Sunday, September 25, 2011

नेपाली आकाश किन असुरक्षित?????



किन बढ्दैछन् हवाई दुर्घटना ?
अप्ठेरा पहाड र भूबनोटका कारण नेपाली आकाश त्यसैपनि असुरक्षित छ । त्यसमाथि छानबीन प्रतिवेदनले दुर्घटना हुनुमा धेरै पाइलटको कमजोरी देखाएको पाईन्छ । ‘कारण मानवीय मात्रै होइन’ वायुसेवा निगमका अनुभवी पाइलट रविन्द्र शेरचनले भन्नुभयो – ‘यसमा मानवीय र भौगोलिक अवस्था दुवै कारण हुन् ।’ हरेक विमान दुर्घटनापछि छानवीन समिति गठन हुन्छ । त्यसले धेरै अनुसन्धान गरेर प्रतिवेदन बुझाउँछ । छानविन समितिले मृत पाइलटलाई दोषी देखाएर अरु खास कारण खोज्ने झण्झटबाट मुक्त हुन खोजेको आरोप पनि लाग्ने गरेको छ । मानवीय र भूबनोट मात्रै होइन, विमान दुर्घटना हुनुमा अरु पनि धेरै कारण छन् । जानकारहरुका अनुसार पुराना जहाज र क्षमताभन्दा बढी भारका कारण पनि विमान दुर्घटना हुने गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार २० वर्षभन्दा पुराना जहाज चलाउन पाइँदैन । तर नेपाली आकाशमा ५० वर्ष पुराना जहाज पनि सञ्चालनमा छन् । यी कारणले पनि नेपाली आकाश असुरक्षित भएको बताईन्छ ।
२१ वर्षअघि सरकारले उदार आकाश नीति लिएपछि नेपाली आकाशमा निजी क्षेत्रका जहाजले उडान भर्न थाले । जहाजहरु थपिने क्रम बढ्न थाल्यो । तर जहाज थपिए अनुसार सुरक्षा, पार्किङ सुविधा, हवाई सेवा अनुगमन लगायका काम हुन सकेन । निजी कम्पनीका सञ्चालकहरुले सुरक्षालाई भन्दा पैसालाई बढी ध्यान दिन थाले । तर दुर्घटना रोक्न पाइलटको भूमिका महत्वपूर्ण हुन्छ । ‘उडिरहेको समयमा जहाजमा कुनै पनि समस्या देखिएमा पाइलटले तुरुन्तै निर्णय लिन सक्नुपर्छ’ अनुभवी पाइलट दधिराम निरौला भन्नुहुन्छ -’निर्णय लिन एक सेकेण्ड पनि ढिलो भयो भने दुर्घटनामा परिन्छ ।’
भौगोलिक विविधता र छिनछिनमै परिवर्तन भैरहने मौसमले पनि उडानमा समस्या पर्ने गरेको पाइलटहरुको भनाई छ । खराबमा मौसममा उडान भर्न नहुने नियमको अवज्ञा र उड्डयन सुरक्षाको निगरानी गर्ने तथा नियम कानुन कार्यान्वयन गराउने निकाय सकृय नहुँदा पनि दुर्घटना बढेका छन् ।
नेपालमा हवाइ दुर्घटनाको नालिबेली
सन् १९५५ को मार्च ८ मा पहिलोपटक बाराको सिमरामा डकोटा जहाज दुर्घटना भएको थियो । तथ्याँक अनुसार त्यसयता सन् १९९० सम्ममा १६ वटा हवाई दुर्घटना भए । त्यस अवधिमा एकसय ५४ जनाको मृत्यु भएको थियो । त्यसपछि विमानको संख्या थपिएसँगै दुर्घटनाको क्रम पनि बढ्न थाल्यो । यस अवधिमा भयानक दुईवटा विमान दुर्घटना भएका छन् । २०४९ साल साउन २६ गते रसुवाको घोप्टेभीरमा भएको थाई एयरवेजको बोइङ दुर्घटनामा एकसय १३ जनाको ज्यान गएको थियो । यो भयानक दुर्घटना भएको दुई महिनापछि अशोज १२ गते ललितपुरको भट्टेडाँडामा भएको पीआइएको बोइङ दुर्घटनामा एकसय ६७ जनाको ज्यान गयो । नेपाली आकाशमा अहिलेसम्म भएका अन्तराष्ट्रिय हवाई दुर्घटना यी दुईवटा मात्रै हुन् । नेपालमा सबैभन्दा धेरै ट्वीनअटर विमान दुर्घटना भएका छन् । १९७३ मा वायु सेवा निगमको विमान लुक्ला विमानस्थलमा दुर्घटना हुँदा ६ जनाको ज्या गयो । सन् १९९१ मा वायुसेवा निगमकै अर्को विमान लुक्लामै दुर्घटना हुँदा १७ जनाको ज्यान गयो । नेपाल एयरलाइन्सकै अर्को विमान सन् १९९५ मा काठमाडौंबाट रुम्जाटार जाने क्रममा धावनमार्गमै दुर्घटना हुँदा दुईजनाको ज्यान गयो । सन् १९९९ मा नेकोन एयरको विमान काठमाडौंको पश्चिममा टेलिकमको टावरमा टोक्किएर दुर्घटना हुँदा १५ जनाको ज्यान गयो । सन् २००४ मे २५ मा यति एयरलाइन्सको विमान लुक्ला विमानस्थल पुग्ने क्रममा पहाडमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको ज्यान गयो । २००४ कै अक्टोबर १ मा सीता एयरको विमान लुक्ला विमानस्थलमै दुर्घटनामा पर्यो । लुक्ला विमानस्थलमै सन् २००५ को जुन ३० मा गोरखा एयरलाइन्सको विमान दुर्घटना भयो । यति एयरलाइन्सको विमान लुक्लामै दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो । विक्रम संवत २०६३ मा ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा तत्कालिन मन्त्री र संरक्षणविद सहित २४ जनाको ज्यान गयो । 
छानविन टोली गठन, प्रतिवेदन कहिल्यै कार्यान्वयन हुँदैन
सरकारले बुद्ध एयरको विमान दुर्घटनाबारे छानविन गर्न नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशकुमार दलीको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको छ । टोलीलाई एक साताभित्र दुर्घटनाबारे अध्ययन गरी विस्तृत विवरण बुझाउन भनिएको छ । विमान दुर्घटना बित्तिकै त्यसको छानबीन गर्न समिति बनाउने परम्परा जस्तै भएको छ । समितिले प्रतिवेदन बुझाउँदा हवाई सुरक्षाको लागि बिभिन्न सुझाब पनि प्रस्तुत गरेको हुन्छ । ‘तर यी सुझाब कार्यान्वयन नहुँदा समस्या उत्पन्न भएको छ’ यसअघि प्रायः छानबीन समितिमा बसिरहने उड्डयन चिकित्सक रञ्जित बरालले भन्नुभयो । छानबीन समितिले विमानको प्राविधिक पक्षमा सुधारसँगै उडान सुरक्षा र अनुगमनको लागि ध्यान दिन आग्रह गर्ने गरेको छ । तर सम्बन्धित निकायले बेवास्ता गर्दा कहालीलाग्दो हवाई दुर्घटना बढिरहेका छन् ।


प्रस्तुत समाचार ONLINE KHABAR .काम बाट साभार गरिएको हो ||

ShareThis