Saturday, September 29, 2012

...दशैँ..??


उ आउँदै छ
अब त केहि दिनमै आइपुग्छ

पहिले जस्तो छिटो-छिटो आउँदै भने छैन
उ त बिस्तारै समय मार्दै आउँदैछ
मानौ पात्रो बाटै सदाको लागी बिलिन हुन चाहान्छ
उ आउनै चाहेको छैन जस्तो लाग्छ
तर समयको बाध्यता
उ आउनै पर्छ,बर्ष दिन पारेर  ।।

अचेल उस्को मुहारमा चमक छैन
उ प्रश्नहरुका भारी पोकाहरुले थलिएको छ
"म हुने खानेको कि हुँदा खानेको ?"
यस्ता प्रश्न उस्को मनमा सल्बलाई रहेको छ
उ हरेकलाई सोध्छ
तर उत्तर उसको पोल्टामा अजै परेको छैन ।।

उसलाई शहर मनपर्दैन
उसलाई आफ्नै गाउँ मनपर्छ
शहरका ठुला सडकमा,
गाडिमा सरर गुड्नु भन्दा
गाउँका गोरेटोमा उसलाई
हिँड्न प्यारो लाग्छ,
उ शहरको कोलाहालबाट टाढा भागेर
गाउँका शान्त पाखाहरुमा दौडन चाहान्छ
बारी भरी फुलेका सयपत्री सँगै रम्दै
प्रकृतिलाई आफु निकट बोलाउन चाहान्छ,

च च हुइइ भन्दै
लिङ्गे पिङमा उड्दै जमिन छोड्न चाहान्छ
तर बिवस्ताले  उसलाई यही शहरमा गुम्साइ राखेको छ ।।

उ त शहरको एक्लो पनबाट भागेर्
छोरा-छोरी,नाति-नातीनी कुरिरहेकि
बुढी आमासँग आशिर्वाद थाप्न चाहान्छ,
दाइ कुर्दै बसेकी
प्यारी बहिनीको माया मन भरी सङ्गाल्न चाहान्छ,
श्रीमानको बाटो हेर्दै बसेकी दुलहीको
आँशु पुछन चाहान्छ
र नयाँ नयाँ कोसेली बाँडेर
नाबालकहरुको अनुहारमा खुशी छर्न चाहान्छ ।।

तर रक्त पिपासुहरु अचेल उसलाई कहिँकतै जान दिँदैन्न्
उनिहरु उसलाई हुँदा खानेहरुको पोल्टाबाट खोस्दै
हुने खानेहरुको खल्तिमा बन्दी बनाउँदै छन
उ संसार थर्कमान हुने गरी कराउँछ,रुन्छ
तर उसका आवाज पनि थुनिएको छ ।।

उ सुनाउन चाहान्छ
ती बुढी आमालाई
प्यारी बहिनिलाई
नाबालक र घर स्यार्दै बसेका सारा दुलहिहरुलाई
उसले कसैलाई भुलेको छैन,
उसको मन त सँधै
त्यही पाखाहरुमा डुलिरहन्छ
सँधै रोधिहरुमा नाचिरहन्छ ।।

तर उ विवश छ

उ रोइरहन्छ
र धिक्कार्छ आफुलाई
म किन "दशैँ" भएँ ?
आफ्नै मौलिकताबाट टाढा हुनुपर्ने दशैँ !!    
    २०६९-०६-१३
Copyright © 2012 बिमोचन घिमिरे ।





Tuesday, September 25, 2012

दर्शक ...



आज जिन्दगीको दोसाँधमा उभिएर्,
आफ्नै जिन्दगी नियल्दै छु
जिन्दगी उर्लिएर बग्दै छ
अनेक थरी भेलहरु सँग मिस्सिदै ।।

म नियाल्दै छु,
ती भेलहरुको हाँसो,जिस्काई,मजाक,
तर म झन्-झन गहिरिँदै छु
तिन्का बेफ्वाँक हाँसो प्रती मलाई चासो छैन
मलाई तिन्का उफ्राइ प्रती रुची छैन
म त केबल जिन्दगीलाई बुझ्ने  प्रयास गर्दैछु
तर मेरा भावना ति बुझ्दैन्न
मलाई लाटा सम्झन्छन ति
मुर्ख,पागल जस्ता उपनाम दिन्छन्
तथानाम गाली दिन्छन्
तर मलाई कुनै रिस छैन ।।

