Wednesday, March 18, 2015

अपरिचित उत्तर


तिमीले सोधेको हरेक प्रश्नको उत्तर
म अवश्य दिनेछु
तर कहिले, कहाँ, किन, कसरी?
मेरो भबिष्यसंग म पनि अपरिचित छु

तर नछोड्नु प्रश्न सोध्न
प्रश्नहरु गोडिरहनु
गरा-गरामा छारिरहनु
एकदिन अवश्य उम्रने छन  
उत्तर बोकेका बिरुवाहरु
मौलाउने छन्
फूलहरु फूलाउने छन्
फल्ने छ फल
मिठो नहोला
तर आशा छ भोका पेटहरु
भर्नेछ त्यसले
कमजोर मनहरुमा साहस
थप्ने छ त्यसले
तर तब सम्मका लागि
नियालिरहनु मेरा मौन ओठहरु
हेरिरहनु मेरा वाचाल आँखाहरु
गनिरहनु शरीरभरी गाडेका
नङ्ग्रा र दाँतका दागहरु
खाटा बसेका आला घाउहरु
र केलाईराख्नु म र मेरो अस्तित्वको अवस्था
म ति तिम्रा शब्दहरुमा
आफ्नो भुत-बर्तमान-भबिष्य तौलने छु
खोज्ने छु मेरो लुटिएको परिचय
जाँच्ने छु
तिम्रो मानवता, सम्मान, माया-ममताका
अनेकन ब्याख्यानहरुको यथार्थता
अनि बल्ल लेख्नेछु, सुनाउनेछु एकदिन
मेरा दबिएका हरेक आवाजहरु
दिनेछु तिम्रा हरेक प्रश्नको उत्तर
तर कहिले, कहाँ, किन, कसरी?
मेरो भविष्यसंग म पनि अपरिचित छु !!

२०७१/१२/०४ ©बिमोचन घिमिरे 


ShareThis