अवस्थामा लाग्ने थप नयाँ करको मारले अझ जीवन चलाउन र धान्न मुश्किल पर्छ तर यी यस्ता समस्या कसैले पनि देख्दैन , उ सिरिफ हेर्छ शहरबासीको ट्यागको रवाफिलो आडम्बर अनि भन्छ "अरे यार तँ त शहरबासी" !!

बिहान उठ्ने बित्तिकै रित्तो गाग्री, बाल्टिनले संधै दिक्दारी पूर्ण दंगले शुभप्रभातको पेचिलो मौन बाण हान्छ वा मध्यरातमा उठेर धारो अगाडी उभिंदै फिस्स निस्किने हावा निलेर खाली भाँडा हेरेर अमिलो मन लिएर पुन: सुत्न खोज्नु पनि यो कथित शहरमा बस्ने कथित शहरबासिले भोग्ने दिनहुँ जसो समस्या हो ! खाली भाँडा लिएर लाम बस्ने काम त यो पंक्तिकारले पनि गरेको छ र बेलाबेलामा अझै पनि यो सौभाग्य प्राप्त हुन्छ । हामी पनि दैनिक गुजारा चलाउन मिहिनेत गरेर नै काम गर्छौ , बिहान देखिन बेलुका सम्म आफ्ना बिभिन्न काममा जोतिन्छौँ तर खोई किन हो भन्नेले मलाई यति सम्म भने " तिमीहरुलाई बसी बसी काम नगरी खान पुग्छ , हामी जस्तो पसिना चुहाएर काम गर्न पर्दैन " खोई कताबाट यस्तो सोच्ने फुर्सद मिल्यो मलाई थाहाछैन , यस्ता बिचार लिनेलाई के जबाफ दिने ? .. अनि "हो हो.. ठिकै भन्नु भो , भनेर फिस्स हाँस्ने अनि बाटो लाग्ने बाहेक पंक्तिकारले आज सम्म केहि अरु गर्न सकेको छैन । कहिले काहीं सम्झाउन पनि खोजिन्छ , ए बाबा कसैले गलत बुझेको छ भने सहि कुरो सुनाउन त मन लाग्छ , त्यसै पन्छिन काहाँ मन हुँदो हो तर बुझ्न खोज्न नचाहने र संधै उही कुरो नै जपेर बस्नेलाई के गर्ने ? जय होस् भन्यो बस्यो ! तर उहाँहरुलाई एउटा कुरो त भन्न मनलागी हाल्छ ... "अरे यार तँ त शहरबासी" ।

यो शहरका शहरबासी पनि अरु जस्तै आमाको पेटमा ९ महिना बस्छन अनि जन्मन्छन तर कोहि कोहि मेरा मित्रहरु भने म आकाशबाट हट्टाकट्टा भएर फुत्त झरेको झैं गर्छन , कुरै त्यस्तो गर्छन त शंका नगरी नि भएन । अब एउटा सामान्य मान्छेलाई सामान्य हिसाबमा कुरा गरे पो सामान्य ढंगमा लिन सकिन्छ कुरा गरेको सुन्दा अर्कै ग्रहबाट आएको ठान्छन कि झैं लाग्छ । हामी नि खुशी हुँदा हास्छौँ , दुख्दा रुन्छौँ , सबैमा हुने स्वाभाविक मानवीय प्रतिक्रिया सबै हुन्छ , जीउ नि हाड छाला मासु ले नै बनेको छ , अब कसमा कति किलो भन्ने जोखेर बर्गिकरण गर्ने हो भने कुरो बेग्लै हो , त्यसो गरे त कोहि नि समान हुन्नन , त्यसैले कुरो को चुरो बुझ्न अत्यन्त जरुरी छ, अब कसले बुझाइदिने ? संधै मित्रहरुलाई "तँ त शहरिया यार" भन्नैमा फुर्सद छैन उहाँहरुले कहिले बुझ्ने ??