म बुझ्दै छु,
तिन्का हाँसो भोलिको रोदनको लागी हो
तर मेरो गहिराई जिन्दगी बुझ्नका लागी हो
म तिनीहरुलाई सम्झाउन खोज्दछु
तर बुझ्न नखोज्नेलाई
बुझाउन सकिँदो रहेनछ

तिनीहरु फेरी मलाई गिल्लाउँछन्
म त अजै पनि चुपचाप छु ।।

म कुरा बुझ्दै छु,
यो सब तिन्का अज्ञानताको परिणाम हो
मन बिक्षिब्त हुन्छ मेरो
रुन्छु म
तिनीहरुको   अज्ञानता देखेर
तीनको अन्धकार जिवन देखेर ।।

आफ्ना लागी त म कहिल्यै रुन्न
सँधै अरुका लागी आँशु झर्छ
अरुको जितको लागी आँशु झर्छ
अरुको भलाईको लागी आँशु झर्छ
तर कोही केहि पनि बुझ्दैन्न
मलाई अझै पनि गलत सम्झन्छन ति
बगिरहेछ्न आफ्नै तालमा
तर म त अझै पनि दोसाँधमै उभी नियालिरहेछु
एक्लो दर्शक बनेर ।।
२०६९ \०६ \०९
 COPYRIGHT © 2012 बिमोचन घिमिरे 

Monday, September 17, 2012

जे देखेँ जे सोचेँ ...

"बाउ रोला भन्ने पनि छैन । आमा रोला भन्ने पनि छैन । यही सडकमा खायो,सुत्यो । साला! जिन्दगी नि अनेक खेल खेल्छ, कहिले हसाउँछ , कहिले रुवाउँछ ......"

बाटोमा हिँड्दै गर्दा यि शब्दहरुले मेर पाइला रोके । कमलादि गणेश मन्दिर अगाडिको बाटो छिटो-छिटो छिचोल्दै घर पुग्ने हतारमा थिएँ जब मैले यि शब्दहरु सुनेँ । मेरा पाइला रोक्किए र म पछडी फर्की हेरेँ । एक महिला बेसुरे तालमा  बर्बराइ रहेकी थिइन । उन्को अवस्था एकदम बिजोग थियो । सिउँदोमा सिन्दुर थियो, अनुहार मैलोले गर्दा कालो देखिन्थ्यो, लगाएका लुगा पनि फोहोर र हिलो लत्पतिएका थिए । हात-खुट्टा नाङ्गा थिए र चिसोले गर्दा सुन्निएर निला देखिन्थे । उनलाई हेर्दा लाग्थ्यो उनि यस कोलाहलले भरिएको  शहरको दौडमा  हेपिएकी , पछाडी पारिएकी एक अबोध पात्र थिइन्,जो सँग गुमाउनु धेरै चिज छ तर पाउनु केहि थिएन । उनि आफ्नै सुरमा एकलास  बर्बराउदै थिइन । आफ्ना जिवनका कथा जसले कुनै साहित्यकारको कृतिमा ठाउँ पाएको छैन त्यसलाई सुनाउँदै थिइन्,आफ्नै भाकामा ...।

तर उनका अनुहारले भने कुनै पिडाबोध दर्साएको थिएन । उनका आँखाले सन्तुष्टिको आभाष दिलाईरहेको थियो,लाग्थ्यो उनलाई यो जिन्दगी प्रती कुनै गुनासो थिएन । तर उनका आँखाहरुले एउटा प्रश्न सोधिरहेको भान हुन्थ्यो ।" किन म हेपिरहेकी छु आफ्नै समाजबाट ? ?"  सायद यही प्रश्न हुनुपर्छ उनको मनमा यो समाज सँग सोध्नु पर्ने जुन उनका आँखाले  बारम्बार तेर्साइरहेका थिए । तर सायद यस्को उत्तर म सँग पनि थिएन त्यसैले त म उनलाई त्यही सडक बिच टुलुटुलु हेरिमात्र रहेको थिएँ ।

