Friday, December 16, 2016

बर्षदिन






 सुस्तरी-सुस्तरी ताराहरुको

स्थान फेरिएको छ

हाँस्ने-रुवाउने बिषयहरुको यहाँ

सवाल फेरिएको छ

एक्लै गन्दै बितेका दिनहरुसंगै

 आज सिङ्गो एउटा साल फेरिएको छ ।



आउने-जाने अक्षरहरुको आज

बजार फेरिएको छ

भित्तामा पोतिने रंगहरुको

रफ्तार फेरिएको छ

किन फेरियो ?

बिगतमा कोरिएका अनेकन कहानीहरु

 सोध्दा-सोध्दै आफैलाई कारण;

आज सिङ्गो एउटा साल फेरिएको छ ।



फेरियो लेखेका अनेकन शब्दहरुको अर्थ

फेरियो आउने-जाने सन्देशहरुको मार्ग

हेर्दाहेर्दै दिनहरु रात हुँदै गए

आज, आँखै अगाडी

कहिल्यै नचिताएको,

सिङ्गो एउटा साल फेरिएको छ ।



कस्तो रङ्गमञ्च?, नाटक कस्तो-कस्तो ?

सम्बन्धहरुको भिडमा, नयाँ स्वाद फेरिएको छ

जिन्दगीलाई चिनाउने आज, नाम फेरिएको छ

नहुँदा छेक्ने, लोभी तगारो

आज सिङ्गो एउटा साल फेरिएको छ ।



उही छन भित्ताहरु तर खबर फेरिएको छ

लेख्ने कलमहरुको यहाँ मसी फेरिएको छ

खाली पानाहरुमा खोज्दा-खोज्दै, हराएका अवशेषहरु

 सुटुक्क !

आज सिङ्गो एउटा साल फेरिएको छ ।



तस्विर उही छ तर मुस्कान फेरिएको छ

यात्री उही छ तर यात्रा फेरिएको छ

अनेकन उत्तरहरुको यहाँ प्रश्न फेरिएको छ

नियतिले दौडाएको कदमहरुमा रुमलिंदै

समयले थुपारेको सन्नाटामा निस्सासिंदा

अन्यौलता बीच

विगतले सिकाएको पाठ बुझ्न नभ्याउँदै

अचम्म लाग्छ !

कति छिटो 
 आज सिङ्गो एउटा साल फेरिएको छ ।।।

२०७३/०७/२२ सोमबार

Friday, November 25, 2016

शुभरात्री




  
समयले अन्तिम सन्देश दियो,
 आजलाई रात छिप्पिसकेछ ।

दैनिकीको एउटा लामो यात्रा
आजलाई फेरी यिनै चारकुने संसारको
टेबल घडीमा आएर रोक्कियो ।

दिनभरिको
आशा, निराशा
थकान, उत्साह
बिश्वास, धोका
सहि, गलत
सम्झना, बिर्सना
मिलन, बिछोड
एउटा अथक यात्रा
संधैं झैं पुन: उही घडीको
सुईहरुको रफ्तारमा रोक्कियो ।

निद्राको निम्तो
 आँखा तन्काउन बाध्य पार्दैछ !

भोलि फेरी यसरी नै उठ्ने धोको
यिनै पुराना साथी संगीहरुसंग जुध्दै
आजभन्दा केहि पृथक गर्ने आशामा,
गन्तव्यको नजिक पुगेर चुम्न,
प्रयास गर्ने अठोटका साथ,
अनेक योजनाका तानाबाना बुन्दै
निदाउने उही पुरानो शैय्यामा
 पल्टिदै छु म, आज फेरी ।

थाहा छ ! यी आजका अठोट
हिजो भइसक्नेछन उठ्दा,
अनि भोली ?
 उठ्दा कहिल्यै भेट्दिन म !

तर संधै, भोलिकै आशा ब्युँझिन्छन,
र त !
 आज चैनसंग निदाउँछु म ।। 

२०७३/०६/०८ शनिबार

Sunday, November 6, 2016

हल्ला







अचेल

हल्ला बिहान बिहानैबाट चल्छ, हावाको सट्टा
चराहरु हल्ला टिप्छन र आफ्ना बचेरालाई खुवाउन दौडिन्छन
यहाँ बिहान बिहानै, चाराको सट्टा !


अचेल

 टेबल घडीको अर्लाम्ले भन्दा

रेडियोले एकाबिहानै फुक्ने, हल्लाहरुले ब्युँझिन्छ मान्छे !

यिनै हल्लाहरुलाई आत्मसात गर्दै,

यिनैका मन्त्र जप्दै, दैनिकी शुरु हुन्छ !

चिया गफ, च्याट, ट्वीट, स्टाटस

हल्लै हल्लाले भरिन्छन !

अचेल व्यस्त छ समाज, यिनै हल्लाको प्रचारमा !



कतै हल्ला, गगनचुम्बी भवनको बाटो हुँदै

डलरको गन्ध बोकेर आउँछ,

आफ्ना बिचको फाटो लम्भ्याउँदै,

पराई खेल्ने मैदान बनाउँछ !



कतै हल्ला, टाउको माथिको छानो

खाली थालको खाना र नाङ्गो आङको कपडाको

आश्वाशनको रुप लिन्छ

तर उही अमिलो थुक निल्न बाध्य बनाएर जान्छ !



अचेल

बिकास, राष्ट्रवाद पनि हल्लामा अटाउंछ

सहअस्तित्व, भाइचारा हल्लामा नै हराउँछ

 नैतिकता र सुशासन पनि हल्लै बीच हराएको धेरै भयो ... ।



पराइले छोडेको स्वार्थरुपी हल्लाको तालमा

आफ्नाहरू कित्ताकाट गर्दै

आ-आफ्नो डम्फु बजाउँछन


अनि सुटुक्क खोलानालाहरुको, सिमानाका धर्साहरुको लालपुर्जा,

नागरिकताका बोकेका झोलाहरु,

 रातारात सिमापारका मण्डीहरुमा लिलाम हुन्छ !



धेरै भयो

हल्लाहरु महल, शहर, गल्लि चोक हुँदै

गाउँघरमा घुस्न थालेको

अचेल खाट देखि लिएर घाट सम्म

हल्लाको पकड दरिलो छ !



उहिल्यै भूपीले भनि गएको

यो हल्लै हल्लाको देशमा

 अचेल, हल्लाको साम्राज्य अझ फैलंदो छ,

कान छाम्नेहरुको कमी संगै

 आयातित हल्लाहरुको ब्यापार चर्को छ !



कता कता डर लाग्छ;

यी हल्लै हल्लाको साम्राज्यमा

हामी, नतमष्तक भएर नाच्दै गर्दा

कुनै दिन यो देशले पनि, हल्लाकै भरमा

सुटुक्क बसाई, सर्ने त होइन ... ?



२०७३/०६/०९/आइतबार

















ShareThis