Wednesday, August 10, 2016

हिजो र आज


हिजो जहाँ थिएँ, त्यहीं आइपुगें
जस्तो थिएँ, त्यस्तै भएँ
फरक, थप अन्योलता बढेछ
केहि निराशा थपिएछ
तर हिजो जस्तै
अतृप्त यादहरु उस्तै छन
चकमन्न एक्ला रातहरु उस्तै छन
उस्तै छन् पर्खाइहरु ।

अनेक भावनाहरुले मन उद्वेलित पार्लान
तर उही मुस्कान देखिनेछ
भिजे पनि परेलाहरु, सुख्खा देखिनेछन
म एक्लै डुल्ने छु ति पुराना बाटाहरु
 संगाल्ने छु बाँचेका यादहरु,
कतै तिम्रा अभयवहरु भेटिए
मौनाताको कुहिरो बीच टोलाउने छु
खोज्ने छु म तिनै सडकहरुमा,
ओहोरदोहोर गर्ने हल्लाहरुमा,
लुकेका हाम्रा निशानीहरु
तिनलाई चुपचाप बटुल्ने छु, स्मृतिका पानाहरुमा ।

केहि भन्ने इच्छा हुँदा, ढकढकाउने ढोका नरहला
नरहला खुशी साट्ने उही पुरानो चौतारी
ति बाटाहरु नि सायद सुनसान प्राय: रहनेछ
तर म, मेरा चारकुने आयतन भित्र
पानाहरुमा शब्दहरु कोरिरहनेछु
तिनलाई कतै भित्ताहरुमा टाँसीरहनेछु
पढ़ने छु आफै, सम्झिदै दिनहरु मुस्कुराउने छु, रुनेछु,
खोतल्ने छु, यी अवस्थाका कारणहरु,
आशा छ कुनै दिन बुझ्नेछु ।  

सुन्ने, सुनाउने कुराहरु थाती नै छन
तर हिजो जस्तै
न भन्ने कोहि छ
न सुन्ने कोहि छ
न बुझ्ने कोहि छ
छ त केवल संगालेका यादहरु
केहि सिमित आकृतिहरु
 अनि मेरा अनुरागहरु ।।

२०७३/०४/२६ बुधवार



 


ShareThis