Sunday, August 27, 2023

राष्ट्र जलिरहन्छ ॥

तिम्रा न्याय सुशासनका बिल्लाहरू
अनि तिमीले छर्ने बजारी हल्लाहरू
सधैँ छताछुल्ल हुन्छन् ।

त्यो मकुन्डो पछाडिका तिम्रा दैत्य रूप
फगत ! तिमीलाई देवता मान्नेहरु देख्दैनन् ,
अगुवा ठान्नेहरुले बुझ्दैनन्  !!
तिमी ! घुम्ने मेच माथि घुमिरहेको
कलियुगको शकुनि हौ !


तिम्रा चालहरूमा रमाउँछन् कौरवहरू,
ठगिन्छन् कयौं पाण्डवहरू,
तिम्रा सभाहरूमा
नीति र थितिहरूको दिनानुदिन चीरहरण हुन्छ ।

अनि कैयौं धृतराष्ट्रहरू, 

भविष्यको सुनौलो स्वप्नको मोहजालामा लट्ठिदैं,

फगत ! मौन बस्छन् ।
 

यही  क्रूर चक्रव्यूहमा,
पिसिन्छन् कैयौँ अभिमन्युहरू,
लाचार भै  वाणका शय्यामा छटपटिन्छन्
कैयौँ भीष्मपितामहहरू,
अनि लाक्षागृहमा
सधैँ राष्ट्र जलिरहन्छ ॥

 
२०८०/०५/०४

ShareThis