धेरै दिन पछि भेट भयो । तर
कुनै आभाष भएन , कुनै उत्साह लागेन , भएका उत्साह थिए ,केहि सम्हालेर राखेको थिएँ
तर अहँ त्यसले आफ्नो कुनै उपस्थिति जनाएन , खोई किन जनाएन? किन ? म उत्तर दिन
नसक्ने एउटा अप्ठ्यारो अवस्थामा उभिएँ , आफुले आफैलाई उत्तर दिन सकिन .. अचम्मको
क्षण थियो तर यथार्थ यहि थियो धेरै पछिको भेटमा पनि कुनै उत्साह रहेन वा भएको
उत्साह पनि मर्यो... खोई के भयो ?
दैनिक जसो हुने भेटहरु , बिस्तारै केहि हाप्ता
पछि हुने गर्थे, बिस्तारै बिस्तारै त्यो
अवस्था पनि पातलिंदै गएर महिनामा गएर टुंगियो ..पछि त्यो पनि भएन .. आज यसो
नियालेर हेरें यो भेटको अन्तराल ... निकै लामो समय भैसकेको रहेछ नभेटेको तर आजको
भेट पनि कुनै नियमितताको एउटा नयाँ अध्याय थिएन जसमा खुशी हुन सकिन्थ्यो , यो त
सिरिफ एउटा भबितब्यले निम्ताएको कुनै प्रसंगबशको भेट थियो जुन पनि तुहिन लागिसकेको
थियो तर सायद माग त्यहि थियो समयको, हाम्रो भेट.. जो भएर छाड्यो !
लगभग यो समय साँझको धमिलो अन्धकारले काठमाण्डौ
छोपिसकेको हुन्थ्यो तर आज अवस्था फरक थियो , उज्यालो घटेको थिएन, मानिसहरुको
चहलपहल घटेको थिएन, घुइंचो उस्तै थियो ... हिउँदका छोटा दिनहरुको अन्त्य भएको बल्ल
आभाष भयो मलाई ... धेरै पो भैसकेको रहेछ म शहर नपसेको, आज आफैलाई यस्तो आभाष हुँदै
थियो, धेरै भएछ शहरबाट हराएको ...
पुग्ने म पहिलो थिएँ या थिइन यसको लेखाजोखा आज
गरिन तर कुर्ने पहिलो नै थिएँ होला ..
" म कुर्दै छु "
"हुन्छ म आएँ" केहि सेकेण्डको वार्तालाप
मोबाइल छ त सजिलो छ, तर कहिले काहीं मात्र बज्ने र बोल्न प्रयोग
गर्ने मेरो मोबाइलमा घन्टी बज्दा पनि मलाई अचम्म लाग्छ । धेरैको लागि सामान्य
लाग्ने त्यो घटना मेरो लागि नौलो नै हुन्छ .. मेरो मोबाइलको घन्टी कति चोटी बज्यो
वा यसबाट कति चोटी अरु कसैको घन्टी बज्यो भन्ने तथ्य खोज्न सायद कसैलाई दिमागको
तन्तु खियाई रहनु पर्दैन होला .. हो धेरै छैन पनि र सायद हुन्न पनि होला ...
यो प्रसंग चल्दा धेरै मलाई "असमाजिक"को
बिल्ला थुपारेर मात्र कुरा अगाडी बढाउछन, मलाई कुनै रिस उठ्दैन यो भनाइ प्रति म मन
मनै भन्छु हो म असमाजिक नै हुँ, मलाई कुनै मधुर कण्ठ बनाएर कसैलाई रिझाउने वा
घन्टौ प्रसंग बिहिनका गफ सुनाएर आफु बाँचेको आभाष आफैलाई दिलाउने वा अरु कसैलाई
आफ्नो अस्तित्व सम्झाउने सोख कहिल्यै पलाएन... होला यहि कारणले होला म मानिएको
सामाजिक संसारको घेरा भित्र पर्न सकिन त्यसैले मलाई गौरब छ मेरो असमाजिक परिचयको लागि ....
समय बढ्दै गयो ... एक, दुई, तिन भेला हुने र
बनाउने होडबाजी नि चल्यो .. भिड बढ्यो !!
