Friday, August 1, 2014

मेरो सपनामा

"दिनहरुको अन्त्य नजिकिंदै जाँदा समय निकै छिटो कुदेको जस्तो लाग्छ, कति चांडो समयले नेटो काट्यो पत्तै हुँदैन.. लाग्छ समयले नि धोका दियो सुटुक्क बिदा मागेर..... तर हामी बिर्सन्छौं ति लामा-लामा दिनहरु जुन आज सम्म आइपुग्दा हामीले पार गर्यौं .. कुनै दिन निकै खुशी भएर बितायौं, हास्यौं, रमायौं, ख्यालठट्टा कति गर्यौं अनि इश्वरलाई पुकार्दै प्राथना गर्यौं जीवन संधै यस्तै दिनहरुले भरिद्यौ..संधै हाँसो संधै खुशी । कुनै दिनहरु सायद निकै सकसपूर्ण रहे... लाग्थ्यो जीवनमा ठुलो गल्ति गरियो यी बाटाहरु रोजेर... अनि सायद आफैलाई कति धिक्कार्यों ।

तर जब बिधाईको कुरा आउँछ तब सुखका क्षण हुन् या दु:खका सबै एउटा अमुल्य सम्पत्ति जस्तो लाग्दोरहेछ... दुबैलाई छोड्न निकै गाह्रो हुने .. केहि गुमाउंदै गरेको जस्तो ..केहि नपुगेको जस्तो ..केहि हराए जस्तो ..
ठिक यस्तै भुमरीमा आज आफु उभिएको भान हुँदैछ मलाई .. आज-भोलि भन्दा भन्दै जीवनको अमुल्य बसन्तहरु पार भैसकेछ आजको दिन सम्म आइपुग्दा....

कति दिनहरु आज सम्म नि मानसपटलमा ताजा छन, कति कुन पानामा लेखिए कुन कुनामा फालिए पत्तै छैन तर जीवनको यो अध्यायको केस्रा केस्रा केलाएर पुन: हरेक संग जीउने इक्षा मन गर्दैछ ... मनको काम संधै यस्तै .. बाँधिरहन्छ ..
खैर ! जति कुरा खेलाए नि अगाडी बढ्नुको बिकल्प छैन समयको भेल संगै ...

"जान लाग्यौ बाबु ! राम्रो संग जानु .. शुभकामना !! " , फलामे गेटको त्यो अन्तिम सिमा नाघ्दै गर्दा , सुनेका यी आवजले मेरा खुट्टा रोक्किए ।.. निकै कम्पन थियो त्यो आवजमा, कतै सुने-सुने जस्तो आवाज ....धेरै बर्ष देखि सुन्दै आएको तर कतै भुलाएको आवाज ... आज त्यहि आवाजले मलाई रोक्यो ..

मैले पछाडी हेरें... मेरा आँखाहरुले जे देखे त्यस दृश्यबाट म झन् अचम्मित भएँ ..

एक जना बुढी आमा उभिरहेकी थिइन् .. सयौं बसन्त पार गरेको जस्तो उमेर ... निकै जिर्ण...थकित, चाउरिएको.. मैलका काँठोले भरिएको शरीर .. लट्टा परेका, जिङरिङ्ग परेर कुरूप देखिएको सेताम्मे तर धुलो, धुवाँले भरिएर कालो देखिने कपाल, खाटो परेका घाउका दागहरु , नपखालिएका रगतका टाटाहरु, आलो रगतले भिजेका खुट्टा र आङ ढाक्ने नाममात्रको धुजा धुजा परेको निकै पुरानो साडी ....

आफ्नो अगाडी उभिएको यो बिरूप, काहालीलाग्दो दृश्यले मेरो रौँ-रौँ काप्न थाले.. शरीर भरी काँडा उम्रिए .. शरीर पसिनाले भिज्यो .. म केहि बोल्नै नसकेर उभिरहें ..

"अब फेरी आउंदैनौ होला है ?" फेरी उही आवाजले म झसंग भएँ .. उनि त्यहीं उभिरहेकी थिइन् ..