ढिलो भाइसकेकोले मैले बाटो तताएँ तर त्यस महिलाको अनुहार,उनले भोगिरहेको अवस्थाले भने मलाई छोडेन । मेरो शरिर घर पुग्ने हतारमा थियो तर मन उनि रहेकै बाटोमा थियो र उन्लाई नियाली रहेको थियो ।

मेरो मनले उन्लाई निकै बाहादुर ठानेको छ । उन्को आँखामा डर थिएन । बेबारिसे जिवनको केहि ठेगान थिएन तर उनका आँखाले भने बाटो पच्छाइ रहेको थियो । उनि ढुक्क थिइन आउने समय प्रती । सायद मनमा कुनै लोभ, तृष्णा नहुँदाको क्षण मानिस यस्तै हुनेछ । उसमा जिवनका भोगाइहरु प्रती कुनै लालसा , डर हुने छैन । उ निश्चिन्त भएर समय सँग ढौडने छ र समय सँगै जे घटनाहरु उसको सामु आउँछ त्यसलाई सरल रुपमा अङ्गाल्ने छ र अर्को घुम्तीहरुको लागी तयार हुनेछ ।

उनि भित्रको ममताले पनि मेरो मन छोएको छ । आफ्नो त्यस्तो अवस्थामा पनि उनि आफ्ना जन्मदाता प्रती स्नेह राख्दैछिन्,उनिहरु खुशी भएकोमा आफ्नो सारा दु:ख भुलाउँदै छिन र जिवन जिउने बलियो आधार सङ्गालेकी छिन । उनको यो ब्यबहारले एउटा हराउँदै गएको यथार्थ सम्झाइदेको छ । मानिस अरुको खुशिमा आफ्नो दु:ख भुलाउन सक्दो रहेछ भन्ने आभाष दिलाएको छ यस घटनाले मलाई ।

घर पुग्दा सम्म पनि उनको त्यो अवस्थाले छोडेन मलाई । घर पुगेपछी गहिरिएर सोचेँ ।अनेक थरी प्रश्नहरु मनमा उठ्न थाले ।"किन भोग्नु पर्‍यो उनले यस्तो ब्यथिती ?,के यो समाज निकै नै निष्ठुर छ ?,के यहाँ पैसाका बिटोले मात्र मानिस बाँच्दछ ?, के यहाँ पैसा मात्र ठुलो छ,मानवता मरेको छ ?" यि यस्ता प्रश्नहरुले मलाई खुब घच्घचाइ रह्यो तर उत्तर मैले भेट्टाउन सकिन । 

सायद क्यामरा मसँग  भएको  भए उन्को फोटो खिची सबैलाई देखाउने थिएँ उन्को अवस्था भन्ने सोचाइ आयो तर  तत्कालै आफैले यस्को खण्डन पनि गरेँ । उनी कुनै कथाको पात्र होइन्न जसको पचार गर्न परोस । उनी कुनै रङ्गमञ्चमा मञ्चन गरिने नाटक होइन्न उनी त हाम्रो समाजको एक यथार्थ पात्र हुन जसको बारेमा हामी बुझेर पनि बुझपाचाउँछौँ,जसलाई हामी देखेर पनि अन्देखा गर्दै हिँड्छौँ । उनि यस्तो पात्र हुन जो मानव हो भन्ने थाहा पाउँदा पाउँदै पनि हामी पशुवत ब्यबहार गर्दछौँ र उन्को हक अधिकार निल्न खोज्छौँ ।

आज उनी जस्ता व्यक्तीहरुलाई देखाएर थुप्रै सरकारी ,गैर-सरकारी संस्थाहरुले कती डलर भजाइ सके होलान ?,धेरै जाना पैदलबाट पजेरो चड्ने भैसके होलान । उनी जस्ता पात्रका कथा बेचेर धेरै कवि,कथाकार,उपन्यासकार जन्मे होलान तर उनी जस्ताको जिन्दगी भने हिजो पनि सडक मै बित्यो,आज पनि सडक मै बित्दै छ र सायद यही क्रम दोहोरिरहे भोली पनि सडक मै बित्ने छ ।

