बोकेर
आफ्नै सपनाको भारी
बिरानो ठाउँ, मुगलान पारी
हिंड्दैछन
पाइलाहरु,
तातो
बालुवा संग सिङ्गौरी खेल्दै
एकनासको घामसँग आँखा
जुधाउँदै !
मृगतृष्णाहरुमा
घरका आँगन हाँस्दछन
बालखका भरिएका पेट हाँस्दछन
हाँस्दछन आङका कपडाहरु !
आमाको बुढो दाँत टलक्क टल्किन्छन
पियारिको साडी झलक्क झल्किन्छन
घरको छानो केहि माथि उक्लिन्छ
बुबाको छाति गर्वले फुल्दछ
ति दुई हाल गोरु खेतभरि हिंडेको
उ देख्दछ, बाला पहेंला झुलेको !
चिल्लो बाटो घर अगाडी पुगेको
नजिकै धारामा पानी बगेको
रात, दिन जस्तै भएको !
ऊ देख्दछ आफ्नै पुष्ट शरीर
ढल्केको टोपी, नाचेको मन ।
अमिलो पसिनाको स्वादले, मुख रसायो
भोको पेट बेस्सरी करायो
सिलाएको कमिजको एक फेर, उध्रेछ फेरी
तर मुसुक्क मुस्काउँछ
चलाउँदै हातपाखुरा, सिध्याउँदै श्रमपसिना
एउटा अमुल्य समय जोत्दै छ निरन्तर
मृगतृष्णाहरुले धानेको जीवन !
तर भोलीको आशमा, मृगतृष्णाहरुसंग हास्नुछ आज
फगत! यथार्थ त अझै पनि रुवाउने नै छ ।।।
२०७३/०६/२७ बिहिबार