डरलाई काबुमा राख्दै सुस्तरी म अगाडी बढें ..म जति अगाडी बढ्दै थिएँ ..उनको अनुहारमा छुट्टै चमक छारिंदै थियो .. चाउरिएका छाला तन्काउंदै ओठहरु मुस्काउने प्रयास गरिरहेका ..केहि हदसम्म सफल नि भए ..

"हजुर को आमा ?", "अनि याहाँ कसरी आइपुग्नु भो ?" "मलाई कसरी चिन्नु भो ?" "मैले त तपाईलाई चिनिन" – धेरै प्रश्न र डरले आत्तिएको एउटा बालक झैं मैले एकै स्वासमा भनें.. सायद म भित्रको डर उनले चाल पाइन र त सान्त्वनाका हातहरुले मलाई छुँदै , आत्मिय मुस्कानले मेरो डर शान्त पार्ने कोसिस गरिन उनले ...

"म ? म यहि घरको बुढी आमा बाबु .. यो मेरै घर त हो .. संधै यहि ढोका निर उभिएर तिमीहरु आएको गएको हेरीबस्थें ... तर आधुनिक सहरी भुलभुलैयामा रमेका तिमीहरुले सायद मलाई कहिल्यै देखेनौं ..." रुखको छाहारीमा बसाउँदै गर्दा उनले यी शब्दहरु मेरो सामु पोखिन ।

मैले सारा बिगत केलाएँ, त्यो ढोका हुँदै आएको गएको सबै क्षण सम्झने प्रयास गरें तर अहँ ! मेरो दिमागले उनलाई देखेको कुनै चित्र कोर्न सकेन ..साँच्ची मैले उनलाई आजभन्दा अगाडी कहिल्यै देखेको थिइन् ..

"के सोच्दै छौ बाबु ?" म फेरी झसंग भएँ ...

"केहि होइन आमा?" हत्तपत्त उत्तर फर्काएँ ..

उनको बर्णन र उनको अवस्था बीचको तालमेल नदेख्दा म चुप बस्न सकिन- " तर आमा तपाइको यस्तो अवस्था चाहिं कसरी भयो ?"

"समय बाबु समय " केहि मलिन हुँदै उनले भनिन् , " पहिला पहिला म नि निकै राम्रो थें बाबु .. सफा कपडा , सफा शरीर , तरुण अवस्था, सबैले आँखा लगाउँथे .. तर समय संगै मानिसको स्वार्थ नि फेरिँदो रहेछ .. बिस्तारै बुढेसकालले छोप्दै आएसी सबैले हेप्दा रहेछन .. अहिले त्यहि हेलाको पात्र भएको छु ..."

"म पहिलो सन्तान ... आमा भन्नुहुन्थ्यो मलाई जन्माउन निकै गाह्रो भएको थियो रे, .. तर जब म जन्मिए त्यसपछि बिस्तारै आमाका दुखका दिन पनि गए रे ... "तँ निकै ठुलो भाग्य लिएर आइछ छोरी.. तँ नभएको भए सायद मैले कहिल्यै घामको मुख हेर्न पाउने थिइन् .. तैंले त मेरो लागि स्वर्गको फिलिंगो नै चोरेर ल्याइस.... उज्यालो लिएर आइस ...
तर के गर्छेस ? अझै अपुरै भाग्य लिएर आइछेस .... कहिल्यै शान्ति दिएनन नि तँलाई .. ठुला बडा भए तर कहिल्यै फर्केर हेरेन्न तेरा सन्तानहरुले  ... निकै दुख पाइस छोरी तैंले", कुनै सुनिदिने व्यक्ति भेट्टाए जस्तै मनको ठुलो पोका सकिनसकी .. गहभरी आँशु पार्दै सुनाउंदै थिइन् ..ति बुढी आमा...

"आमा संधै यहि भन्नेगर्नु हुन्थ्यो मलाई .. तर अचेल त उहाँ पनि निकै गल्नुभयो .. म भन्दा बेसी दुख भोग्नु भएको छ मेरी आमाले तर पनि ति सबै सहेर भए पनि बोलिरहनु हुन्थ्यो ..अहिले त निकै गल्नु भएको छ .. केहि बोल्नुहुँदैन सुतिरहनु हुन्छ ... बेला बेला मेरो यस्तो अवस्था देखेर चिच्च्याउन खोज्नुहुन्छ तर सक्नुहुन्न .. आँखाबाट अविरल धारामात्र खासालि राख्नुहुन्छ .."