एउटा कुरा के नि लाग्दो रहेछ भने मित्रहरुलाई कि शहरमा बसे सी गाउँले परिवेश, खेतीपाती, बनजंगल, खोलानाला, गाईबस्तु, पशुपंक्षीबारे केहि ज्ञान नै हुँदैन । हो संधै दिनैपिच्छे गाउँघरमा जस्तो मेलापात,घाँसदाउरा गर्न पर्दैन तर यसको मतलब यो होइन कि हामी यस बिषयमा पुरै अनविज्ञ हुन्छौं र यहि बिषयलाई लिएर संधै खिसिट्युरी गरिराख्न नि पर्दैन । ठेट भाषा, जीवनशैली, रहनसहन बारे त अर्कै भेग वा ठाउँको जो पनि अनबिज्ञ रहन्छ त्यसमा ठुलो कुरो रहेन नत्र यहाँ पनि गाउँ छन , अलिक केहि समय लाएर मुख्य केन्द्र भन्दा बाहिर गए यहाँ पनि गाउँले परिवेश मज्जाले भेट्टीन्छन र लगभग सबै संग यसको अनुभव छ । ठुला ठुला चट्टानी पहिरो झर्ने भिर , भन्ज्यांग देखिन दिउसै बाघ आउने बन पनि यहाँ पाइन्छन नपाइने होइन । पंक्तिकारको मावलनै यो शहर भन्दा बाहिर छ, अब गाउँले परिवेश रहनसहन, दैनिकी बारे थाहा नहुने नहोला क्यारे , मित्रगण ?? सानै भए नि करेसाबारीमा यसोउसो तराकारी उमार्ने खाने पनि नगरेको होइन गरेकै हो तर यसो भन्दा नि मित्रहरुलाई पत्यार लाग्दैन वा उहाँहरु पत्याउन नै चाहनुहुन्न कि ? के हो कुरो उहाँहरुलाई नै थाहा होला यति बिघ्न भन्दा नि उहाँहरु , मलाई भिन्न नै देख्नुहुन्छ , "अरे यार तँ त शहरबासी" भन्न छोड्नु हुन्न ।

कुरो गर्यो कुरैको दुख भन्या जस्तो हेर्नुस , कुरो र कुलोको अन्त्य सितिमिति भेट्टाउन गाह्रो हुन्छ । अब लम्ब्याउँदै गरे , प्रसंग झिक्दै गए कति लेख्ने र कति पढ्ने भन्ने कुरोको दुबिधा बढ्छ त्यसैले पंक्तिकारले धेरै सुन्ने र धेरै जसो भोगेको र देखेको कुरो मात्र यहाँ गरेको हो अरु त सबैको आ-आफ्नै अनुभव होला । खैर पढ्दै जाँदा पंक्तिकारलाई शहरबासी शब्द देखिन नै रीस हो कि भन्ने भ्रम पर्न सक्छ तर कुरो त्यसो होइन , शहरमा बस्नेलाई शहरबासी भन्दा चित्त दुख्ने कुरो त के नै हुन सक्छ र ? तर कुरो के भन्देखिन यहाँ शहरबासी , शहरिया भन्ने शब्द धेरै जसो फरक वा भिन्न देखाउन , खिसिट्युरी गर्न बढी प्रयोग भएकोले त्यस्तो प्रबृत्ति बिरुद्द लेखिएको मात्र हो ।

सबैले सोच्ने जस्तो यहाँ धनाढ्य , सुख सुविधामा बाँचेका छैनन भन्न खोजेको पनि होइन, छन् तर थोरै छन् त्यस्ता, अरु अधिकांश त सबै, सबै जस्तै छन् , अब केहिलाई हेरेर धेरैलाई एकै नजरले हेर्न त भएन नि भन्ने बुझाइ हो । सबै उही हुन् , अवसर पाए सबै एक से एक भएर अगाडी देखापर्छन ,त्यसैले लघुताभासबाट माथि उठेर यो भन्दा म नि कमजोर छैन, मैले नि अवसर पाउँछु भन्ने सोच बिकसित गर्नुपर्छ भन्ने आशय दिन पनि पंक्तिकार अनुरोध गर्छ किनभने कतै कतै लघुताभासबाट गर्सित भएर नै तँ शहरबासि म गाउँले भनेर बर्गिकरण गर्ने गरेको पनि यो पंक्तिकारले पाएको छ, त्यसैले कुरा छेडिहालें ।

