समय गतिशील छ। यसको भेलमा पसेपछि उम्किन गाह्रो छ । कुन-कति बेला कहाँ लगेर पछार्ने हो , भन्न त के सोच्न नि सकिन्न । समय बलवान छ । यसको अगाडी मानिस निरिह छ । समयले जस्तो अवस्थामा ल्याएर उभ्याउँछ त्यसलाई सहज रुपमा स्विकारी त्यस अनुरुप आफुलाई ढाल्नु मानव सभ्यताको नियति नै भैसक्यो ... ।
समय सँग सम्बन्धित यी यस्ता बखान,कथा उसले बाल्यकाल देखिन नै सुन्दै आएको हो तर आजसम्म यसको सहि बिश्लेष्ण गर्ने खुबी उसमा बिकसित भएको थिएन । उसले यस कुरालाई गम्भीरता पुर्वक लिएको पनि थिएन न त बुझ्ने प्रयास नै गरेको थियो । तर उही समयको देन । आज एउटा यस्तो घुम्तीमा आई ऊ उभिएको छ जहाँ उभिएकै भरमा ति यावत गुह्य तत्वको भेद आफ्ना अगाडी खुलेको अनुभव गर्दैछ । हिजो सम्म कथा र गफमै सिमित समयको पारिचय आज उसको अगाडी यथार्थ भएको छ । ऊ समयका केस्रा केस्रा केलाउँदै छ । आज सम्मका जीवन भोगाई नियाल्दै छ ।
"बाह्र बर्ष"
एउटा लामो समय | बाह्र बर्षमा मानिसको जीवनमा धेरै फरकपन आउँछ | यहाँ मिनेट मिनेटमा संसार बदलिन थालेको छ बाह्र वर्षको त कल्पना पनि नगरौं, यसले त परिवर्तनको प्रलय लिएर आउँछ | "१२" यो अंकको निकै ठुलो महत्व छ उसको जीवनमा | यो अंकलाई जुन सुकै कोणबाट नियाले पनि उ आफुलाई मात्र भेटाउँछ |
कुनै चलचित्र हलमा जस्तो आज उ आफ्नो जीवनलाई ठुलो पर्दामा नियाल्दै छ | आफ्नो जीवनलाई पछाडी धकेल्दै बाह्र वर्ष अगाडिको घटना सम्झन्छ , जुन दिन ऊ कुनै एउटा बसको सिटमा बसेर झ्यालबाट टाउको निकाल्दै चलायमान दृश्यहरु नियाल्दै थियो | आज पनि ऊ त्यहि गर्दैछ तर फरक यति मात्र हो , हिजो उसको अगाडी सबैका सपना बनाउने, भत्काउने काठमाण्डौ मुख बाई रहेको थियो तर आज ऊ बाहिरिएको छ नेपाल खाल्डो उसको पछाडी मुख बाई रहेको छ | यो त भौतिक भिन्नताको कुरा भयो | जब ऊ मानसिक भिन्नता खोज्छ ... ऊ खालिपनामा हराउँछ | हिजो पनि उसको मनमा डर, उत्साह र भविष्यको मिठो कल्पना थियो, आज पनि ऊ त्यहि मानचित्रमा उभिएर गन्तब्य पाहिलाउँदैछ |
जब जब यो लामो अन्तरालको ढोलक उसको मानसपटलमा बज्न थाल्छ तब तब ऊ लामो सास तान्दै वरिपरिका हावा र हावा संगै मिस्सिएका अनेकन कणहरु फोक्सोको भित्रि सतह सम्म पुर्याउँछ र उही बेगका साथ वातावारणलाई नासो सुम्पिन्छ | हेर्दा लाग्छ ठुलो बोझ लुकेको छ उ भित्र !!
बाह्र बर्ष पहिले ऊ मोफसल छाडी यो शहर पसेको थियो | प्रकृतिको आलीङ्गन , खोलाको बेग , चराचुरुंगीको मधुर आवाज, स्वच्छ हावा पानी बीच खरले छाएको केहि साना घर र कहिँ कतै सम्पन्नता झल्काउने गरि कोहि कोहिले बनाएको जस्ताले छाएको घर बाहेक चारै तिर खुला हरिया फाँटै फाँटले भरिएको गाउँमा हुर्किएको त्यो सानो केटोको; प्रकृतिबाट टाँढिदै गएको , घरै घरको जंगल , प्रदुषित हावा र मानिसको चापले निस्सासिएको यो शहर सम्मको रुपान्तरण कम्तिको उराठलाग्दो थिएन ! त्यो दिन सम्झंदा आज पनि ऊ झसङ्ग हुन्छ | शहर उसको लागि र ऊ शहर उसको लागि बिल्कुलै नौलो थियो !!
