Monday, September 1, 2014

नलेखिएको चिठी


रात्रीकालिन प्रहारहरू संगै
सुनसान अँध्यारो बीच
मन फुकाउने प्रयास गरें
जुनको मलिन प्रकाश मुनि
एउटा पाना लडिरहेको थियो
आज त्यहि पाना संगै
मन भित्रका शब्द संगै
छिप्पिदै गएको रात र
म बगिरहेका छौँ
अतितको भेल हुँदै बर्तमान सम्म

कति नसुनाएका कथा
कति नभनिएका उत्तर
सबैको लेखाजोखा गर्दै
त्यो खाली पाना
भर्दै छु म

कति उत्तरहरु नदिई पन्छिएं
कति भावनाहरु नसुनाई लुकाएँ
ति सबैको पूर्ण बिबरण बोक्ने
स्वेत पत्र हो त्यो पाना
जसको हरेक शब्द तिमीमा आएर रोक्किन्छ
तिमीमै आएर त्यसले गन्तब्य पहिलाउँछ
तर आज सम्म तिम्रो सामु नउभिएका शब्द हुन् ति
त्यसैले रनभुल्लमा परेका छन् गन्तव्यहीन भएर

धेरै खोजें तिनलाई तिमी सामु ल्याउन
तिनका यात्रा सफल तुल्याउन
तर म संगै तिनी पनि मौन छन्
मैनबत्तिको शिखा जस्तै !

ट्वाक्क ..ट्वाक्क
बज्दै गरेको भित्ते घडी 
रात्त छिप्पिदै जान्छ
मैन पग्लिंदै जान्छ
सुसाउँदै गरेका नदीहरुको बेग संगै
अतित ब्युँझीन थाल्छ
पानाहरुमा छरिन्छ
तर भरिएको पाना लुक्दछ
निभ्दै गरेको मैन संगै
भित्र भित्र हराउँछ !

यसरी नै हरेक रात
शब्दहरु पानामा छरिन्छन 
तर
संधै एउटा अपुरो चिठी
मौनताको कुहिरो भित्र हराउँछ !! 
 
२०७१/०५/१० बिमोचन घिमिरे


ShareThis