अरु सब माथि भने जस्तै हो, कसैलाई इंकित गर्दै भन्दा पनि आफ्नो मनमा गुम्सिएको केहि कुरा बाहिर ल्याएको मात्रै हो , गन्हाउने सायद भएको छैन होला नै जस्तो लाग्यो , लेख्दै गर्दा आफैलाई बेलाबेला बिभिन्न कुरा सम्झेर हाँस्न मनलागेको भएर नि गन्हाएको छैन भन्ने सहास आयो अरु त पढ्ने हरेकलाइ अन्य बिचार आउन सक्छ त्यो आफ्नै ठाउँमा छ ।
कलम छोड्न त मनलागेको थिएन तर लम्भाएर नि हुने केहि होइन , पढ्दै यहाँ सम्म आउनु भएको रहेछ भने हृदय देखिन धन्यावद टकराएं अनि आशागर्छु अब उप्रान्त " अरे यार तँ त शहरबासी" सुन्न नपर्ला  ।
उही पंक्तिकार ।।

०७२/०३/०६ ©बिमोचन घिमिरे

                                                                                                                                            

Sunday, April 12, 2015

साथी !!


तँलाई कस्तो छ साथी ?
म सन्चै छु
संधै-संधै तँलाई सम्झन्छु
धेरै भयो छुटेको
नदेखेको तँलाई
कस्तो भईस
के भईस
नभेटेको तँलाई

त्यो बालखपनको यादहरु
कक्षाको चुलबुल
त्यो संधैको हँसीमजाक
आज पनि सम्झना ताजै छ
म रुवाउँथें तँलाई
त हसाउँथिस खुबै
के गरें ? कसो गरें?
सोध्थिस संधै
धेरै भयो नदेखेको
त्यो हँसिलो अनुहार
नसुनेको साथी
तेरो त्यो आवाज

आज सोच्छु बस्दै
एकान्तमा एक्लै
राम्रो साथि म
बनिनछु कहिल्यै,

खोज्छु तँलाई भेटिन्छस कि कतै
गल्लि-चोक सडक बीच
देखिन्छ्स कि कतै
पुराना ती यादहरु
फेरी दोहोर्याउनु छ साथी
संगै बसेर घन्टौ लामो
तिता-मिठा बात मार्नुछ
अनि तँ संग हृदय देखिन
मेरा गल्तिहरुको लागि
माफी माग्नुछ साथी
माफी माग्नु छ !!

२०७१/१२/२९ © बिमोचन घिमिरे




Wednesday, April 1, 2015

म र मेरो गीत ...


म हिंड्छु
भौतारिंदै सडक बीच
कतै मेरो गीत गुन्जिन्छ कि भनि
कतै सन्नाटा गाउँछ कि भनि
म हिड्छु अचेल एक्लै 
कतै गीत सुन्छु कि भनि

खाली छैन सडक कतै 
हल्लाहरु दौडिरहन्छन
तर गाउने पनि कोहि छैन
शब्दहरु मरिरहन्छन

जुन होस् वा घाम होस्
या होस् बर्षात जीवनमा
संगीतहरु कुदिरहन्छन
गीतहरुको खोजीमा
भयो धेरै बिलाएको गल्लि-चोकबाट
एकदिन सबेरै निस्किएको थियो ऊ
कलमहरुबाट

बाटो बिरायो कि
भुलायो अतित आफ्नो
कि भौतारिंदै छ उ पनि
म जस्तै
यहि सडक बीच ??

२०७१/१२/१८ ©बिमोचन घिमिरे



Thursday, March 26, 2015

बर्षा

Photo-Google
मडराइरहेको कालो बादलको
जालो चिर्दै
जब हरेक थोपाहरु लालायित हुँदै
धर्ति सिंचित गर्दै
न्यानो अंगालोमा बिलिन हुन्छन
तब उडेको मिठो सुगन्धले
सम्झाउँछ बर्षौ पछि
मिलेका प्रेमीहरुले
कोरेको प्रेमिल पल !!

२०७१/१२/१२ बिमोचन घिमिरे 

Friday, March 20, 2015

के म हराएकै हो त ?