जसको कोही हुँदैन उसको भगवान हुन्छ भन्दछन । तर उनी सँग उन्को भगवानको पनि साथ छैन । भन्नेले त भन्नलान आज भगवानकै कृपामा उ बाँचेकी छे  मरेकी छैन  तर यो त सिरिफ आफु पन्छिने दाउ बनेको छ । समाज त उनी जस्ताको मरणलाई कुरिरहेछ । सायद उनी जस्ता मरे भने समाज आफ्नो तितो यथार्थ लुकाउन सक्षम हुन्थ्यो। तर उनी जस्ता पात्र आफै उत्पत्ती भएका होइन्न । उनी जस्ताको उत्पत्ती यही समाजले गरेको हो । यही समाज भित्रको भेदभाव ,हेला, घृणित सोचाइले उनी जस्ता पात्र जन्माएको हो । त्यसैले जब सम्म यो समाज सुद्धृदैन तब सम्म उनी जस्ता पात्र जन्मिरहने छन मर्ने छैन्न ।

लेख्दै जाँदा चन्द्रमा पनि अन्धकार हुँदै गरेको वतावरणलाई उज्यालो दिन आइसकेको छ तर मेरो मनमा भने डरको कालो बादल मडराइरहेको छ । मन भयभित हुँदै म सँग प्रश्न गर्दै छ; "के भोली तैँले पनि यस्तै नियती भोग्नुपर्ने त छैन ?" । यो प्रश्नले मलाई केहिसमय बिक्षिब्त बनायो । साँच्ची भोली मेरो हातले यो समाजको मुख पैसाको बिटोले थुन्न नसके म पनि यि पात्रहरु जस्तै जिन्दगी जिउन बाध्य हुने त छैन । आज मेर अगाडी पछाडी साथि-सङ्गि,नाता-गोताका अनेकन संबन्ध जोड्दै हिँड्नेहरु भोली मलाई त्यो अवस्थामा भेट्दा के मेरो दु:खमा साथ दिन म सँगै हुनेछन ? "अहँ हुनेछैन्न्",मनले सिधा उत्तर दियो । मित्र,आफ्न्त त ति महिलाका पनि थिए होलान तर के ति आज तिनि सँग छन ? उनी त बिल्कुल एक्ली छिन ।

मैले सोच्दै न सोचेको यथार्थ आँखा अगाडी आइ रोक्कियो । साँच्ची समाज निकै स्वर्थी रहेछ । मानिस आफैमा निकै स्वार्थी रहेछ ।

रात छिप्पिँदै छ र मेरा मन भित्रका सोचाइ लम्बिदै छन तर जती बेदना पोखे पनि समस्या चुलिँदै छ । सायद कुनै दिन यस्को नि अन्त्य आउला । तर कहिले ? म सँग उत्तर छैन ।
                                             २०६८-०५-३१
                      COPYRIGHT © 2012 बिमोचन घिमिरे





Wednesday, September 12, 2012

भुलाउन नसकिएको बिगत ..........

घडीका सुई उल्टो घुमाई आज समय फर्काउन चाहान्छ ऊ । आज सिङ्गो बर्तमान सपना ठानिरहेछ र आफुलाई रित्याईरहेको एक्लोपन लुकाउन चाहान्छ । आज, उ मलिन छ । अनेक थरी प्रश्न,वेदना,पिडा लुकाइराखेको छ मन भित्र ।  जान अनजानमा एउटा अनुहारसँग गाँसिएको धेरै प्रश्नहरुको उत्तर नपाउँदै आफ्ना अगाडी आएका नौला नौला हृदयबिदारक खबरहरुले आज उ बिक्षिब्त भएको छ ,थलिएको छ ।

बाल्यकाल देखिन आज सम्म उसले पच्छाउँदै आएको एकमात्र अनुहार थियो त्यो ।अनेक सँग ढाँट्यो,लुकायो तर आफैबाट लुकाउन सकेन ।  त्यो अनुहारसँग उस्ले धेरै सपना सजायो,बिभिन्न रङ्गि-चङ्गी कल्पनाका रङ्घरुले ति सपनाहरु रङ्गायो,आफैमा रमायो तर अभिब्यक्त गर्न सकेन ।