भन्दै गर्दा उनि एक्कासी भक्क्निए रुन थालिन .. लाग्थ्यो धेरै दिन देखिन ठडिएको बाँध भत्कियो आज ...

यो अवस्था देखेर मैले नि मन थाम्न सकिन ..

"नरुनुस आमा" मेरा स्वर नि मलिनो हुँदै थिए.. केहि सम्झाउने प्रयास गरें तर सकिन ..

"अनि तपाईका छोराछोरीहरु खै त आमा ?" यो प्रश्न सुनेसी भने उनि रोक्कीईन् ,, आँशु केहि थामियो .. अनुहारमा नैराश्यता छायो र आँखामा क्रोधको ज्वाला एक्कासि दन्कियो र सेलायो ।

"छोराछोरी धेरै भए बाबु ..धेरै भए तर जति भए नि केहि नहुँदो रहेछ ..सन्तानले बाटो बिराएपछी आफ्नो धोक्रो आफैले बोक्नु पर्दो रहेछ... मेरो आमाको जीवनमा मैले केहि खुशी ल्याएँ तर मेरा सन्तानबाट यस्ता खुशी पाउने लेखेको रहेनछ बाबु मेरो भाग्यमा ... कोहि डाक्टर , कोहि नेता , शिक्षक , लेखक , सबै ठुला ठुला पदमा पुगे ..नैतिकता .. अनुशासनका पाठ सिकाउने भए तर आफनै आमालाई यसरी हेलाको पात्र बनाएर छोडे ... कोहि फर्की आउंछु भन्दै, मिठा मिठा सपना देखाउंदै विदेश गए तर उतै भासिए .. बुढी आमाको मायाले के तान्दो हो ? . यतै भाएका नि आउंदैनन, यहि बाटो हुँदै कति चोटी हिंडछन् तर कहिल्यै फर्किएर, हालचाल सोध्दैन्न, दुखसुखको चासो दिदैनन.....। आफ्नो स्वार्थ रहुन्जेल बसे, सम्पत्तिहरू लगे ,बाँडे ,सिद्धाए अहिले बिर्से ... अहिले बिल्कुल एक्लो छु. एउटा पेन्सनवाला लाहुरे झैं .. यहि बुढो भित्ते घडी र यहि पोखरीको किनार छ अहिले बुढेसकालको साथि भन्नु ..मेरा बालसखाहरु ..म यिनका कुरा सुन्छु ..यिनी मेरा कुरा सुन्छन ..हामी सबैको उही बेदना छ ..उही गुनासो .." भन्दाभन्दै उनि टक्क रोक्किइन अनि केहि बोलिनन् ....

साँझ पर्न आँटेको थियो ... क्षितिज सुनौलो हुँदैथियो र बिस्तारै अंध्यारो रात्रिले छेक्दै आएको थियो ..

"आमा साँझ पर्न आँट्यो.. ढिला नि भयो ... अब जान्छु है ?" उनका आँखाले एकनास मलाई हेरे ..तर मुखले केहि बोलेन....

म त्यहाँबाट उठें .. फर्किन लाग्दा एउटा प्रश्नले मेरो दिमाग तरंगित भयो...., मैले हत्तपत्त पछाडी फर्किंदै सोधें-" आमा तपाइको नाम चाहिं....?"

तर उनि त्यहाँ थिइनन् ..

यता उति हेरें...फरक दृश्य थियो ... त्यो पुरानो घर , त्यो फलामे ढोका .. रुखहरु ..त्यो भित्ते घडी.. त्यो पोखरी केहि थिएनन ... म मेरै खाटमा थिएँ ..अहिले सम्मका सबै घटनाक्रम एउटा सपना थियो भन्ने आभाष हुँदा मैले बिश्वास नै गर्न सकिन.....

तर ति बुढी आमा को थिइन् ? के थियो उनको नाम .......??

मेरो सपनाको यो जिउँदो इतिहासले, मलाई संधै सताइरहनेछ .....


२०७१/०४/१६             

ShareThis