धेरै दिन पछि भेट भयो । तर कुनै आभाष भएन , कुनै उत्साह लागेन , भएका उत्साह थिए ,केहि सम्हालेर राखेको थिएँ तर अहँ त्यसले आफ्नो कुनै उपस्थिति जनाएन , खोई किन जनाएन? किन ? म उत्तर दिन नसक्ने एउटा अप्ठ्यारो अवस्थामा उभिएँ , आफुले आफैलाई उत्तर दिन सकिन .. अचम्मको क्षण थियो तर यथार्थ यहि थियो धेरै पछिको भेटमा पनि कुनै उत्साह रहेन वा भएको उत्साह पनि मर्यो... खोई के भयो ?

दैनिक जसो हुने भेटहरु , बिस्तारै केहि हाप्ता पछि हुने गर्थे,  बिस्तारै बिस्तारै त्यो अवस्था पनि पातलिंदै गएर महिनामा गएर टुंगियो ..पछि त्यो पनि भएन .. आज यसो नियालेर हेरें यो भेटको अन्तराल ... निकै लामो समय भैसकेको रहेछ नभेटेको तर आजको भेट पनि कुनै नियमितताको एउटा नयाँ अध्याय थिएन जसमा खुशी हुन सकिन्थ्यो , यो त सिरिफ एउटा भबितब्यले निम्ताएको कुनै प्रसंगबशको भेट थियो जुन पनि तुहिन लागिसकेको थियो तर सायद माग त्यहि थियो समयको, हाम्रो भेट.. जो भएर छाड्यो !

लगभग यो समय साँझको धमिलो अन्धकारले काठमाण्डौ छोपिसकेको हुन्थ्यो तर आज अवस्था फरक थियो , उज्यालो घटेको थिएन, मानिसहरुको चहलपहल घटेको थिएन, घुइंचो उस्तै थियो ... हिउँदका छोटा दिनहरुको अन्त्य भएको बल्ल आभाष भयो मलाई ... धेरै पो भैसकेको रहेछ म शहर नपसेको, आज आफैलाई यस्तो आभाष हुँदै थियो, धेरै भएछ शहरबाट हराएको ...

पुग्ने म पहिलो थिएँ या थिइन यसको लेखाजोखा आज गरिन तर कुर्ने पहिलो नै थिएँ होला ..

" म कुर्दै छु "
"हुन्छ म आएँ"  केहि सेकेण्डको वार्तालाप
मोबाइल छ त सजिलो छ,  तर कहिले काहीं मात्र बज्ने र बोल्न प्रयोग गर्ने मेरो मोबाइलमा घन्टी बज्दा पनि मलाई अचम्म लाग्छ । धेरैको लागि सामान्य लाग्ने त्यो घटना मेरो लागि नौलो नै हुन्छ .. मेरो मोबाइलको घन्टी कति चोटी बज्यो वा यसबाट कति चोटी अरु कसैको घन्टी बज्यो भन्ने तथ्य खोज्न सायद कसैलाई दिमागको तन्तु खियाई रहनु पर्दैन होला .. हो धेरै छैन पनि र सायद हुन्न पनि होला ...

यो प्रसंग चल्दा धेरै मलाई "असमाजिक"को बिल्ला थुपारेर मात्र कुरा अगाडी बढाउछन, मलाई कुनै रिस उठ्दैन यो भनाइ प्रति म मन मनै भन्छु हो म असमाजिक नै हुँ, मलाई कुनै मधुर कण्ठ बनाएर कसैलाई रिझाउने वा घन्टौ प्रसंग बिहिनका गफ सुनाएर आफु बाँचेको आभाष आफैलाई दिलाउने वा अरु कसैलाई आफ्नो अस्तित्व सम्झाउने सोख कहिल्यै पलाएन... होला यहि कारणले होला म मानिएको सामाजिक संसारको घेरा भित्र पर्न सकिन त्यसैले  मलाई गौरब छ मेरो असमाजिक परिचयको लागि ....

समय बढ्दै गयो ... एक, दुई, तिन भेला हुने र बनाउने होडबाजी नि चल्यो .. भिड बढ्यो !!

