Monday, October 14, 2013

शुभकामना पत्र




आज फेरी
नयाँ बर्ष जस्तै
बर्ष फेरिएको होला ।

केहि नविनतम आभाष बोकेर ,
बसन्त सुर्यका किरण संगै
शुभकामना भन्दै आयो होला
झ्यालका पर्दा छल्दै
मिठो निद्रा ब्युँझाउन ।

बितेका पुराना कयौं बसन्त
टेक्दै गरेको नयाँ बसन्त
अन्तर खोज्दो हो मन .......
कतै निराशा
कतै आशा
फोटो - गुगल
कतै उमंग ,कतै उदासिपन
केहि छोड्दै गरेका बिगत
केहि अङ्गाल्दै गरेका बर्तमान
र भविष्यको अन्तहीन आकृति !
मन बिक्षिब्त हुँदो हो
केहि गुमाए जस्तो
केहि पाए जस्तो .......

धेरै कठोर पाइला चाल्दै गरेका जीवनका,
धेरै भोगाईबाट भाग्दै गरेका जीवनका,
चोटिला प्रहारबाट बच्दै
आज केहि मुस्काउने प्रयास गरोस जीवन
नयाँ उमंग ,नयाँ जोशका उर्जाहरु
भर्दै जाओस मन भित्र .......

क्रमभंगताको जीवन
बिछोड र मिलनको जीवन
जीवनचक्र चल्दो रहेछ
यसरीनै चलिरहेछ .......
हरेस नखाओस मन
अगाडी बढीरहोस ।


संयोग ! जीवनको एक सत्य
दिनहरु मिलेका छन्
खुशीका क्षण मिस्सिएको छ
तर मनमा केहि गुमाएको आभाष
भएको छ कि छैन .......?

कुनै कुनामा बसी
म यी सब सोच्दै छु.......
मौनताका अनगिन्ति फूलहरु फुलाउँदै ,
हरेक पत्रमा शुभकामनाका शब्द थुपार्दै
खुशियाली,सफलता,दिर्घायु,उमंग,
समृद्धि र सु-स्वास्थको कामनासंगै
अनेकन माया संगालेर
भावनात्मक शब्दहरुले भर्दै
मनैमन बुट्टेदार खाममा हाल्दै
पठाउँदै छु म
शुभकामना पत्र ......

बिमोचन घिमिरे
०७०\०६\२८ 
2013 Oct 14


ShareThis