फोटो -गुगल
शब्द थुपार्ने कुनै
सौख होईन । शब्द त एकाएक मनका गहराईबाट ज्वारभाटा उर्ले जसरी उर्लिन्छ्न र सतहमा
छताछुल्ल पोखिन्छन तर बिडम्बना तिनलाई मनमै थुन्ने साहस म गर्न सक्दिन र त ति
शब्दहरु दिमागी तरङ्ग मार्फत मेरा हात र हातले समाएको कलममा आएर ठोकिन्छन र शब्दका आवेगहरुबाट रक्सिएको मेरो हात के
के लेख्न पुग्छ म आफै पनि सम्हाल्न नसकेर लाचार दर्शक भएर हेर्दछु । एउटा छुट्टै
वेग हुन्छ त्यो लेखाइमा, एउटा छुट्टै आश...
खोइ कहाँबाट
आउँछ मनमा यो ज्वारभाटा ? कहाँ हुन्छ शब्द छाप्ने यन्त्र ? कति व्यापकताको अन्धकार
भित्र लुकेको छ मनको वास्तविकता,खोइ अरु केके लुकेको छ यो मन भित्र ?
कल्पना त
मनको अंश हो । मेरा सिमित कल्पनाका संसारले मनको आयतन नाप्ने सामार्थ्य राख्दैन ।
के हुन्छ होला त्यो दिन जब म यो मनलाई चिन्छु ? यसका हरेक कुना-काप्चाबाट परिचित
हुन्छु । तब जब म यसलाई जित्छु ? फेरी उही प्रश्न दोहोरिन्छ , आखिर हुन्छ के ??
कोहि भन्छन त्यो
बिन्दु पुगेपछि तँ बहुलाउँछस ! हाहा !! हाँसो उठ्छ यस्तो सुन्दा, आज मन नबुझ्दा
बहुलाउँदै छु ,भोलि बुझेपछि बहुलाउँला ,अनौठो के भो ?
यस्ता प्रश्न
गर्दै गए सबै मन बुझेको महापण्डित जसरी ठुला-ठुला बिश्लेशणात्मक भाषण छाँट्न
थाल्छन । त्यसैले अचेल प्रश्न सोध्न छाडेको छु मैले...
मन बुझेको
भएरै होला बुद्ध बुद्ध भएका तर मैले बुद्धलाई चिन्नु अगावै यो संसारले उनलाई
आफूभन्दा निकै पर भगवानको सिंहासनमा बसाएर संसारभर सबै भन्दा बेसी उनकै मुर्ति बनाएर
पुज्न थालिसकेको रहेछ । उनले भेट्टाएका ज्ञानहरु ढलोट,ढुङ्गा जस्ता कठोर चिजले
भनेको मुर्ति भित्र हराउंदै गर्दा मैले बल्ल बुद्ध सुने ,उनका जीवनी पढें र उनले
खोजेका ज्ञानलाई त मूर्तिबाट निकालेर उनलाई मजस्तै ठानेर बुझ्ने प्रयत्न गर्दैछु
तर अचम्म ! ज्ञानको क्षितिज म जति नजिक पुग्दै जान्छु त्यति पछाडी ढकेलिंदै जान्छ
र म उही भौतिकवादमा नै हराउँछु....
रिस उठ्दछ
आफै प्रति ! रिस बाहिर पनि देखिन्छ होला ,आफैसंग रिसाको रिसले अरुलाई दुखाउला तर
गाह्रो छ समालिन...
मनको
व्यापकता भित्र भित्रै संग संगै हराउने जीवनको सालिन रहस्य पनि हो ।
"जीवन" कति सरल र सामन्य जस्तो लाग्दछ यो शब्द तर त्यतिकै यसको गहिराई
भित्र सारा भू-मण्डल समाहित हुन्छ । हरेक पल यो शब्द नियाल्दा यसले एउटा ठुलो
प्रश्न चिन्ह तेर्साएर मलाई चुनौती दिएको जस्तो लाग्छ तर उत्तर बिना म सिरिफ
प्रश्न सुमसुम्याउँछु...
जीवन बुझाई मन
बुझाई भन्दा पनि कठिन जस्तो लाग्छ । मनको गहिराई छुईसक्दा बल्ल जीवनको सतह शुरु
हुन्छ कि जस्तो लाग्छ ...
कति ब्यापक छ
जीवन,कति काल्पनिक । हरेक दिन कुनै चलचित्र घरको ब्याल्कोनीमा बसेर ठुलो पर्दामा
जीवन नियालिरहेको कल्पना गर्छ मन , अहँ ! यत्तिको काल्पनिक घटनाक्रम अरु कुनै मा
छैन..., मन हरेक चोटी यहि निष्कर्षमा पुग्छ । त्यसैले कुनै काल्पनिक चलचित्र हेर्न
खोज्दा मन शुरुमै निद्राका त्यान्द्रा बुन्दै अल्छीपना सिर्जित गर्छ ,सायद ! त्यो निर्मित
काल्पनिकतामा मनले कुनै स्वाद पाउंदैन । खैर ! यत्ति हुँदा नि मन जीवन नामको
प्रश्नको उत्तर दिन सक्दैन , बहुलाइरहन्छ.....
"ज्वारभाटाको
पनि सिमा हुँदो हो । संधै लगातार उर्लिनुको पनि त कुनै तुक हुँदैन ....
एक्कासि मनका
ज्वारभाटाहरु पुर्व सुचना बिनै पुनः गहिराईका कुनै कुना भित्र बिलिन हुन जान्छन ।
ज्वारभाटाको आवेगमा के के शब्द खालि पानाहरु भर्न उत्रिन्छन ,केहि भेउ पाउँदिन
,शब्द कसरि खनीए त्यस्को पनि कुनै
लेखाजोखा हुँदैन ,शब्द चयन,संरचना केकस्ता भए कुनै ठेगान छैन ,राम्रो भयो वा
उराठलाग्दो वास्ता छैन , न रुजु गर्ने चटारो छ न कसैले मननपराउलान कि भन्ने डर ,
सिरिफ मनका आवेग पोखिएको सन्तुष्टि छ , आफैभित्र ....
भरिएका
पानाहरु कसैले खोजि खोजि पढ़लान भन्ने भरोसा त छैन तर सास रहुन्जेल जीवीतै रहने
आशहरु हरपल मनका ज्वारभाटा संगै उब्जिन्छन र कलम चलाउने उत्साह थापिरह्न्छ्न !
लाग्छ कुनै दिन मनले चाहेको पाठकले यी शब्दहरु पढ्ने छ नत्र त कलम र शब्दहरुलाई
दु:ख दिने दुस्साहास त यी हातहरुले कदापि गर्न सक्दैनथे ...
जब मन शान्त
हुन्छ शब्दहरु आफै शिथिल हुँदै जान्छन अनि दिमाग ,ज्ञानेन्द्रीयहरुले केहि नयाँ के
सोच्न सक्थे र ? शब्दहरु त्यसै त्यसै आउन बन्द हुन्छन र हात आफै रोक्किन्छ
......।।
२०७०\०९\१९