समय बिते ,परिवेश बद्ले, घडिका सुइसँगै जिवनले नयाँ-नयाँ मोड लिँदै गयो । नयाँ-नयाँ दृश्य हरु आउँदै र जाँदै गरे । जिवन चल्दै गयो कल्पनाकै भरमा .....
 तर आज ति अनेक दृश्य हरुको भिडमा उसले कहिल्यै कल्पना नगरेको भूमिकामा एउटा भिन्न किसिमको अचल दृश्य उस्को आँखा  अगाडी मन-मुटु कम्प्तित गर्दै खडा भयो । त्यो झुकेका आँखा ,रङ्गिएका गाला,घुम्टो भित्र लुक्न खोजेका ति आँशुले भरिएका आँखा र थकित आनुहार ,,तर "त्यही अनुहार" ,जसका पछाडी जिवनका हरेक पल लागे,अनेकन सपनाका महल  ठडिए, अनेक निदरी हराए। त्यही अनुहार आज आँखा अगाडी एक काल्पनिक घटना जस्तो भिन्न परिवेशमा उभिएको छ र उसलाई भित्रैदेखिन एक्लाई दिएको छ ।

आज त्यो अनुहारसँग नजिक हुन सबै द्वार थुनियो । समय रोकाउँदै हृदय हल्लियो तर माया हटेन,पिडा बढ्यो,रिस उठ्यो तर सम्मान ढकमकाएन । लड्दै गरेको ठुलो क्रान्तिको आज दु:खद अन्त्य भयो तर विरता मरेन । स्विकार्यो यथार्थ,सुखद भविष्यको शुभकामना मनै देखिन सुनायो र हृदय देखिन बधाइ दियो । "आखिर हरेक को आफ्नै अनुहार खोज्ने अधिकार हुन्छ । मैले मौनतामा उनलाई रोजिरहेँ; गल्ती कस्को ? न उस्को न मेरो !! आफ्नो जिवन आफ्नै  भाग्य ",उ समालियो।

तर घाउ मर्दैन त्यसै!!  पुरानो घाउ त बल्झिन्छ , यो त  आलै छ । अचेल कोलाहाल बिच पनि उ आफुलाई एक्लो भेट्दछ । कुनै हावाको झोकाको कोमल स्पर्शले पनि उसलाई उन्को साम्पियताको खाँचो झल्काउँछ र उ  कहिले कालो आकाश वा चन्द्रमाको छाहारिमा बसी  पुरानै यादहरुसँगै हराउँछ । अन्धकार भित्र कहिले-काहिँ भेटाउँछ आफुलाई अनि त्यो अनुहार सम्झेर झस्किन्छ । कतै पानाहरुमा दुइ-चार शब्दाका वेदनाका बाढी बगाउँछ,केहि दिन शान्त हुन्छ तर अनुहारले झस्काइरहन्छ । आँखा आँशुका थोपा चुहाउँदैन तर मन त आफ्नै हो,यो लुक्दैन आफुबाट । दु:ख त लागिरहन्छ,याद त आइरहन्छ ...
 सायद चोखोपन,सत्यता,शुद्धता यसमै छ । त्याग पनि त एक उच्च्तम उदाहरण हो । क्रान्ती हो । माया हो!!
(कसैको ब्यक्तिगत जिवनमा मेल खाएमा संयोग मात्र हुनेछ !! )
                                                                                 Copyright © 2012 बिमोचन घिमिरे

Saturday, September 1, 2012

लडाइँ ............

आजबाट कठोर यात्राको शुत्रपात गर्दैछु । कठोरता कसैले भिदाईदिएको होइन ,आफैले अँगालेको हो । कसैले चिनाइदेको होइन आफैले खोजेको हो । यस्तै कठोरताको  शुरुवात गर्न जादैँ छु ।कठोरताका मसीहरुले जीवनका आलेख भर्न चाहान्छु म ।