"समय कति चाँडो बित्दो रहेछ" ऊ अचम्मित छ | हिजो छिर्दै गर्दा बिरानो रहेको काठमाण्डौ शहरसंग आज छाड्दै गर्दाको अवधिसम्म धेरै ठुलो भावानात्मक सम्बन्ध गाँसिएको छ | आज यो शहर र ऊ दुबैले एकअर्कालाई राम्ररी चिनेका छन | यो शहर भित्रको कथा ब्यथा उसले राम्ररी बुझेको छ र यो शहरले पनि उसको कथा बुझेको छ भन्नेमा ऊ ढुक्क छ |
समय जति चाँडो बिते पनि यो अवधिमा ऊ र शहरको जीवनमा धेरै परिवर्तन आएको छ
| शहर प्रकृतिबाट झन् झन् टाढिँदै गएको छ | गगन चुम्बी भवन, मानिसै मानिसको भिड भित्र शहर दिनानुदिन पिल्सिएको छ | एकलिएको छ | चोर, फटाहा , भ्रष्टाचारीहरुको बीच ईमान्दारिता पिल्सिएको छ यो शहर भित्र | बर्षौ कयौं मानिस उसका जस्तै सपना पुरा गर्न यो शहर छिर्छन तर सबैको सपना माथि खेलवाड गर्न धेरै ठुलो संख्यामा नरभक्षीहरु यो शहरमा सलाबलाई रहेको उसले पाएको छ !
यो दौरान शहरले झेलेको बिभिन्न राजनीतिक उथल-पुथल प्रत्यक्ष रुपमा नियाल्ने मौका पनि पायो उसले | हत्याकाण्ड देखिन गणतन्त्र सम्मको सबै उथल पुथल को साक्षी भयो उ ! यहि क्रममा उसले नेपालको राजनीतिलाई नजिकबाट बुझ्ने मौका पनि पायो | नेताको मुकुण्डो लगाएर देश-जनता लुट्ने राक्षसहरुलाई राम्ररी चिनेको छ अचेल उसले ... !
तर यी सब घटनाक्रम संग उसको कुनै लगाव छैन , डर छैन | यी सब संक्रमणकालीन अस्थिर राजनीतिको उपच हो भन्ने कुरा उसलाई प्रष्ट थाहा छ | जब राजनीतिले स्थिरता पाउँछ यी सब कुरा मिल्छ भन्नेमा उ आशावादी छ |
यो अवधिमा शहर र शहरबासीको
मनबाट मौलिकता , राष्ट्रियता , स्वाभिमान हराउँदै गएको तितो यथार्थले भने उसलाई
साह्रो पिरोलोएको छ | मानिसमा बढ्दै गएको लोभ,ईर्ष्या र देश लुटेर आफु धनि हुने र
आरामदायी जिन्दगि जिउने दरिद्र सोच नै यसको कारक रहेको उसको ठम्याई छ | नेपालीको
मनबाट हराउँदै गएको नेपालीत्व र देश भजेर आफु सम्पन्नशाली हुने होडबाजी देखेर उ
चिन्तित छ | उसले काठमाण्डौमा बिदेशी चहलपहल पनि खुब देख्यो | त्यसैले त देश र देश
संगै जोडिएको सारा नेपालिको स्वाधिनता माथि मड्राईरहेको कालो बादल देखेर ऊ भएभित भएको छ |
यो शहर उसको प्रेमको साक्षी पनि हो !! आफुले लाएको एकोहोरो
माया उसलाई प्यारो छ , दोहोरो बनाउन नसकेको हिन्नताबोध पनि छ कतै ! तर जे होस ! आज
पनि उसको एक्लोपनको साथि उसको त्यहि प्रेम भएको छ | तर यो प्रेमको चुम्बक्त्वले नि
आज उसलाई रोक्न सकेको छैन | यहि शहरमा बाँध्न सकेको छैन | आज उसलाई यो शहर भन्दा
धेरै पर जानुछ ... धेरै टाढा...| त्यसैले ऊ बिगतमा रुमल्लिन चाहाँदैन तर भुल्न पनि
सक्दैन | उसको प्रेरणाको श्रोत नै यो शहर र यो संग गाँसिएको आरोह-अबरोह नै हुन् |
तसर्थ ऊ बिगत भुल्न सक्दैन | तर समयको चक्रब्युबाट उम्कने कुनै सुत्र छैन | अगाडी