आ-आफ्नो प्रसंग, आ-आफ्नो बिषय र आ-आफ्नो रुची हुनु सयादै भिन्न कुरो होला, सबैको हुन्छ , झन् धेरै दिमाग . धेरै मुख हुँदा धेरै बिचार र धेरै तर्क-बितर्क निस्किंदैन भन्न सकिन्न , निस्किन्छ नै तर अचम्म तब लाग्छ भिडको तमाम कुरो भित्र आफु बकुल्लो बनेर ठाडीदा .. सकिएन अहँ सक्दै सकिएन समान्जस्यता खोज्न ... अनि सोच्छु बेला बेलामा सायद म फरक नै भएँ .. फरक हुने प्रयास गरें भन्लान .. भनेका पनि होलान तर होइन त्यसो अस्वस्थ प्रतिस्पर्दाको आवश्यकता मैले कहिल्यै बोध गरिन तर किन ? फरक भएँ खोई किन किन ?

मानिस एकान्त नै खोज्छ , चाहे भिड होस् वा एक्लो बटुवा मानिस एकान्त नै खोज्छ , आफुलाई सामाजिक भनेर नथाक्नेहरु पनि एकान्तमा नै आफ्ना भारि बिसाएर बिताउन चाहन्छन उही समाजको प्रहारबाट भाग्दै ... हात्तिको दांतकै सेरोफेरो भित्र अडिएको छ जीवन ... एकान्त खोज्दै मिल्ने कुरो होइन तर कोहि नहुनुको खालि ठाउँ हाम्रो लागि एकान्त हो जहाँ आफै भित्रको गुम्सिएका अनेक थरी ओहोर दोहोर अरु कहिले तरल हुँदै त धेरै सजिलो रुपमा धुवा हुँदै बाहिरिन्छ या भनौं हामी भ्रम पालेर भन्छौं बाहिरिन्छन ....

म कुर्दै थिएँ .. उ आइपुग्यो , समय धेरै नै लायो तर आइपुग्यो ... औपचारिकताको हात हल्लायो र सिधै आफ्नो नौलो परिचय देखाउंदै भिन्न आवरणमा आफुलाई ढाल्यो ..फरक लाग्यो त्यो आवरण, उ बदलियो ? या मा बदलिन सकिन ? कि उ नयाँ भयो म पुरानो नै रहें ..के बदलिनु राम्रो हुनु नै हो ? स्थिर हुनु बिग्रिनु नै हो ?........

हल्ला संधै मान्छे जान्ने र बुझ्ने परिचय हुँदैन तर दृश्य जो स्वयम व्यक्ति आफैले देखाउंछ त्यसलाई के भन्ने? व्यक्ति उन्मुक्त भयो ? वा झन् झन् नचाहँदा, नचाहँदै कुनै बन्धनमा फस्यो ? म आफै पनि रनभुल्लमा परें ...

चुम्बकीय शक्ति हुन्छ धुँवामा ... तान्छ धेरैलाइ तान्छ , भुमरीको जाल फिजाउछ , फस्छन धेरै फस्छन ... ठुटो हुँदै धुँवासम्म आइपुग्दा आफ्नो बोझ घटेको भ्रम पलाउँछ कि कसो ? नत्र किन सबै तल्लिन छन् .. एक दुई गर्दै किन भिड जम्मा हुन्छ त्यहि धुमिल परिवेश वरिपरी ? लाग्छ एकनासले यहि प्रश्नको लस्कर लगाइदिउ सबै सामु तर म रोक्किन्छु ... म बस नियालिरहन्छु ...

संसार भरिको दुख पाएको जस्तो , जीवनक हरेक आयाम बुझेको जस्तो मानिसहरु धुँवा संगै ओकल्छन थरि थरिका हल्लाहरु .. यो देखि त्यो सम्मका , परिपक्वताको ठुलै महल ठडाएको भान दिंदै मानिस बोल्न शुरु गर्छ .. भिड त्यतै तिर रुमल्लिन्छ ..

म भने आफैमा ठोक्किन्छु... ति हरेक कुरा सुन्दा लाग्छ सायद म हराएछु संसारबाट , मैले केहि बुझेको नै छैन , केहि जानेको नै छैन, तर जानेको पनि के छ र ? म बिल्कुल फरक देख्छु आफैलाई ... भीडबाट अलग , ओहोर दोहोर बाट अलग ... अनि सोच्छु के म हराएकै हो त ? सबैले भनेको जस्तो म हराएकै हो त ? आज पनि म उही प्रश्नमा अल्झिएँ संधैको जस्तो ......... के म हराएकै हो त ?