आ-आफ्नो प्रसंग, आ-आफ्नो बिषय र आ-आफ्नो रुची
हुनु सयादै भिन्न कुरो होला, सबैको हुन्छ , झन् धेरै दिमाग . धेरै मुख हुँदा धेरै
बिचार र धेरै तर्क-बितर्क निस्किंदैन भन्न सकिन्न , निस्किन्छ नै तर अचम्म तब
लाग्छ भिडको तमाम कुरो भित्र आफु बकुल्लो बनेर ठाडीदा .. सकिएन अहँ सक्दै सकिएन
समान्जस्यता खोज्न ... अनि सोच्छु बेला बेलामा सायद म फरक नै भएँ .. फरक हुने
प्रयास गरें भन्लान .. भनेका पनि होलान तर होइन त्यसो अस्वस्थ प्रतिस्पर्दाको
आवश्यकता मैले कहिल्यै बोध गरिन तर किन ? फरक भएँ खोई किन किन ?
मानिस एकान्त नै खोज्छ , चाहे भिड होस् वा एक्लो
बटुवा मानिस एकान्त नै खोज्छ , आफुलाई सामाजिक भनेर नथाक्नेहरु पनि एकान्तमा नै
आफ्ना भारि बिसाएर बिताउन चाहन्छन उही समाजको प्रहारबाट भाग्दै ... हात्तिको
दांतकै सेरोफेरो भित्र अडिएको छ जीवन ... एकान्त खोज्दै मिल्ने कुरो होइन तर कोहि
नहुनुको खालि ठाउँ हाम्रो लागि एकान्त हो जहाँ आफै भित्रको गुम्सिएका अनेक थरी
ओहोर दोहोर अरु कहिले तरल हुँदै त धेरै सजिलो रुपमा धुवा हुँदै बाहिरिन्छ या भनौं
हामी भ्रम पालेर भन्छौं बाहिरिन्छन ....
म कुर्दै थिएँ .. उ आइपुग्यो , समय धेरै नै लायो
तर आइपुग्यो ... औपचारिकताको हात हल्लायो र सिधै आफ्नो नौलो परिचय देखाउंदै भिन्न
आवरणमा आफुलाई ढाल्यो ..फरक लाग्यो त्यो आवरण, उ बदलियो ? या मा बदलिन सकिन ? कि उ
नयाँ भयो म पुरानो नै रहें ..के बदलिनु राम्रो हुनु नै हो ? स्थिर हुनु बिग्रिनु
नै हो ?........
हल्ला संधै मान्छे जान्ने र बुझ्ने परिचय हुँदैन
तर दृश्य जो स्वयम व्यक्ति आफैले देखाउंछ त्यसलाई के भन्ने? व्यक्ति उन्मुक्त भयो
? वा झन् झन् नचाहँदा, नचाहँदै कुनै बन्धनमा फस्यो ? म आफै पनि रनभुल्लमा परें ...
चुम्बकीय शक्ति हुन्छ धुँवामा ... तान्छ धेरैलाइ
तान्छ , भुमरीको जाल फिजाउछ , फस्छन धेरै फस्छन ... ठुटो हुँदै धुँवासम्म आइपुग्दा
आफ्नो बोझ घटेको भ्रम पलाउँछ कि कसो ? नत्र किन सबै तल्लिन छन् .. एक दुई गर्दै
किन भिड जम्मा हुन्छ त्यहि धुमिल परिवेश वरिपरी ? लाग्छ एकनासले यहि प्रश्नको
लस्कर लगाइदिउ सबै सामु तर म रोक्किन्छु ... म बस नियालिरहन्छु ...
संसार भरिको दुख पाएको जस्तो , जीवनक हरेक आयाम
बुझेको जस्तो मानिसहरु धुँवा संगै ओकल्छन थरि थरिका हल्लाहरु .. यो देखि त्यो सम्मका
, परिपक्वताको ठुलै महल ठडाएको भान दिंदै मानिस बोल्न शुरु गर्छ .. भिड त्यतै तिर
रुमल्लिन्छ ..
म भने आफैमा ठोक्किन्छु... ति हरेक कुरा सुन्दा
लाग्छ सायद म हराएछु संसारबाट , मैले केहि बुझेको नै छैन , केहि जानेको नै छैन, तर
जानेको पनि के छ र ? म बिल्कुल फरक देख्छु आफैलाई ... भीडबाट अलग , ओहोर दोहोर बाट
अलग ... अनि सोच्छु के म हराएकै हो त ? सबैले भनेको जस्तो म हराएकै हो त ? आज पनि म
उही प्रश्नमा अल्झिएँ संधैको जस्तो ......... के म हराएकै हो त ?
साँझको अँध्यारोले छोप्दै थियो .. भिड बाहिरियो
..भिड संगै म पनि बाहिरिएँ .........