बढ्नुको कुनै विकल्प छैन |
"ओ ! दाइ झर्नु पर्दैन" , खलासीको चर्को स्वर
सुनेर ऊ झसंग हुन्छ | कति खेर गाडीले काठमाण्डौ छोड्यो, कति खेर कहाँ के भयो उसलाई
कुनै हेक्का नै भएन ! ऊ त आफ्नै धुनमा मग्न थियो | बाहिरि संसार भन्दा निकै पर
जिन्दगीलाई रङ्गिन क्यानभासमा नियाल्दै थियो | ऊ मनमनै हाँस्छ |
"अझै के टोलाई राको" "नझर्ने भए बस कुदाउँछौँ
" खलासीले अझ चर्केर बोल्यो | क्यानभासबाट आँखा हटाउँदै ऊ बल्ल होसमा आयो |
हतार हतार सामानहरु मिलायो र ओर्लियो | खलासी अझै फ़त्फ़ताउँदै थियो... |
जिन्दगीको दोस्रो खण्डको प्रस्थान बिन्दुमा ऊ उभिएको छ |
बाह्र बर्ष अघि केहि पाउने , केहि गर्ने , सपना साकार पार्ने निउँमा शुरु
गरेको "काठमाण्डौ यात्रा " लाई बिचमै बिट मार्दै आज बिगत -
बर्तमान दुवै गाभिएको उही पुरानो दोभानमा आई उभिएको छ जहाँ बाट हिजो उसले आफ्नो
प्रथम खण्डको शुरुवात गरेको थियो र आज दोस्रो खण्डको गर्दैछ | काठमाण्डौको जीवन,
महंगी, धुँवा-धुलो ,कोलाहलबाट आजित भएर आज ऊ फर्केको छ |
काठमाण्डौबाट खालि हात भने ऊ अवश्य फर्केको छैन |
काठमाण्डौले सिकाएको संघर्ष, भोक-प्यास उसले संगै ल्याएको छ | आज उसले बुझेको छ
जीवन | जानेको छ सफलताको सुत्र | बर्षौं पहिले गुमाएको मौलिक धरातल आज उसले
भेट्टाएको छ | केहि पाउने लोभले उसका पाईला दिग्भ्रमित भएका थिए तर आज यसले सहि
दिशा पहिलाएको छ | हिजो गरेका गल्ति सुधार्दै आज उ फिरेको छ आफ्नै जन्मठाउँ | ऊ
हुर्किएको उसको आफ्नै गाउँ |
उही स्वच्छता , उही माधुर्यता | बाह्र बर्ष आगाडी छोड्दाको
गाउँ आज पनि उस्ताको उस्तै तर ऊ भने बदलियो | केहि सुगमता , केहि बिकास देख्यो तर
गाउँमा ल्याउनु पर्ने समय सापेक्ष परिवर्तन बारे उसले कहिल्यै सोचेन | सदैव आफ्नै
स्वार्थ पूर्तिमा ऊ तल्लिन रह्यो | एउटा लामो समय गाउँ भुलाएर बितायो उसले | ति
दिन सम्झेर उसका आँखा रसाए | तर एक मन खुशी छ ऊ , जे जस्तो भए पनि आज ऊ आफ्ना पाइला
पछ्याउंदै गाउँ फर्केको छ |
ढिलो त भैसक्यो तर अझै समय घड्केको छैन | अब आफ्नो गाउँ
बनाउनुछ उसले | होस्टेमा हैंसे मिलाउँदै बिकासको गोरेटोबाट डोर्याउँदै राजमार्गमा
हुँईकाउनेछ गाउँलाई | आफु हुर्केको ठाउँलाई | पसिनाको खोलो बगाउनुछ आफ्नै माटोमा |
सुन फलाउनु छ | गाउँ हुँदै पुरै देशको मुहार फेर्नुछ |
ऊ आफ्नो सामान बोक्छ र ठुलो क्रान्तिको सम्भावना बोक्दै
जन्मघर तिर लम्कन्छ ...
(पर क्षितिजमा घाम अस्ताउँदै छ | दिनभरी चारा खोज्न
भौतारिएका चराहरु , गुँड फर्कन आतुर छन् |
केहि दिन देखि हराएका एक हल गोरु लुरु लुरु आएको देखेर
हर्के निकै खुशी भएको छ | अब उसले पनि सुनका बाला फलाउनेछ !! )
Copyright © 2013 बिमोचन घिमिरे