बिन्ति
न आउ झरी !
ति ठूला फाँटहरुमा
ममताको बर्षात गरेर
सपनाको संसारमा
एक्लै छोडी,
यथार्थको तिखो बाण नरोप,
बिन्ति झरी नबर्स ।
बर्षौ देखिन चिरिएका छाती,
सुख्खा गराहरु
र नाङ्गिएको सिङ्गो शरीर !
अभ्यस्त छन्
उजाडिएको संसार संग,
एक्लिएको परिवेश संग,
गुमाएको
स्वाभिमानसंग ...
हरेक थोपाले,
विगतको निकटता सम्झाउँदा
तिनै भेल संगै
सुटुक्क,
फुत्कन खोज्छन;
रगत-पसिनाको साइनो बोकेका
ति नासोहरु ...
आँगनको डिलमा बसेर
बाटा हेर्ने
आँखाहरु;
तिनै फाँटसंग, विगतको कथा बुन्छन
रित्तो भकारी र खालि पेटको
दुखेसो पोख्छन
पोख्छन बुढेसकालको लाठी
गुमाएको पिडा,
एक्लिएको बुढो घरको ब्यथा !
तिम्रो गडगडाहटले
मिलिक्क मिल्किने बिजुलीहरुले
त्यो आलो घाउ
बल्झिन्छ साथी !
बिन्ति ! मेरो घरको छानो हुँदै
ति खेतका आली हुँदै
अब कहिल्यै नहिंड !
यी
सुकेका पाखुरामा, बलको संचार हुँदैन !
यी धमिला
आँखाहरुमा, पहेंला बाला झुल्दैन !!
छोडीदेउ,
तिमी पनि आश लाउन !
यिनैका फसल खाएर
हुर्किएका तनहरू,
कठोर मुटु लिएर,
नफर्किने गरी गईसके ...
मेरा आँशुहरु त झर्न छोडिसके
झरी, तिमी पनि अब न बर्सिदेउ ।।
२०७३/१०/२२ शनिबार
No comments:
Post a Comment