साँझको अँध्यारोले छोप्दै थियो .. भिड बाहिरियो ..भिड संगै म पनि बाहिरिएँ .........

२०७१/१२/०६ ©बिमोचन घिमिरे


Wednesday, March 18, 2015

अपरिचित उत्तर


तिमीले सोधेको हरेक प्रश्नको उत्तर
म अवश्य दिनेछु
तर कहिले, कहाँ, किन, कसरी?
मेरो भबिष्यसंग म पनि अपरिचित छु

तर नछोड्नु प्रश्न सोध्न
प्रश्नहरु गोडिरहनु
गरा-गरामा छारिरहनु
एकदिन अवश्य उम्रने छन  
उत्तर बोकेका बिरुवाहरु
मौलाउने छन्
फूलहरु फूलाउने छन्
फल्ने छ फल
मिठो नहोला
तर आशा छ भोका पेटहरु
भर्नेछ त्यसले
कमजोर मनहरुमा साहस
थप्ने छ त्यसले
तर तब सम्मका लागि
नियालिरहनु मेरा मौन ओठहरु
हेरिरहनु मेरा वाचाल आँखाहरु
गनिरहनु शरीरभरी गाडेका
नङ्ग्रा र दाँतका दागहरु
खाटा बसेका आला घाउहरु
र केलाईराख्नु म र मेरो अस्तित्वको अवस्था
म ति तिम्रा शब्दहरुमा
आफ्नो भुत-बर्तमान-भबिष्य तौलने छु
खोज्ने छु मेरो लुटिएको परिचय
जाँच्ने छु
तिम्रो मानवता, सम्मान, माया-ममताका
अनेकन ब्याख्यानहरुको यथार्थता
अनि बल्ल लेख्नेछु, सुनाउनेछु एकदिन
मेरा दबिएका हरेक आवाजहरु
दिनेछु तिम्रा हरेक प्रश्नको उत्तर
तर कहिले, कहाँ, किन, कसरी?
मेरो भविष्यसंग म पनि अपरिचित छु !!

२०७१/१२/०४ ©बिमोचन घिमिरे 


Friday, February 13, 2015

परिवर्तित समय



त्यो घर प्यारो
त्यो कोठा प्यारो
त्यो भित्ता प्यारो
झुण्डिएका हरेक फोटो प्यारो
पोतिएका रङ्ग प्यारो
पाइला-पाइलाले सिंचित गरेका
ति हरेक भुइँ प्यारो

सिरानी प्यारो
त्यो आरामदायी ओछ्यान प्यारो
आमाले एकाबिहानै बोलाउने
निद्रा ब्यूँझाउने आवाज प्यारो

आमाले पस्किने हरेक गाँस प्यारो
चुराको छिन छिन , त्यो स्नेही हात प्यारो
बुबाको माया मिस्सिएको गाली प्यारो
बहिनीको साथ प्यारो
भाइको चकचक प्यारो
दाइको माया प्यारो

घर अगाडिको त्यो पुरानो भित्ता
त्यो ठुलो रुख
त्यो साँघुरो सडक
मानिसको ओहोर दोहोर
आफु हुर्केको त्यो हरेक गल्लि
रमेको त्यो सारा परिवेश
आज लाग्दै छ प्यारो

तर
आज आँखा खोल्दाको
संसार बिरानो
घर, कोठा, भित्ता, रङ्ग
सबै बिरानो 
आमाको आवाज छैन
बुबाको गाली छैन
बहिनीको साथ छैन
भाइको चकचक छैन
दाइको माया छैन
आज सारा परिवेश लाग्दैछ बिरानो

तर
रमाउनुपर्छ यहीं अब
बसाउनु पर्छ छुट्टै संसार
फैलाउनुपर्छ आफ्नै घरबार

आमाबुबाले अन्माए कन्यादान गरेर
उनी आइन आफ्नै माईतिघर छोडेर ।।


२०७१/११/०१ ©बिमोचन घिमिरे 

Monday, February 9, 2015

सामान्य मान्छे


हो म एक सामान्य मान्छे हुँ
दिनभरी शरीरको अल्छिपना
र जीवनको थकानहरुसंगै, उँघ्दै
उराठलाग्दो दैनिकी बीच
हाँस्ने प्रयास गर्ने
फगत बाँचिरहेको
एउटा सामान्य मान्छे ।