सुर्य पूर्वबाट उदाउँछ ,धुर्ब सत्य । तर आज जीवनका सुर्य जीवनको पश्चिमी  निस्प्राण क्षितिजबाट धकेल्दै कठोरताको चिराहरुलाई फटाउदै नयाँ नौलो बिहानी निम्ताउने दाउमा जीवनको पासामा जीवनलाई नै बन्धकी राखी पुन: निश्चयी कदमका साथ पासा जित्न चाहान्छु । चाहन्छु यो जीवन इतिहास हुनु पुर्व एउटा साहित्य बनोस् ,एउटा कथा बनोस् ,कसैको उपन्यास बनोस्,कबिका कबिता बनोस् ,नाटककारको नाटक बनोस् ।चाहान्छु ,मैले एक्लै लुक्दै,छिप्दै ,एक्लो सभाकक्षमा सुनसान दर्शक सामु अन्तहीन रुपमा मन्चन गर्दै गरेको यो आख्यान भोलि कुनै नाटककारका झुण्ड अगाडी सम बिर्साउने गरि मन्चन होस् ।एउटा गुन्जाएमान तालिको गढ़गढ़ाहट गुन्जियोश जसले भोलिका  ढोका ढक्ढकाउँदै सपनाका महल भात्काउने छ र एउटा कुखुरोको कुखुरी काँ सँगै जगत ब्युँझाउने छ र पश्चिमी क्षितिजलाई हेर्दै भन्ने छ " हिजोको तेरो सपना आज सफल भएको छ,पुर्व अन्धकार भएको छ। सुर्य तेरो पोल्टामा आएको छ आज कठोरताले यथार्थता नै च्यातिदिएको छ ।
सत्यलाई मानिराख्दा हामिले त्यस भित्रको झुठ भुलेको आभाष हुन थल्ने छ । आज पश्चिमले समयको शुरुवात गरिदिएको छ ।पुर्वको सिंहासन हाल्लिएको मात्र होइन चक्नाचुर भएको छ । पश्चिमलाई धाड फर्काइ पुर्व पुज्नेहरु आज निहुरिएका छन्,लाजले छट्पटाइरहेका छन्,"कुन अनुहारले पश्चिम फर्किने आज"भनि सोच्दै ।

जिवनलाई यही पश्चिम सँग दाँजेको छु मैले । कठोर हुनै परेको छ ।सबका सिंहासन उखेल्दै फाल्दै अगाडी बढ्ने प्रण जो छ । चम्किनेले नचम्किएकालाई मिच्दै हिँडेपछी उस्को चम्किलो छवी धुमिलिन्छ । आज ब्रह्म्म मिच्दै मिचाहा हुनेहरुको पतन गर्नुछ । समय आफ्नोलागी हिँडेको छैन,कुनै डर छैन । समयका औंलाहरु भाँच्दै आज रोकाउने  छु ।गलत बाटो तर्फ  डोर्याउने हातहरुको कुनै अर्थ छैन ।
अब पुराना धरातलमा उभिने अवस्था छैन ।हेपिएको  पश्चिमलाई पुर्वको दर्जा दिनेछु । पुर्वले सिक्नु पर्छ,बुज्नु पर्छ पश्चिम हुनुको पिडा,नत्र अस्तित्व मान्ने मन मर्ने छ । समानता भात्किने छ र उठ्न पाउने छैन ।
काखा र पाखा गर्दै परमात्माले बिश्व बनाएका होइन्न तर आज सिर्जना हेपिएका छन्,आशा मिचिएका छन ।त्यसैले आज जिवनको कठोरता देखाउनु नै छ ।हिजो लुकिरहेका हात मुठ्ठी बटार्दै के हुन्छ ? बिश्वलाई बुझाउनु छ ।
खाडल खन्दै  असमानता पुर्नु छ,समानतालाई स्वतन्त्रता दिलाउनु छ । अब शक्ती मुठिबाट फुकालेर भोका पेटसम्म पुर्याउनु छ । शासक ब्युझनै पर्छ,तीनले बुझ्नु पर्छ,भोलिका बिहान तीनका शासन हामी मान्ने  छैनौँ,सिँहासनमा तीनलाई बसाउने छैनौँ ।हामी आफ्नो  भाग्य आफै कोर्न सक्छौँ,आफ्ना लागी आफै शासन गर्न सक्छौँ ।
भोको पेट भर्न नसक्ने,नाङ्गो शरिर ढाक्न नसक्ने,खाली छत छोप्न नसक्ने शासक अब ब्रह्मनालामा निदाउने छ र त्यस्को निद्रा सँगै बिश्व उठ्ने छ,नयाँ बिहानी लिएर ।जाहाँ पुर्व-पश्चिम केहि हुनेछैन,ठुलो-सानो अहँ सुनिने छैन ।बस्!त्याहाँ समानता हुने छ,एकता हुनेछ र एक सुन्दर शान्त बिशाल परिवार हुनेछ । 
                                                                 Copyright © 2012 बिमोचन घिमिरे

ShareThis