हो म एक सामान्य मान्छे हुँ
अन्योलताको भुमरीमा
आशाका हरेक पत्रहरु चुँड्दै
भुइँमा फाल्दै
हुन्छ- हुँदैन को
एकनास रट्टान लगाइरहने
हरेक भोरमा सम्भावनाको
दियो बाल्दै
हरेक साँझ आफैले निभाउँदै
चिसो सिरानी र ओछ्यानमा
मनका ज्वारभाटाहरु फुटाउँदै
रात्रिको अन्तिम प्रहरमा निदाउने
एउटा सामान्य मान्छे ।     

हो म एक सामान्य मान्छे हुँ
केहि कोर्दै , केहि मेट्दै
पानाहरु भर्दै , च्यात्दै
हरेक शब्दमा आफुलाई
मुनामदन, रोमियोजुलियट, लैलामज्नु वा राधाकृष्ण को
आवरणमा देखेर
मुसुक्क मुस्काउने
अनि पुन: यथार्थताको
कालरात्रिहरु संग जुध्दै
एक्लोपनको चिसो हावा
फोक्सोको कुना सम्म छरेर
आफ्नै विवशता माथि हाँस्ने
एउटा सामान्य मान्छे ।

हो म एक सामान्य मान्छे हुँ
मलाई कुनै तारिफका शब्दहरुको भोक छैन
उपमाउपमेय को आवश्यकता छैन
कसैलाई रिझाउनुको सोख छैन
मेरा शब्दहरुले ठेस नपुर्याउन
म यसैमा सजग छु
माया बाँडीरहुँ यसैमा मग्न छु
त्यसैले
कृपया मलाई फरक देख्ने-देखाउने
दुस्साहस नगरियोस्
तारिफका शब्दहरु सुनाउँदै 
आकाश माथि उचाल्ने
आश नपालियोस
म कुनै कलाकारको मिठो रचना होइन
चित्रकारको मुल्यवान क्यानभास होइन
म हरेक कथा, कबिता, आलेखहरुमा अटाउने,
एक गौण पात्र हुँ
हो म एक सामान्य मान्छे हुँ ।।

२०७१/१०/२५ © बिमोचन घिमिरे


Friday, February 6, 2015

बुढेसकाल



भित्ताहरु सुन्दैन्न मलाई
अक्षरहरु बोल्दैनन मसंग

बिहानीको सुर्यदयसंगै
र सुर्यास्त पछिको  
त्यो अँध्यारो रातमा
बलिरहेको चन्द्रमासंगै
म पनि बल्ने प्रयास गर्दछु
तर संधै
औंसीको कालो रातले
छोपेको छ
मेरो जीवनको यो चारकुने आयतन

झ्यालबाट बग्दै हावाहरु
मलाई झक्झकाइ रहन्छन
मलाई निदाउन दिदैनन 
अनि छोडेर जान्छन अदृश्यतामा
घाम पनि आउँछ चिहाउन
मध्यदिनको संकेत दिंदै
अनि उही पुरानो चिसो निस्वास
मेरो भागमा छोडेर हराउँछ
जुन, मधुरो प्रकाशमा
सम्झनाको पुलिन्दा छोडेर जान्छ
ताराहरु हाँस्छन् अनि लुक्छन
तर सोधैन्न केहि

सायद
म र मेरा भावनाहरु बिक्न छोडे
सायद कमजोर , निरस भए
या यसमा कुनै मेकअप सेटको
लालीपाउडर घसीएन आजसम्म
चाउरिएछ क्यारे

बदलिँदो आकाशसंगै
दिनानुदिन खिया लाग्दै गरेका पाटपुर्जा
शिथिल र प्रतिक्रिया बिहिन
बांचिदैछ हरेक पल   
मुठ्ठी भरको सास
र बाचुन्जेलको आशको साथ
पारी क्षितिजको घाम जस्तै
धिपधिप बलेको दियो जस्तै
एक्स्पाइरि डेट नजिकिदै गरेको
औषधिको खाली बट्टा जस्तै !!


२०७१/१०/२३ © बिमोचन घिमिरे 

ShareThis